पर्यटक आगमनबाट हुने आम्दानी ५१.३ प्रतिशतले बढेर १७ अर्ब २ करोड पुग्यो


नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२३ जनवरीदेखि अक्टोबरसम्म आठ लाख बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

अक्टोबरमा मात्रै हवाईमार्ग भएर एक लाख १७ हजार तीन सय छ पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०२२ को सोही अवधिमा ८८ हजार पाँच सय ८२ पर्यटक नेपाल भित्रिएका थिए भने सन् २०१९ को सोही अवधिमा एक लाख १३ हजार आठ सय १६ पर्यटक नेपाल आएका थिए ।

बोर्डका निर्देशक मणिराज लामिछानेले पछिल्लो पर्यक आँकडा हेर्दा मुलुकको पर्यटन पुरानै लयमा फर्किएको बताए । उनले पर्यटन क्षेत्रमा सकारात्मक बढोत्तरीले आगामी दिनमा यो क्षेत्रमा उत्साह थपिने विश्वास व्यक्त गरे ।

ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) का पूर्वअध्यक्ष नवराज दाहालले कोभिड महामारीपछि पर्यटन क्षेत्र करिब पुरानै लयमा फर्किएको बताउँछन् । उनले भने, “समग्रमा पर्यटन क्षेत्र सुधारोन्मुख छ । खड्किएको विषय भनेको गन्तव्य पुग्ने सडक बाटोको दूरावस्था, पदयात्रा क्षेत्रमा देखिएको बेथितिजन्य गतिविधिले पर्यटकको बसाई सन्तोषजनक बनाउन सकिएको छैन ।”

पर्यटन व्यवसायी दाहालले आगामी दिनमा बढीभन्दा बढी पर्यटक आकर्षण गर्न पूर्वाधार विकास, सडक स्तरोन्नति, नीगिगत सुधार, एकद्वार प्रणालीबाट सेवा प्रवाहजस्ता कामलाई प्राथमिकता दिन जरुरी भएको उल्लेख गरे ।

नेपाल पर्वतारोहण सङ्घका महासचिव मोहन लम्सालले मुलुकको पर्यटन क्षेत्र चलायमान बन्दै गएको उल्लेख गरे । उनले पर्यटक आगमन बढाउन र सेवा सहजीकरणका लागि नीतिगत सुधारका काम जरुरी भएको उनको भनाइ छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको तीन महिनामा विदेशी पर्यटक आगमनबाट हुने आम्दानी बढेको छ । गत आवको पहिलो तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा आम्दानी ५१ दशमलव तीन प्रतिशतले बढेर १७ अर्ब दुई करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ११ अर्ब २४ करोड रुपैयाँ थियो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।