काठमाडौँ । १७ औँ संस्करण को ‘नाडा अटो शो २०२५’ भाद्र ३ गतेदेखि ८ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन भइरहेको छ । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदर्शनीको उद्घाटन गरेका हुन् ।
नाडा अटो शो प्रत्येक वर्ष हुँदै आइरहेकोमा यसवर्ष अघिल्लो वर्षहरुकोभन्दा केही फरक र उत्साहजनक भइरहेको छ ।
- ३ प्रश्नको आजको अंकमा हामीले ‘नाडा अटो शो’ आयोजक समितिका संयोजक अनुपकुमार बरालसँग प्रदर्शनीमा कस्ता गाडीहरु राखिएको छ, अवलोकर्ताहरुको उत्साह कस्तो छ भन्ने विषयमा कुरा गरेका छौँ ।
नाडा अटो शो २०२५ मा कस्ता किसिमका गाडीहरु प्रदर्शनीमा रहेका छन् ? अघिल्लो वर्षहरुको तुलनामा के फरक भएको छ ?
नाडा अटो शो २०२५ मा १०० भन्दा बढी स्टलहरु रहेका छन् । चारपांग्रे, दुइपांग्रे साथै लाइट कमर्सियल भेहिकल, अटो कम्पोनेन्ट्स, ग्यारेज उपकरण लगायत फरक फरक ब्रान्डका गाडीहरु प्रदर्शनीमा सहभागी भएका छन् ।
यस वर्षको शोमा मुख्य आकर्षकको रूपमा प्रदर्शनमा राखिएको फ्लाइङ कार छ । यसैगरी एमएडब्लु वृद्धिले नेपालमै पहिलो पटक मानव आकारको ह्युमनोइड रोबोटपनि प्रदर्शनीमा राखेको छ ।
उड्ने ट्याक्सी र रोबोटले यस वर्षकोे नाडा अटो प्रदर्शनीलाई विशेष बनाएको छ । यस्ता नविनतम् प्रविधिले नाडा अटो शोलाई एउटा अटोमोबाइल प्रदर्शनीमा मात्र सीमित नगरी नयाँ युगको आगमनको उत्सव पनि बनाएको छ ।
नाडा अटो शोमा अवलोकनकर्ताहरुको आगमन अपेक्षा अनुसार पाउँनु भएको छ ?
शोमा ६ दिनमा १ लाख अवलोकनकर्ता आउने अपेक्षा गरेका थियौँ । हालसम्म हाम्रो अपेक्षाभन्दा धेरै माथि नै रहेको छ । प्रधानमन्त्रीले उद्घाटन गर्नुभएको प्रदर्शनको पहिलो दिनमा नै १९ हजार जना भन्दा बढी अवलोकनकर्ताहरूको ऐतिहासिक उपस्थिति रहेको थियो । पहिलो दिन नै एकदमै ऐतिहासिक सहभागिता पायौँ । दोस्रो दिन पनि उत्तिकै उत्साहजनक भएको छ । दोस्रो दिन पनि २८ हजार बढी अवलोकनकर्ताहरूले अवलोकन गर्नुभएको छ । विशेषगरी व्यापार, व्यवसाय प्रवर्धन राम्रो भएको छ ।
विद्युतीय सवारी साधनहरुको बढ्दो माग र आपूर्तिसँगै चार्जिङ स्टेशन र ब्याट्री व्यवस्थापन कस्तो छ ?
विद्युतीय सवारी साधनहरुको बढ्दो माग र आपूर्तिसँगै गाडीहरुको चार्जिङ स्टेशनको विकास पनि तिव्र गतिमा भइरहेको छ । विद्युतीय सवारी साधन प्रयोगकर्ताहरुले १/२ घण्टा को ड्राइभमा नै चार्जिकङ स्टेशनहरु पाउन सक्नेछन् ।
विद्युतीय सवारी साधनहरुले जलवायु परिवर्तनबाट उत्पन्न भएको समस्या न्यूनीकरणमा महत्त्व राख्छ । सँगै नेपालको आर्थिक विकास र समग्र यातायात विकासमा योगदान पुग्नेछ । जसकारण विद्युतीय सवारी साधनहरुको चार्जिङ स्टेशन तथा ब्याट्री व्यवस्थापनको विकास पनि उपयुक्त भएको छ ।












प्रतिक्रिया