पेशागत हकहितका लागि स्थापित जुत्ताचप्पल उत्पादक संघ (एफम्यान) का केही पदाधिकारीले राजधानीको भृकुटीमण्डपमा जुत्ताचप्पल मेलामा आफ्नै सदस्यहरुलाई काखा र पाखा गर्न थालेपछि संघभित्रको विवाद सतहमा आएको छ ।
संघकै पदाधिकारीहरुले विधान उलंघन गरेको भन्दै केही सदस्यहरुले असन्तुष्टी जनाएका छन् । मेलाका नाममा संघका पदाधिकारीले आफूहरु मात्र सहभागी हुने गरी सिन्डिकेट लगाउन थालेको उनीहरुको आरोप छ । भृकुटीमण्डपमा बाह्रमास जुत्ता चप्पल मेला आयोजना गरेर नियमित पसल सञ्चालन गरेको आभाष हुँदै गर्दा त्यसमा सहभागि हुने र नहुनेहरुको मतभेदले संघ फुटको संघारमा पुगेको हो ।
भृकुटीमण्डपमा जुत्ताचप्पल मेला सदावहार रुपमा हुन थालेपछि त्यसलाई रोक्न संघको विधानमै बर्षमा दुई पटक मात्र संघ आफैंले मेला गर्ने प्रावधान राखिएको थियो । तर संघ आफैंले बैशाखयता ६ पटक मेला आयोजना गरिसकेको छ ।
संघमा गुट बनेपछि एउटा समुहले भृकुटीमण्डपको सानो चौरमा र संघको नाममा ठूलो चौरमा मेला हुँदै आएको छ । यही पुस २१ गतेदेखि फेरि मेला गर्ने भनेर संघले भृकुटीमण्डपको चौर बुक गरिसकेको छ ।
संघले सानो चौरको मेलामा सहभागी हुने जुत्ताचप्पल उत्पादकलाई कारबाही गरेको थियो । उनीहरुलाई विधान नमानेको संघको आरोप छ । संघका पदाधिकारी आफैंले भने यही बर्ष ६ पटक मेलामा सहभागिता जनाइसकेका छन् ।
संघको विधानले बर्षको दुई पटक मात्र मेला गर्ने भने पनि कार्यसमितिले मंसिर मसान्तसम्म मेला गर्न दिने निर्णय गरेको थियो । सानो चौरमा मेला गर्ने जुत्ताचप्पल उत्पादकहरुले आफूहरुमाथिको कारबाही फुकुवा गर्नुपर्ने सर्त राखेका थिए । त्यसपछि संघले यही पुस ५ गतेसम्म कारबाही फुकुवा गरिएको भन्दै मेला छाड्नु पर्ने र यदि मेला नछाडेको खण्डमा कारबाही यथावत रहने निर्णय गरेको थियो ।
संघकै नाममा भएको मेलामा सहभागी केही उद्योगीले संघको निर्णय अनुसार पुस ५ सम्म मेला छाडेनन् । उनीहरुले यही पुस २१ देखिको मेलामा भने सहभागिता जनाउन पाउने भएका छन् ।
संघको बिधान मस्यौदा उपसमिति सदस्य अर्जुनकुमार शर्माका अनुसार बिधानमा बार्षिक रूपमा दुइ पटक सेल मेला र एक पटक बार्षिक मेला गर्ने गरि मध्यमार्गी बाटो बनाएको अनुभूति गरेकोमा अहिले आएर संघको नामबाट विधान विपरित पटक पटक मेला लगाइएको छ । उनले भने “बैशाख, जेठ, भदौ, असोज, कार्तिक, मंसिर र पुषसम्ममा संघले गरेको मेला बिधान सम्मत छ ?”
