सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन गरेका १२ हजार ८३० कित्ताको माग रद्द भएको छ ।
बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार कुल १ हजार १०४ वटा आवेदनबाट १२ हजार ८३० कित्ताको माग रद्द गरिएको हो । आईपीओमा दोहोरो आवेदन दिने ८७३ जना सर्वसाधारणबाट परेको १० हजार १४० कित्ताको माग र स्थानीय र सर्वसाधारण दुबैतर्फ आवेदन दिने २३१ जना स्थानीय बासिन्दाबाट परेको २ हजार ६९० कित्ताको माग रद्द गरिएको हो ।
आईपीओमा रितपुर्वक आवेदन दिएका १४ लाख १२ हजार ४६८ वटा आवेदनबाट परेको १ करोड ५४ लाख ८२ हजार ९६० कित्ताको मागलाई बाँडफाँडमा सहभागि गराइएको थियो । अन्तिम तथ्याङ्कका आधारमा कम्पनीको आईपीओमा १४ लाख १३ हजार ५७२ वटा आवेदन मार्फत २३.१० गुणा धेरै अर्थात १ करोड ५४ लाख ९५ हजार ७९० कित्ताको माग परेको थियो ।
कम्पनीको धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडको कार्यलयमा मंगलबार बिहान भएको बाँडफाँडमा ६७ हजार ५८ जनाले मात्र सेयर पाए । निर्देशिका बमोजिम ६७ हजार ५८ जनालाई गोलाप्रथाबाट १० कित्ताका दरले ६ लाख ७० हजार ५८० कित्ता सेयर बाँडफाँड गरिएको हो । सर्वसाधारणबाट आवेदन मागिएको सेयर संख्यामध्ये यसरी बाँडफाँड गरी बाँकी रहेको ६ कित्ता सेयर गोलाप्रथाबाट १० कित्ता सेयर पाएकामध्येबाट ६ जनालाई पुनः थप १।१ कित्ता गरी ६ जनालाई कुल ११ कित्ता बाँडफाँड गरिएको हो ।
आईपीओमा आवेदन गरेकामध्ये ९५ प्रतिशत अर्थात १३ लाख ४६ हजार ५१४ जना आवेदकको हात खाली भएको छ । कम्पनीको सेयरमा मागभन्दा उच्च आवेदन परेकाले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम कम्पनीको आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको थियो ।
कम्पनीले साउन १३ गतेदेखि साउन १७ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको उक्त साधारण सेयरको आइतबार प्रि(अलटमेन्ट सम्पन्न गरेको थियो ।
कम्पनीले कुल ७ लाख २१ हजार ६० कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये २ प्रतिशतले हुन आउने १४ हजार ४२१ कित्ता कर्मचारीका लागि र ५ प्रतिशतले हुन आउने ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । ६ लाख ७० हजार ५८६ कित्ता सेयर खरिदका लागि सर्वसाधारणबाट आवेदन मागिएको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया