बुढी गण्डकी जलविद्युत आयोजनामा निजी क्षेत्रको अहिलेसम्मकै ठुलो लगानी सम्झौता


काठमाण्डौं। लामो समयदेखि निर्माणको चर्चामा रहेको बुढी गण्डकी जलविद्युत आयोजनामा निजी क्षेत्रको अहिलेसम्मकै सबैभन्दा धेरै रकम लगानी हुने भएको छ । निजी क्षेत्रले निर्माण गर्न लागेको सबैभन्दा ठूलो जलविद्युत आयोजनामा ९ वटा बैंक र एक कम्पनीले साढे ५२ अर्ब रुपैयाँ लगानी गर्ने भएका हुन् ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नेतृत्वमा ९ वटा बैंक एउटा कम्पनीले ५२ अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने सम्झौता भएको हो । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा ३४१ मेगावाटको अर्धजलाशययुक्त बुढीगण्डकी जलविद्युत आयोजनामा लगानी गर्ने सम्बन्धमा सबै पक्षका बीचमा सम्झौता भएको हो ।

अर्थमन्त्री वियणुप्रसाद पौडेल र उर्जामन्त्री दीपक खड्काको उपस्थितीमा भएको सम्झौतामा ९ वटा बैंकको तर्फबाट लिड गरेको नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र आयोजनाको प्रवर्धक कम्पनी टाइम्स इनर्जीका तर्फबाट साहस ऊर्जाका निर्देशक सुशील थापाले लगानी सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार लिड बैंक नेपाल इन्भेष्टमेन्ट मेगाले आयोजनामा १० अर्ब रूपैयाँ लगानी गर्नेछ भने सह नेतृत्व गर्ने लक्ष्मी सनराइज बैंकले ८ अर्ब, नबिलले ८ अर्ब, ग्लोबल आइएमईले ७ अर्ब, एचआईडिसिएलले ४ अर्ब माछापुच्छ्रेले ४ अर्ब, सिटिजन्सले ३ अर्ब, प्रभुले ३ अर्ब, नेपाल इन्फ्रास्ट्रक्चर डेभलपेण्ट बैंकले ३ अर्ब र कृषि विकास बैंकले २ अर्ब ५० करोड रुपैयाँ लगानी गर्नेछन् ।

१७ अर्ब ५० करोड रुपैयाँ स्वपुँजीबाट जुटाइने आयोजनाको प्रतिमेगावाट लागत २० करोड ५३ लाख रुपैयाँ हुने अनुमान छ । स्वपुँजीमध्ये ५१ प्रतिशत लगानी साहस ऊर्जाको हुने कार्यक्रममा जानकारी दिइयो ।

आगामी पुसबाट निर्माण कार्य सुरु गर्ने गरी तयारी गरिएको साहस ऊर्जाका अध्यक्ष हिम पाठकले बताए । उनका अनुसार व्यावसायिक उत्पादन थालेको ५ वर्षमा वर्षमा लगानी फिर्ता गर्ने कम्पनीको लक्ष्य छ ।

साहस ऊजार्ले बुढीगण्डकी जलविद्युत आयोजनाको अनुमति लिएको डेढ वर्षपछि लगानी जुटाएको हो । बुढीगण्डकी जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युतको नेपाल विद्युत प्राधिकरणसँग खरिद बिक्री सम्झौता भइसकेको छ । सम्झौता अनुसार आयोजनाको सुक्खा समयमा १० रुपैयाँ ५५ पैसा प्रतियुनिट, सामान्य सुक्खा समयमा ८ रुपैयाँ ४० पैसा र वर्षाको समयमा ४ रुपैयाँ ८० पैसा प्रतियुनिटको दरमा प्राधिकरणले विद्युत खरिद गर्नेछ ।

डिजाइन डिस्चार्ज १००.२७ घनमिटर प्रतिसेकेण्ड रहेको आयोजनामा २ किलोमिटर लामो जलाशय निर्माण हुने र उक्त जलाशयमा १७ लाख ६० हजार घनमिटर पानी भण्डारण हुने कम्पनीले जनाएको छ ।

तातोपानी गाउँ नजिकै बुढीगण्डकी नदीको बायाँ किनारमा भूमिगत विद्युत गृह बनाउन प्रस्ताव गरिएको आयोजनामा ६०.४३ मेगावाट क्षमताका ६ वटा टर्बाइन जडान हुनेछन् ।

वार्षिक सरदर १८३७.१६ गिगावाट घण्टा बिजुली उत्पादन गर्ने अनुमान गरिएको आयोजनाका अधिकांश भौतिक संरचना भूमिगत हुने भएकाले भूकम्प, बाढीपहिरो जस्ता प्राकृतिक प्रकोपको न्युन जोखिमको हुने बताइएको छ ।
आयोजना निर्माणका लागि जग्गा अधिग्रहणको काम पुरा भइसकेको छ ।

प्रकाशित मिति: २३ श्रावण २०८२, शुक्रबार  ०८ : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।