“हिजो भृकुटीमन्डपको सानो चौरमा मेला लगाएको भनेर सो मेला बिधानबिपरित भयो भनेर संघका सदस्यहरुलाइ कार्वाही गरिएको भनेर प्रचार गरिएको थियो,” उनले भने, “आजसम्म सघको नाममा लगाइएका मेला मेला बिधान सम्मत भए नभएको हेरिनुपर्छ ।”
संघले एउटा गुटलाई मात्र प्रश्रय दिएको शर्माजस्तै अन्य व्यवसायी तथा उद्योगीको आरोप छ । पुस २१ गतेदेखि संघका नाममा हुने मेलामा नेपालका चर्चित ब्राण्डहरु शिखर, क्यालिबर, मकालु, हाइलाइफ, स्काइ, लेदर विङ्स, उत्सव, बेम्बो, बोस, फुटस्टेप, ह्याप्पी, टाकुरालगायतका कम्पनीले अहिलेसम्म बुकिङ गरेका छैनन् । यस्तै विवादका कारण मेलामा ती ब्राण्डको सहभागिता नहुने सम्भावना बढेको छ ।
मेला गर्ने नगर्ने भन्नेमा उत्पादकहरुबीच लामो समयदेखि विवाद छ । शिखर सुजलगायतका जुत्ता कम्पनीले भृकुटीमण्डपमा मेला लगाउँदै आएका थिए । त्यसको विरोधमा जुत्ताचप्पल उत्पादकहरुको छाता संगठन आफैं विरोधमा उत्रियो । त्यसपछि जुत्ताचप्पल उत्पादकहरुको गुट बन्न थाल्यो । त्यसमा ३,४ वटा गुट बने । ती गुटहरु आलोपालो गरी सबैसँग मिलेर मेलामा सहभागिता जनाउन थाले । मेलामा सहभागिता नजनाएका जुत्ताचप्पल उत्पादकहरु मेलाको विरोधमा उत्रिए । त्यतिखेर सबैको स्वार्थ मिलेर संघले औपचारिक रुपमा भृकुटीमण्डपको सानो चौरमा जुत्ताचप्पल मेला नगर्ने औपचारिक निर्णय गर्यो ।
केही समय मेला रोकिए पनि अहिले मेलामा फेरि प्रतिस्पर्धा चलेको छ । ठूलो चौरमा मेला गर्नेहरु संघको संस्थापन पक्षका जुत्ताचप्पल उत्पादकहरुले आफ्नो मेलालाई संस्कृति माने गरेका छन् भने सानो चौरमा मेला गर्नेहरुलाई विक्रिति भित्र्याएको आरोप लगाउने गरिएको छ ।
संघका उपाध्यक्ष तथा मेलाका संयोजक सुरज बन्जाडेले भने मेलामा सहभागी हुन कसैलाई रोकतोक नरहेको बताए । “हामीले यो आर्थिक बर्षमा दोस्रो मेला गर्दैछौं,” उनले भने, “हामी विधान अनुसार नै गएका छौं । अबको साधारणसभाबाट बर्षको दुई पटक मेला गर्ने प्रावधान हटाउने प्रस्ताव लैजाँदैछौं ।”
यसअघि संघले लगाउने मेलामा सबै जुत्ताचप्पल उत्पादकलाई समेट्नु पर्ने भएकाले टाइटल स्पोन्सर कसैलाई नदिने निर्णय कार्यसमितिले पारित गरेको थियो । जुत्ताचप्पल मेला गर्नुअघि सदस्यहरुको भेला आयोजना गरेर टाइटल स्पोन्सर कसैलाई दिने नदिने निर्णय गरिन्थ्यो । अहिले उक्त निर्णय विपरित २१ गतेदेखि हुने मेलाको टाइटल स्पोन्सर नियुक्त गरिएको छ । आफ्नै निर्णय विपरित भएको यो नियुक्तिको संघ भित्रै विरोध भइरहेको छ । सुरुआतदेखि नै मेलामा सहभागिता जनाउँदै आएका चर्चित जुत्ताचप्पल ब्राण्डका उत्पादकहरुले टाइटल स्पोन्सर माग्दा भने संघले सबैलाई समेटेर जाने भन्दै टाइटल स्पोन्सर दिन इन्कार गर्दै आएको थियो ।
जुत्ता मेलामा प्रतिस्पर्धा गर्न छालाजुत्ता उत्पादक सँघ स्वयं लाग्दा जुत्ताचप्पल उत्पादकको हितमा निति नियम बनाउन लबिङ गर्नु पर्ने काम संघले गर्न नसकेको उत्पादकहरु बताउँछन् ।
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया