आम नागरिकलाई कुलमान घिसिङको आग्रह ‘प्राधिकरणमा भएका सुधारलाई निरन्तरता दिन खबरदारी गरिरहनु होस्’


नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त भएका कुलमान घिसिङले विद्युत प्राधिकरणलाई पुरानै आस्थामा फर्काउने खेल सुरु भएको बताएका छन् । आफ्नो कार्यकालमा प्राधिकरणको समग्र अवस्था, आम नागरिकमा विद्युतको पहुँच लगायत काममा व्यापक सुधार भएको बताएका उनले आफुलाई बर्खास्त गरेर प्राधिकरणलाई कमजोर बनाउने खेल सुरु भएको बताए ।

आफ्नो बर्खास्तीका सम्बन्धमा अदालत गएका उनले अदालतबाट अन्तरिम आदेश नपाएपछि शुक्रबार पत्रकार सम्मेलन गरेर प्राधिकरणलाई बचाउन खबरदारी गर्न आम नागरिकलाई आह्वान गरेका हुन् । संविधानको अधिनमा रहेर आफुले सेवा गरे पनि सरकारलाई आफुलाई विभिन्न आरोप लगाएर बर्खास्त गरेको उनको आरोप थियो ।

“चैत ११ गते मन्त्रीपरिषदले आफुलाई हटाउँदै गर्दा दुर्गम चेपाङ बस्तीमा विद्युत आपुर्तीको काममा सक्रिय रहेको मलाई सरकारले सिमित व्यक्तिको स्वार्थ पुरा गराउन बर्खास्त गर्ने निर्णय गर्यो, यो अवस्थालाई तपाई आम नागरिकले बुझिदिनु भएको छ भन्ने अपेक्षा गरेको छु” घिसिङले भने ।

आफु एक्लैले मात्र कुनै चमत्कार नगरेको बताएका उनले प्राधिकरणको सिंगो परिवारले विद्युत आपुर्ती, उत्पादन तथा वितरण लगायतमा सफलता हासिल गरेको उनको भनाई थियो । “विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट मात्र बाहिर रहेको हुँ, आम नागरिकको हैसियतमा गौरवान्वित महसुस गर्दै बस्नेछु,” उनले भने ।

कसैको स्वार्थमा सरकार आफुमाथि जाई लागेको आरोप लगाएका उनले भने, “मलाईलाई प्राधिकरणबाट बाहिर निकाल्न लागी परेकाहरु खुसी भएका होलान तर आफुले गौरवान्वित महसुस गरेको छु । यसले आम उपभोक्तालाई एउटा कालखण्डमा सिधा असर पार्नेछ ।”

डेडिकेटेड र ट्रङ्क लाइनको महसुल उठाउने कामलाई प्रभावकारी बनाएकै कारण सरकार र मन्त्रीहरुबाट पटक पटक स्पष्टीकरण सोध्ने काम गरेर अवरोध गरिएको उनको आरोप थियो । “लाइन बिच्छेद गरी बक्यौता असुलीको कार्यान्वायन गर्न विद्युत नियमन आयोगलाई जानकारी गराएलगत्तै आफुलाई बर्खास्त गर्ने काम भयो, यो अवस्थालाई आम नागरिकले बुझेको विश्वास गरेको छु,” उनले भने, “आफ्नो इज्जत र प्रतिष्ठामा आँच आउने किसिमका व्यवहार भएपनि म बिचलित भएको छुइँन,” उनले पत्रकार सम्मेलनमा भने ।

आफु माथि उत्पन्न गरिएका दवाब र तनावको साँक्षी आम नेपाली नागरिक भएको भन्दै उनले आफ्नो बर्खास्ती किन र कसका लागि गरिएको छर्लङ्ग भएको बताए ।

“मैले व्यक्ति विशेषको निर्देशन पालना गर्ने कि नियम र कानुनको परिपालना गर्ने ?” उनले पत्रकार सम्मेलनमा प्रश्न गरे ।

आफ्नो जिम्मेवारी र निष्ठाले व्यक्तिविशेष एजेण्डालाई कार्यान्वायन गर्न नदिएको बताएका उनले आफुलाई हटाउने अभियानमा लागेकाहरुले न्यानो महसुस गरिरहेको बताए । सरकारको यो कदमले आम नागरिक प्रभावित हुने भन्दै उनले निरन्तर खबरदारीका लागि सबैलाई आग्रह गरे ।

लोडसेडिङ सधैँका लागि अन्त्य गरी उज्यालो नेपालको अभियानमा लाग्दा ४२ प्रतिशतले बिजुलीको उपभोग नै गर्न नपाइरहेको अवस्थामा सुधार गरी अहिले ९९ प्रतिशत नागरिकको पहुँचमा बिजुली पुगेको उनले दाबी गरे । अस्पताल तथा आम नागरिकको हीतमा बिजुलीको अविछिन्न आपुर्ती गर्न पाउनु, वैदेशिक मुद्राको संकुचन भएका बेला मुलुकलाई त्यसमा सहयोग गर्ने अवस्था बनाउन पाउनु नै आफ्नो सफलता भएको उनको भनाई थियो ।

पत्रकार सम्मेलनमा उनले दुर्गम क्षेत्रका आम नागरिकमा विजुलीको पहुँच बिस्तार गर्न सक्नु नै आफ्नो सफलता भएको बताएका घिसिङले आफुलाई हतोत्साहित गर्ने जति नै प्रयास भएपनि त्यसबाट बिचलित नभई काम गर्न सफल भएको उनको भनाई थियो ।

जिम्मेवार राष्ट्रसेवक कर्मचारीका रुपमा आफुले काम गरेको बताएका उनले आफु कुनै दलनिकट नभएको पनि प्रष्ट पारे ।

९ अर्ब रुपैयाँसम्मको नोक्सानमा रहेको प्राधिकरणलाई ४७ अर्ब रुपैयाँको नाफाको अवस्थामा पुर्याउन आफु सफल भएको बताएका उनले विद्युतको महसुल बढाएर नभई चुहावट नियन्त्रण, बक्यौता असुलीमा गरिएको कडाई लगायतले सम्भव भएको बताएका थिए ।

१ खर्ब ५७ अर्ब रुपैयाँ उर्जा उत्पादनका विभिन्न आयाममा लगानी गर्न प्राधिकरण सफल भएको बताएका उनले बंगलादेशतर्फ ४० मेगावाट विद्युत निर्यातको काम अफ्नै कार्यकालमा भएको बताए । विद्युत निर्यात तथा आन्तरिक रुपमा विद्युतको खपत बढाएर प्राधिकरणको वासलातको आकार बढाउने मात्र नभई समग्र अर्थतन्त्रमा योगदान पुर्याउन प्राधिकरण सफल भएको उनको भनाई थियो ।

आन्तरिक रुपमा विद्युतको उपयोग शतप्रतिशतभन्दा धेरैले बढाउन सकिएको बताएका उनले ८ सय मेगावाट हारारीको विद्युत उत्पादन निपी क्षेत्रको समेत पहलमा ३ हजार ५०० मेगावटसम्म पुगेको उनले बताएका थिए । प्राधिकरणमा रहेर काम गर्दा आफुले कानुन, नीति नियमको परिधिमा रहेर मात्र माथिका निर्देशनको परिपालना गरेको बताएका उनले व्यक्तिगत निर्देशन नमान्दा आक्रमणको शिकार भएको बताए ।

राजनितिमा आउने हल्लाका सम्बन्धमा सञ्चारकर्मीले गरेको प्रश्नको घिसिङले खण्डन गरेका थिए ।

प्रकाशित मिति: २२ चैत्र २०८१, शुक्रबार  १३ : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।