सन् नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियममा आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरमा १३९ रुपैयाँ प्रिमियम थप गरी २३९ रुपैयाँमा आइपीओ जारी गर्न बोर्डबाट अनुमति पाएको हो ।
कम्पनीले जारी पूँजीको ३० प्रतिशतले हुने आउने ९६ लाख कित्ता सेयर बिक्री गर्ने भएको छ । त्यसमध्ये पहिलो चरणमा कुल निष्काशनको १० प्रतिशतले हुन आउने ९ लाख ६० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गर्नेछ ।
यस्तै कम्पनीले कर्मचारीहरुका लागि ४ लाख ८० हजार कित्ता सेयर भने अंकित मूल्यमा नै जारी गर्नेछ । इन्स्योरेन्सको सेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले साउन १ गतेदेखि १५ गतेसम्म आवेदन दिनु पर्नेछ । इन्स्योरेन्सको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट उपलब्ध गराएको ‘मेरो सेयर’ सफ्टवेयरबाट आवेदन दिन सक्नेछन्।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयरएनपी त्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले इन्स्योरेन्स वित्तीय दायित्व बहन गर्न सक्षम रहेको औषतस्तरको सुरक्षित कम्पनी रहेको संकेत गर्दछ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रवन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
कम्पनीको रजिष्टर्ड कार्यालय काठमाण्डौं नगरपालिका वडा नम्बर २९ सिम्खडा–प्लाजा पुतलीसडक काठमाण्डौमा रहेको छ । कम्पनीले हालसम्म २९ शाखा कार्यालय र १६१ उपशाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया