गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट नेप्सेमा सूचीकृत १५ कम्पनीमध्ये ६ वटा निर्जीबन बीमा कम्पनीले आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका छन्।
माघ १९ गते आइतबारसम्म नेपाल इन्स्योरेन्स, हिमालयन जनरल, आईएमई जनरल, प्रभु इन्स्योरेन्स, नेको इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सले लाभांश प्रस्ताव गरेका हुन्।
बीमा समितिले सबै बीमा कम्पनीहरुलाई आर्थिक वर्ष २०७४/७५ बाट बीमा क्षेत्रमा पनि नेपाल वित्तीय प्रतिवेदन (एनएफआरएस) प्रणाली लागू गरेको थियो। जसका कारण सो आवमा जगेडा तथा कोषहरु व्यवस्थापन गर्दा धेरै निर्जीबन बीमा कम्पनीहरुले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्न सकेनन् भने गत आवको लाभांश घोषणामा पनि ढिलाई भैरहेको छ। जीबन बीमा कम्पनीहरुले त झन् कुनैपनि कम्पनीले लाभांश प्रस्ताव गर्न सकेका छैनन्।
बीमा समितिबाट एनएफआरएस वित्तीय विवरण तयार पारेर बीमा समितिबाट स्वीकृत पश्चात मात्र लाभांश प्रस्ताव गर्नुपर्ने ,कारण बीमा कम्पनीहरुको लाभांशमा ढिलाई हुँदै आएको हो। जीबन बीमातर्फ एक्चुअरी भ्यालुयसनका कारण थप समय लाग्ने गरेको छ। नेपालमा एक्चुअरी गर्ने जनशक्ति नभएका कारण समेत छिमेकी राष्ट्र भारतबाट एक्चुअरी गर्नुपर्ने बाध्यता अझै कायम छ।
लाभांश घोषणा गरेका ६ कम्पनीमध्ये प्रभु इन्स्योरेन्सले सबैभन्दा धेरै १६.३२ प्रतिशत लाभांश घोषणा गरेको छ। यस कम्पनीले यहि माघ २४ गते २४ औं वार्षिक साधारण सभा बोलाएको छ । अन्य ५ कम्पनीहरुले लाभांश घोषणा गरेपनि बुकक्लोज र साधारण सभा बोलाउन बाँकी नै रहेको छ।
प्रभु इन्स्योरेन्सले गत आर्थिक वर्षसम्मको वितरणयोग्य सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पूँजी १ अर्ब ५० लाखको ५ प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित ११.३२ प्रतिशत नगद गरी कूल १६.३२ प्रतिशत लाभांश अनुमोदन गर्ने प्रस्ताव गरेको छ । बोनस शेयर वितरणपश्चात इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ५ करोड ५३ लाख पुग्नेछ।

हिमालयन जनरल इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजी एक अर्ब २ करोड ७२ लाख रुपैयाँको ५ प्रतिशत बोनस (५ करोड १३ लाख ६० हजार) र कर सहित ५.५ प्रतिशत (५ करोड ६४ लाख ९६ हजार) नगद लाभांश गरी कूल १०.५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। बोनस वितरण गरेपछि चुक्ता पूँजी एक अर्ब ८ करोड रुपैयाँ पुग्नेछ।
लुम्बिनी जनरल इन्स्योरेन्सले चुक्ता पूँजी ८८ करोडको ९.७५ प्रतिशतले हुन आउने बराबरको ८ करोड ५८ लाख रुपैयाँ बोनस शेयर र बोनसका कर प्रयोजनका लागि ०.४८ प्रतिशत (४२ लाख ९० हजार) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बोनस वितरण पछि चुक्ता पूँजी ९६ करोड ९१ लाख रुपैयाँ पुग्नेछ।
गत आवको मुनाफाबाट कुनै बोनस प्रस्ताव गरेको नेको इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजी एक अर्ब १७ करोड ६२ लाख ७८ हजार रुपैयाँको ८.४२ प्रतिशत (९ करोड ९० लाख ४२ हजार ६०७ रुपैयाँ) नगद लाभांश मात्र प्रस्ताव गरेको छ।
नेपाल इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजी एक अर्ब ९ करोड रुपैयाँको ५ प्रतिशतका दरले हुन आउने ५ करोड ४७ लाख रुपैयाँ बराबरको बोनस र कर सहित २.८९ प्रतिशतले हुन आउने ३ करोड १७ लाख रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित बोनस वितरण गरेपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब १५ करोड रुपैयाँ पुग्नेछ।
यस्तै आइएमई जनरल इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजी १ अर्ब २ करोड ६ लाख रुपैयाँको ६ प्रतिशत बराबरको ६ करोड १२ लाख ३६ हजारको बोनस र बोनसमा लाग्ने कर प्रयोजनको लागि ३२ लाख २२ हजार ९ सय ४७ रुपैयाँ ३७ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बोनस पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब ८ करोड १८ लाख ३६ हजार रुपैयाँ पुग्नेछ।
हालसम्म लाभांश घोषणा गरेका कम्पनीमध्ये आइएमई जनरल इन्स्योरेन्सको लाभांश सबैभन्दा कम हो।










प्रतिक्रिया