बीमा प्राधिकरणको नीति विपरित ८८% हकप्रदबाट पुँजी पुर्‍याउने तयारीमा एलआईसी‚ पाउला अनुमति ?

0
Shares

नेपाल बीमा प्राधिकरणको हकप्रद जारी गर्न नपाउने नीति विपरित लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपाल लिमिटेडले हकप्रदबाट पुँजी कायम गर्ने जमर्को गरेको छ ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको ८८.४५१६८ प्रतिशत हकप्रद निष्कासन गरी पुँजी कायम गर्ने रणनीति अंगिकार गर्न लागेको हो । जसको औपचारिक निर्णय कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले गरेको छ ।

भारतीय जीवन बीमा निगम र नेपालको व्यवसायीक घराना विशाल ग्रूप सहित सर्वसाधारणको लगानी रहेको यस कम्पनीले प्राधिकरणको हकप्रद जारी गर्न नपाउने नीति विपरित हकप्रद प्रस्ताव पारित गर्न माघ ३ गते विशेष साधारण सभा आह्वान गरेको छ ।

नियामक निकाय प्राधिकरणका प्रमुख सूर्य सिलवालले लिएको नीति विपरित एलआईसी नेपालले भारी मात्रामा हकप्रदको प्रस्ताव विशेष साधारण सभामा लैजान लागेको हो । एलआईसीले चुक्ता पुँजीको ८८.४५१६८ प्रतिशत अर्थात १०० कित्ता सेयर बराबर ८८.४५ कित्ता सेयर अनुपातमा हकप्रद सेयर निष्काशन प्रक्रिया अघि बढाउन खोजेको छ । उक्त विशेष साधारण सभामा विशेष प्रस्तावमा चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँको ८८.४५१६८ प्रशितशतले हुन आउने २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँको हकप्रद सेयर जारी गर्ने प्रस्ताव छ । प्रस्ताव अनुरुप हकप्रद जारी गर्दा कम्पनीको पुँजी कायम हुने देखिन्छ ।

एलआईसी ८ करोड ७४ लाख नोक्सानीमा, जीवन बीमाकोष खर्ब नजिक

गत आवको अन्त्यसम्म साढे २९ करोड रुपैयाँभन्दा बढी नोक्सानी व्यवस्थामा खर्च गर्दा कम्पनी पौने ९ करोड नोक्सानीमा छ । सोही कारण कम्पनी लाभांश वितरण गर्नसक्ने अवस्थामा छैन । जसले पनि कम्पनीलाई पुँजी कायम गर्ने विकल्प मर्जर वा हकप्रद मात्र देखिन्छ । कम्पनीले पहिलो विकल्प मर्जरलाई प्राथमिकतामा नराखि हकप्रदबाटै चुक्ता पुँजी वृद्धि गरी पाँच अर्ब पुर्याउने प्रयोजनको लागि हकप्रद निष्काशन गर्न लागेको हो । पुस ८ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार हकप्रद निष्काशन प्रक्रियालाई पारित गर्न माघ ३ गते विशेष साधारण सभा आह्वान गरिएको छ । कम्पनीको काठमाडौंको लिसारा रिसेप्सन नक्सालमा बिहान ११ बजे विशेष साधारण सभा आह्वान गरिएको छ ।

एलआइसी नेपालमा सरकारी स्वामित्वको भारतीय जीवन बीमा निगमको ५५ प्रतिशत सहित नेपालको विशाल ग्रुपकाे २५ प्रतिशत र सर्वसाधारणको २० प्रतिशत सेयर स्वामित्व रहेको छ । नेपालको सञ्चालित जीवन बीमा कम्पनीमध्ये दोस्रो ठूलो पूँजीकृत जीवन बीमा कम्पनी हो एलआईसी । ग्लोबल इन्स्योरेन्स बेहेमथ, र लाइफ इन्स्योरेन्स कर्पोरेशन अफ इन्डियाले नेपालको विशाल समूहसँग हात मिलाउँदा सन् २००० मा नेपालमा यस कम्पनीको स्थापना भएको थियो । कम्पनीले बीमा समितिबाट सन् २००१ अगस्ट ७ मा जीवन बीमा लाइसेन्स प्राप्त गरी सेप्टेम्बर १ देखि सञ्चालनमा रहेको छ ।

बीमा समितिको नीतिलाई चुनौति दिँदै एलआईसीको हकप्रद बिक्री प्रस्ताव

प्राधिकरणले पुँजी वृद्धिका लागि एक आपसमा मर्जर तथा बोनसलाई प्राथमिकतामा राखेको छ । जसका लागि यसअघि नगद लाभांश वितरणको प्रस्ताव गरेको कम्पनीहरुलाई समेत नगदको सट्टा बोनस सेयर जारी गर्न निर्देशन दिएको अवस्था छ । यहि आधारमा नै मर्जर प्रकृयामा रहेका सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योन्सले घोषणा गरेको नगद लाभांशलाई हटाएर बोनसमा परिणत गरी लाभांश संसोधन गरेका छन् ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाले यसअघिका थुपै कार्यक्रमहरुमा बीमा कम्पनीहरुका लागि दिइएको समयभित्रै चुक्ता पुँजी पुर्‍याउनुपर्ने र त्यसका लागि मर्जर र बोनसलाई प्राथमिकता दिने बताउँदै आएका छन् । उनका अनुसार मर्जर र बोनस लाभांशबाट पुँजी अपुग भएको खण्डमा मात्रै प्राधिकरणले बढीमा चुक्ता पुँजीको २५ प्रतिशतसम्म मात्र हकप्रदको स्वीकृति दिने पटक पटक सार्वजनिक कार्यक्रममा बताउँदै आएका छन् ।

प्राधिकरणले गरेकाे व्यवस्था अनुसार नै हालसम्म ९ जीवन बीमा कम्पनीले मर्जरमा जान सम्झाैता गरेका थिए। जसमध्ये सुर्या लाइफ र ज्याेति लाइफले पुस पहिलाे सातादेखी नै एकीकृत काराेबार समेत सञ्चालन गरिसकेका छन् ।बाँकी कम्पनीहरू पनि मर्जर सम्पन्न गर्ने बाटाेमा रहेका छन् ।

अन्य कम्पनीहरुलाई हकप्रद जारी गर्न रोक लगाएका प्राधिकरणका अध्यक्ष सिलवालले विदशी लगानी रहेको लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालको हकप्रदबाट पुँजी कायम गर्ने निर्णयलाई स्वीकृति दिन्छन् कि दिँदैनन् भन्ने विषयलाई भने बीमा क्षेत्रमा विशेष चासोको रुपमा हेरिएको छ । आफ्नो भनाई र गराइमा अध्यक्ष सिलवाल कति अडिग रहन्छन् वा विदेशी स्वामित्व रहेको भन्दै कम्पनीको प्रस्ताव स्वीकार गर्छन् त्यसले उनको भनाई र गराइलाई समेत चित्रित गर्नेछ ।

नेपाल बीमा प्राधिकरणले आगामी चैत्र मसान्तभित्र जीवन बीमा कम्पनीहरुलाई न्यूनतम चुक्ता पुँजी ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुका लागि २ अर्ब ५० करोड रुपैयाँ पु¥याउन निर्देशन दिएको छ । यो समयसीमाभित्र सबै कम्पनीलाई पुँजी कायम गर्न प्राधिकरणले ताकेता समेत गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ पुस २०७९, आइतबार  ११ : २३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।