३४ देशसँग नेपालको व्यापार नाफा अर्बभन्दा कम, कुनसँग कति ?


नेपालको व्यापारघाटा दिनप्रतिदिन बढिरहेको छ । आयातमा आधारित अर्थतन्त्र भएका कारण व्यापारघाटा चुलिँदै गइरहेको छ ।

पछिल्लो पटक भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको तथ्यांक हेर्दा १७० बढी मुलुकसँग नेपालको व्यापार भएको छ । भुपरिवेष्ठित मुलुक भएकै कारण छिमेकी मुलुक भारत र चीनसँगको निर्भरता अधिक हुँदा आयात र व्यापारघाटाको हिस्सा पनि यिनै २ मुलुकसँग धेरै छ ।

यद्यपी नेपालले व्यवसायिक सम्बन्ध जोडेका केही मुलुकमा भने निर्यात धेरै र आयात कम हुँदा व्यापारघाटा नभई नेपाल नाफाको अवस्थामा रहेको छ । विभागको तथ्यांकलाई हेर्दा नेपालले डेनमार्क, नर्वे, अल्जेरिया, निजर, कम्बोडिया, उरुग्वे, चाड लगायतका ३४ मुलुकसँग व्यापार नाफाको अवस्थामा देखिएको हो । जसमा १२ मुलुकसँग १ करोड बढीको व्यापार नाफा छ भने २२ मुलुकसँग १ करोडभन्दा कम रकमको व्यापार नाफा भएको देखिन्छ । ति मुलुकसाँगको व्यापार नाफाको कुल रकम भने एक अर्बभन्दा तल रहेको छ । विभागका अनुसार ३४ मुलुकसँग नेपालले बैशाख मसान्तसम्ममा कुल ९४ करोड ६० लाख ७० हजार रुपैयाँ व्यापार नाफा गरेको हो ।

जसमा डेनमार्कसँग नेपालले सबैभन्दा धेरै अर्थात ४३ करोड ७६ लाख ८१ हजार रुपैयाँ व्यापार नाफा रहेको विभागको तथ्यांकले देखाएको छ । यसैगरी नर्वेसँग ९ करोड ३ लाख २७ हजार, अल्जेरियासँग ७ करोड २५ लाख ६९ हजार र निजरसँग ५ करोड १४ लाख ३३ हजार रुपैयाँ व्यापार नाफामा रहेको तथ्यांकले देखाएको हो ।

त्यसैगरि कम्बोडियासँग ५ करोड २ लाख ४६ हजार, उरुग्वेसँग ४ करोड १४ लाख ३२ हजार, चाडसँग ४ करोड १२ लाख ७० हजार, लाटभियासँग २ करोड ७८ लाख, अफगानिस्तानसँग २ करोड १७ लाख ३५ हजार, मालदिभ्ससँग २ करोड ७ लाख १८ हजार, क्रेएसियासँग १ करोड २६ लाख ७२ हजार र न्यू सेलिडोनियासँग १ करोड ८ लाख ८७ हजार रुपैयाँको व्यापार नाफा भएको तथ्यांकमा उल्लेख छ ।

नेपालले धेरै वस्तु निर्यात गर्ने दर्जन मुलुकहरु यस्ता, सबैसँग व्यापार घाटा

उल्लेखित मुलुक बाहेकका २२ मुलुकसँग भने नेपालको व्यापार नाफा १ करोड रुपैयाँभन्दा कम आकारको छ ।

उल्लेखित मुलुकहरुमा नेपालले चिया, दालमोठ, पापड, केमिकल, भिटामिन, अगरबत्ती, झोला, प्लाष्टिकजन्य उत्पादन, कागज, गलैंचा, तयारी पोशाक लगायतका सामान निर्यात गरेको हो । ती मुलुकबाट नेपालले निर्यातको तुलनामा आयात न्युन गरेका कारण व्यापार नाफाको अवस्थामा रहेको हो ।

कुन मुलुकमा नेपालले गरेको निर्यात, आयात र व्यापार नाफा कति ? यस्तो छ तथ्यांक ।