कुनै बहानामा फ्लाई ओभरकाे काममा ढिलाइ नगर्न मन्त्रीकाे निर्देशन


काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाई ओभरको निर्माणमा ढिलासुस्ती नगर्न निर्देशन दिएका छन् ।

साेमबार फ्लाई ओभरकाे स्थलगत निरीक्षणपछि उनले यस्ताे निर्देशन दिएका हुन् । मन्त्रालयका उच्च अधिकारीसहित उनी निर्माणस्थलमा पुगेका थिए ।

निरीक्षणपश्चात् मन्त्री दाहालले फ्लाई ओभर निर्माणको कामलाई गति दिन निर्देशन दिए । त्यस क्रममा उनले पूर्वाधार तथा विकास आयोजना निर्माण कार्यमा हुने ढिलासुस्ती सह्य नहुने बताए ।

काठमाडौँको सहरी तथा यातायात व्यवस्थापन गर्न महत्वपूर्ण हुने अपेक्षा राखिएको उक्त फ्लाई ओभर निर्माणको कार्यलाई गति दिएर समयमै सक्न मन्त्री दाहाले निर्देशन दिए । निरीक्षण टोलीमा मन्त्री दाहालसहित मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक रामहरि पोखरेललगायत सहभागी थिए ।

२०७८ फागुन १२ गते निर्माण सुरु भएको उक्त फ्लाई ओभर आगामी पुस पहिलो हप्तासम्म निर्माण सम्पन्न गर्नुपर्नेछ । ३० मिटर स्पानको ४ लेनको सो पुलसहितको फ्लाई ओभर निर्माणको काम आशिष–समानान्तर–रेलिगेर जेभी काठमाडौँले गरिरहेको छ ।

प्रकाशित मिति: २६ कात्तिक २०८१, सोमबार  १५ : ४१ बजे