तीन अर्बको नयाँ एक्सचेञ्जमा विदेशी लगानी समेत खुला, एक संस्थाले १५% बढी लगानी गर्न नपाउने

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बाहेक स्थापना हुने तीन अर्ब चुक्ता पुँजी रहेको निजी क्षेत्रको स्टक एक्सचेञ्जमा एक संगठित संस्थाले १५ प्रतिशतभन्दा बढी लगानी गर्न नपाउने भएका छन् ।

धितोपत्र बजारमा सञ्चालन (दोस्रो) नियमावली–२०७९ मा उक्त व्यवस्था गरिएको हो । नियमावलीको नियम १२ को उपनियम २ मा संसोधन गर्दै भनिएको छ, “कुनै एक कम्पनी वा संगठित संस्था वा त्यस्ता संस्थाको सञ्चालक वा सेयरधनी र निजका नजिकको नातेदार रहेका कम्पनीले धितोपत्र बजारको कूल सेयर पूँजीको १५ प्रतिशत भन्दा बढी अंश ग्रहण गर्न पाउने छैन ।”

नयाँ एक्सचेञ्जमा ३० प्रतिशत सेयर सवर्वधारणमा अनिवार्य जारी गर्नुपर्ने व्यवस्था गरिएको छ । जसअनुुसार नयाँ एक्सचेञ्जमा ७० प्रतिशत संस्थाक सेयर रहनेछ । एक संस्थालाई १५ प्रतिशतको सीमा लगाइएका कारण कम्तिमा ५ संस्थापक लगानीकर्ता हुनुपर्नेछ ।

नियमावलीमा उल्लेख गरिएको नजिकको नातेदारलाई थप स्पष्टिकरण गर्दै भनिएको छ, “नजिकको नातेदार भन्नाले एकाघरको परिवार वा सासु, ससुरा, दाजु, भाई, दिदी, बहिनी, भाउजु, बुहारी, साला, साली, भिनाजु, काका, काकी, मामा, माइजु, नाति, नातिनी, नातिनी बुहारी, भान्जा, भान्जी, फुपु, फुपाजु, भतिजा, भतिजी, भदा, भदै तथा ति नाताहरुको श्रीमान, श्रीमती, छोरा बुहारी वा छोरी ज्वाईं समेतको नातेदार सम्झनु पर्छ ।”

संसोधित नियमावली अनुसार विदेशी एक्सचेञ्जलाई समेत लगानीको बाटो खुला भएको छ । नियमावलीको अनुसार नेपाल बाहेक अन्य मुलुकमा १० वर्षदेखि धितोपत्र बजार सञ्चालन गर्दै आएका कम्पनीहरुले पनि नेपालको धितोपत्र बजारमा लगानी गर्न पाउनेछन् । तर त्यस्ता कम्पनीले नेपालको नियामक निकायहरुबाट लगानी गर्न स्वीकृति पाएको भने हुनुपर्छ ।

निजी क्षेत्रको स्टक एक्सचेन्जको ३०% सेयर सर्वसाधारणलाई, तीनवटै नियमावली मन्त्रिपरिषदबाट स्वीकृत

विदेशी लगानीकर्तालाई समेत नयाँ एक्सचेञ्जमा लगानीको बाटो खुला गर्दै गरिएको निजी क्षेत्रको एक्सचेञ्जले काराेबार सञ्चालन गरेको दुई वर्षभित्र जारी पुँजीको कम्तिमा ३० प्रतिशत सेयर (आईपीओ) सर्वसाधारणमा जारी गर्नुपर्ने व्यवस्था गरिएको छ । यसअघिको विसं २०६४ मा ल्याइएको नियमावलीमा स्टक एक्सचेञ्जको चुक्ता पुँजी ५ करोड रुपैयाँ रहेकोमा बोर्डले सो प्रावधानलाई संशोधन गर्दै नयाँ एक्सचेञ्जको चुक्ता पुँजी ३ अर्ब रुपैयाँ पु¥याएको हो । यद्यपी हालको नेपाल स्टक एक्सचेञ्जलाई भने सो पुँजी कायम गर्नु नपर्ने संशोधित नियमावलीमा उल्लेख छ । नियमावली प्रारम्भ हुँदाको बखत सञ्चालनमा रहेको धितोपत्र बजारलाई यो व्यवस्था लागू नहुने उल्लेख छ ।

संशोधित व्यवस्था अनुसार नेपालको कानुन बमोजिम स्थापना भएका प्राइभेट तथा संगठित संस्थाले मात्र एक्सचेन्जको संस्थापक लगानीकर्ताको रुपमा लगानी गर्नसक्ने नेपाल धितोपत्र बोर्डले जनाएको छ । एक्सचेन्जमा कुनै एक कम्पनी वा सम्बन्धित कम्पनीका सञ्चालकले १५ प्रतिशतभन्दा बढी स्वामित्व राख्न बन्देज लगाइएको हो । यस्तै कर्जा सूचना केन्द्र, धितोपत्र बोर्ड वा नियमनकारी निकायबाट कारवाहीमा परेका भएर ६ महिना पूरा भएको तथा बैंकिङ्ग कसुर, जालसाजी, ठगी, सम्पत्ति शुद्धीकरण र फौजदारी अभियोग लागेर सजायँ भुक्तानी भएको तीन वर्ष पुगेको हुनुपर्ने व्यवस्था गरिएको छ ।

धितोपत्र बजारमा सञ्चालन (दोस्रो) नियमावली–२०७९ मन्त्रिपरिषद् बैठकले भदौ २१ गते मंगलबार स्वीकृत गरेको थियो । मन्त्रिपरिषद् बैठकबाट स्वीकृत उक्त नियमावली शुक्रबारको बोर्ड बैठकले भदौ २६ गते आइतबारदेखि लागू गरेको हो । उक्त नियमावली बोर्डले सोमबार मात्र सार्वजनिक गरेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २७ भाद्र २०७९, सोमबार  १८ : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।