नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सामाजिक सुरक्षा कोषको पैसा उत्पादनमूलक क्षेत्रमा लगाउन सरकारलाई सुझाव दिएका छन् ।
छैठौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा महासङ्घका अध्यक्ष ढकालले सामाजिक सुरक्षा कोषको ६ वर्षको छोटो समयमा नै सामाजिक सुरक्षा कोषमा ४५ अर्ब रुपैयाँ भन्दा बढी रकम जम्मा भइसकेको उल्लेख गर्दै सो सुझाव दिएको महासङ्घद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
अध्यक्ष ढकालले भने,“कार्यविधी बनाएर यसलाई उत्पादन मुलक क्षेत्रमा लगानी गर्नुपर्छ । सामाजिक सुरक्षा कोषको स्थापना भएको छ वर्ष लाग्यो तर यति छोटो समयमा नै कोषले रोजगारदाता र श्रमिकबीच सम्बन्ध सुधारमा महत्त्वपूर्ण काम गरेको छ ।”
अध्यक्ष ढकालले कोषको पैसा राज्यको आन्तरिक उत्पादनमा लगाउँदै राज्यको दूरदराजमा रहेका विपन्न जनता जो वैदेशिक रोजगारीमा जान चरम आर्थिक सङ्कट बेहोरीरहेका छन् तिनको सहजीकरणमा लगानी गर्नसमेत सुझाव दिएका छन् । उनले सामाजिक सुरक्षा कोषका कारण निजी क्षेत्रका रोजगारदाताहरू र श्रमिक सम्बन्ध सुमधुर बनाएको बताए ।
लामोे छलफल र सहकार्यको फलस्वरुप श्रम ऐनको संशोधन र योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्न कानूनी र संस्थागत व्यवस्था भएको अध्यक्ष ढकालले बताए । “यो नीतिगत सुधारले सामाजिक रुपान्तरणका हाम्रा प्रयासमा ठूलो सहयोग पुग्ने विश्वास लिएका छौँ,” उनले भने ।
अध्यक्ष ढकालले योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको सफल र प्रभावकारी कार्यन्वयनमा महासङ्घको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया