इङ्वा हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट

0
Shares

इङ्वा हाइड्रोपावर लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । मंगलबारदेखि कारोबारमा आएको इङ्वा हाइड्रोपावरको सेयरमा पहिलो दिनमा नै सकारात्मक सर्किट लागेको हो ।  सोमबार ६० लाख कित्ता सेयर सूचीकृत गरी धितोपत्रको दोस्रो बजारमा मंगलबारदेखि कारोबार सुरु भएको कम्पनीको सेयरमूल्यमा कारोबार सुरु भएको केही मिनेटमै सकारात्मक सर्किट लागेको थियो ।

कम्पनीको पहिलो कारोबार मंगलबारको स्पेशल प्रि ओपनिङ्ग सेससनमा प्रतिकित्ता २९१ रुपैयाँ ८० पैसामा १० कित्ता सेयर कारोबार भएको थियो । त्यसपछिका १८ वटा कारोबारमा कपनीको सेयर ९.९७ प्रतिशत अर्थात २९ रुपैयाँ १० पैसा बढेर ३२० रुपैयाँ ९० पैसा पुगेको हो । दोस्रो बजारमा कारोबार संकेत आईएचएल (IHL) मा कम्पनीको धितोपत्र कारोबारमा आएको छ ।

नेप्सेले कम्पनीको वास्तविक नेटवर्थलाई आधार मानेर पहिलो कारोबारका लागि कम्पनीलाई न्यूनतम ९७ रुपैयाँ २९ पैसादेखि अधिकतम २९१ रुपैयाँ ८७ पैसासम्मको कारोबार रेञ्ज दिएको थियो ।

अधिकतम कारोबार रेञ्जमा खुला भएको कम्पनीको पहिलो दिनमा नै राम्रै कारोबार देखिएको छ । मंगलबार साढे तीन घण्टा अर्थात साढे २ बजेसम्मको अवधिमा कम्पनीको ६६ हजार ६८५ कित्ता सेयर २ करोड ११ लाख ३२ हजार २८१ रुपैयाँ ८० पैसा बराबरमा खरिद बिक्री भएका छन् ।

कम्पनीको सेयरमूल्यमा सकरात्मक सर्किट लागेसँगै बजारमा उच्च खरिद चाप देखिएको छ । नेप्सेको मार्केट डेप्थमा २६ वटा अर्डर मार्फत सर्किट मूल्यमा कम्पनीको ८ हजार ४०० कित्ता सेयर खरिदका लागि अर्डर राखिएका छन् । समग्रमा मार्केट डेप्थमा कुल १८ हजार ५२६ कित्ताको माग छ । बिक्रीतर्फ कुनैपनि बिक्री आदेश रहेको छैन । पहिलो कारोबार दिन भएकाले सेयरमूल्य बढ्ने आशामा कम्पनीको आईपीओ परेका लगानीकर्ता कही दिनपछि सेयर बिक्री गर्ने मनस्थितिमा रहेका देखिन्छन् ।

हाइड्रोपावर कम्पनीले नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकत्वमा सर्वसाधारणमा चुक्ता पुँजीको ३० प्रतिशतले हुन आउने १८ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानीय बासिन्दाहरु र कर्मचारीहरुका लागि र कम्पनीका संस्थापक सेयरधनीहरुले लगानी गरेको चुक्ता पुँजीको ७० प्रतिशतले हुन आउने ४२ लाख कित्ता सेयर गरी कुल ६० लाख सेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम असार ३ गतेको निर्णयानुसार नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकरण गरिएको हो ।

कम्पनीले सर्वसाधारणमा बैशाख १३ देखि १७ गतेसम्म आईपीओ जारी गरी बैशाख २७ गते बाँडफाँड गरेको थियो । कम्पनीको आईपीओ १ लाख २६ हजार ८६३ जनाले गोलाप्रथबाट १० कित्ताका दरले प्राप्त गरेका छन् ।

कम्पनीको प्रधान कार्यालय काठमाडौं जिल्ला, थापाथली रहेको छ । सूचीकरण पश्चात् दिनुपर्ने सेयर रजिष्ट्रार सम्बन्धी सेवा इङ्वा हाईड्रोपावर लिमिटेड थापाथली काठमाडौंबाट हुने जनाइएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।