नेपालमा कोभिड–१९ देखापरेको करीब चार महिनापछि कर्णाली प्रदेशमा सोमबार पहिलोपटक सङ्क्रमण पुष्टि भयो । एक साता अघिसम्म ‘ग्रिन जोन’मा रहेको कर्णालीमा दैलेखको आठबीस नगरपालिका–१ का ३५ वर्षीय पुरुषमा कोरोना ‘पोजेटिभ’ देखिएसँगै सङ्क्रमणको ग्राफ पनि उकालो चढ्दैछ।
सुर्खेतमा पिसिआर परीक्षणका क्रममा दैलेखका पाँचजनाको रिपोर्ट ‘शङ्कास्पद’ आएपछि पुनः पुष्टिका लागि आज नेपालगञ्जस्थित भेरी अस्पतालको प्रयोगशालामा पठाइएको छ। सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले ती ‘शङ्कास्पद रिपोर्ट’ नतिजा आउन बाँकी रहेको बताए।
शनिबार सुर्खेतका तीनजनामा कोरोना सङ्क्रमण पुष्टि भयो । भारतको नयाँदिल्लीबाट आएका बराहताल गाउँपालिका–९ का २५ वर्षीय पुरुष र २२ वर्षीया महिला तथा मुम्बईबाट आएका चौकुने गाउँपालिका–८ का ३२ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण देखिएको थियो । पहिलो सङ्क्रमित दैलेख आठबीसका युवक पनि भारतबाटै आएका हुन् ।
सङ्क्रमित चारै जनालाई प्रदेश अस्पताल कालागाउँमा सञ्चालित कोरोना विशेष अस्पतालको आइसोलेशनमा राखिएको छ। सङ्क्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।
पछिल्लो पटक भारतबाट भित्रिएकालाई कर्णाली प्रवेश नाका बबईमा ¥यापिड डायग्नोस्टिक टेस्ट गरिएको थियो । ७४० को आरडिटी गर्दा १५ जनामा कोरोना ‘पोजेटिभ’ देखिएको थियो । ‘पोजेटिभ’ देखिएका १५ जनालाई वीरेन्द्रनगरस्थित क्वारेन्टिनमा राखेर पिसिआर परीक्षण गरिएको थियो ।
पिसिआर परीक्षण गर्दा तीनजनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख तिवारीले जानकारी दिए।
- पूर्वाधारको अभाव
भारत सरकारले रेलसेवा सञ्चालन गरेसँगै दैनिक सयौँको सङ्ख्यामा कर्णालीवासी घर फर्किए, फर्किने क्रम जारी नै छ जसले गर्दा उनीहरुसँगै कोरोना सङ्क्रमण भित्रने खतरा बढेको छ।
प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार जेठ १ गतेदेखि शनिबारसम्म बबई नाका भएर भारतबाट चार हजार ३३६ जनाले कर्णाली प्रवेश गरेका छन्। तीमध्ये दैलेखका दुई हजार २४४, सुर्खेतका ९१४, सल्यानका ७२०, जाजरकोटका १२४, कालीकोटका १२३, रुकुम पश्चिमका १०८, जुम्लाका ५० र मुगुका ४५ जना छन्।
प्रदेश र स्थानीय तहले क्वारेन्टिन व्यवस्थापन, आइसोलेशन कक्ष निर्माण गर्न नसक्दा समुदायमा सङ्क्रमण सर्न सक्ने चिन्ता गर्न थालिएको छ। दैलेखका अधिकारकर्मी महारुप खत्रीले व्यवस्थित क्वारेन्टिन नहुँदा भारतबाट फर्किएकाहरु भागेर घर जाने अवस्था रहेको बताए।
“पछिल्लोपटक भारतबाट फर्किएकाहरुको परीक्षण हुनै बाँकी छ, तथ्याङ्कले पनि सबैभन्दा बढी भारतबाट फर्कनेहरु दैलेखका छन्,” उनले भने, “तर परीक्षणको दायरा बढाइएको छैन, आरडिटीभन्दा पिसिआर नै परीक्षण गर्न सके राम्रो हुन्थ्यो।” अझै क्वारेन्टिन र आइसोलेशन कक्ष निर्माणमा ढिलाइ गरे अवस्था जटिल आउने उनी बताउँछन्।
कर्णालीमा अहिलेसम्म १० हजार ४३० वटा क्वारेन्टिन छन् । त्यस्तै, प्रदेश सरकारले कोरोना सङ्क्रमित बिरामीको उपचारका लागि प्रदेशका तीनवटा अस्पताललाई कोरोेना विशेष अस्पताल तोके पनि त्यहाँ पनि पूर्वाधार पर्याप्त छैनन् । प्रदेश राजधानी सुर्खेतको प्रदेश अस्पतालमै ८५ आइसोलेशन र नौ आइसियु कक्ष छन् ।
सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशभर ५४० आइसोलेशन कक्ष, ४० आइसियु र १७ भेन्टिलेटर छन् । सङ्क्रमितको सङ्ख्या बढेमा अहिलेको पूर्वाधारले धान्न नसक्ने चिकित्सकहरु बताउँछन् ।
प्रदेश अस्पतालका विशेषज्ञ डा. नवराज केसीले कोरोना विशेष अस्पतालहरुको स्तरोन्नति गर्न आवश्यक रहेको बताए। “आइसोलेशन सेन्टरहरुलाई ‘लेभल वान’ तथा आइसोलेशन अस्पताललाई ‘लेभल टू’ वर्गीकरण गरी सङ्क्रमितको उपचार गर्नु सहज होला”, उनले भने, “सबै बिरामी बोकेर सुर्खेत ल्याउन सम्भव हुँदैन, जिल्ला–जिल्लाका आइसोलेशन सेन्टरहरुको स्तरवृद्धि गरौँ ।”
प्रतिक्रिया