उपभोक्ता मुद्रास्फीतिमा गिरावट आउँदा मूल्यवृद्धि ४.०६ प्रतिशत, सरकारी तथ्यांकमा विज्ञको मत बाझियो


काठमाडौँ । गत आर्थिक वर्ष २०८१/८२ मा उपभोक्ता मुद्रास्फीतिमा सुधार आएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक तथ्यांक अनुसार औसत मुद्रास्फीति ४.०६ प्रतिशतमा झरेको छ । अघिल्लो आव २०८०/८१ मा यस्तो मुद्रास्फीति ५.४४ प्रतिशत रहेको थियो । गत आवको अन्तिम महिना अर्थात असारमा मुद्रास्फीति २.२० प्रतिशत कायम भएको छ, जुन अघिल्लो आर्थिक वर्षको असार महिनामा यस्तो मुद्रास्फीति ३.५७ प्रतिशत रहेको थियो ।

तथ्यांक अनुसार गत आर्थिक वर्षमा खाद्य तथा पेय पदार्थको औषत मूद्रास्फीति ४.६९ प्रतिशत रहेको छ, जुन अघिल्लो आवमा ५.४४ प्रतिशत रहेको थियो ।

समग्र मुद्रास्फीति घट्नुलाई अर्थतन्त्रको लागि सकारात्मक सङ्केत भएपनि खाद्यवस्तुको मूल्यवृद्धिले सर्वसाधारणको भान्सा महँगिएको चौतर्फी गुनासो छ ।

समग्र मुद्रास्फीति घट्नुलाई अर्थविदहरुले सकारात्मक रुपमा लिएका छन् । अर्थविद् डिल्लीराज खनाल भन्छन्, ‘समग्रमा मूल्यवृद्धि घट्नुले अर्थतन्त्र चलायमान भएको र अर्थतन्त्रमा स्थायित्वको संकेत गर्दछ ।’

यसले नेपालको बाह्य अर्थतन्त्रमा पनि सुधार भएको देखाउँछ । उनी भन्छन्, ‘बिचमा रेमिटेन्स मात्र बढ्ने आयात र निर्यात दुबै घटेको देखाएको थियो , जसले आन्तरिक अर्थतन्त्र पनि राम्रोसँग अगाडी बढेको छैन संकुचित नै छ भन्ने देखाउथ्यो । तर अहिले यो दुई तिन महिनाको अवधिमा निर्यातमा अप्रत्याशित रुपमा वृद्धि भएको छ ।’ आयात र निर्यात दुबै बढ्दा आन्तरिक अर्थतन्त्र चलायमान भएको उनको भनाइ छ ।

नेपालको आयात र निर्यातको आँकडा तुलना गर्न योग्य नै छैन । ६५, ७० प्रतिशतमा कृषिमा आश्रित छन तर सबैभन्दा बढि खाद्यन्य आयात भएको छ ।

तर, सुक्ष्म तहमा जनताको आय आर्जन र क्रय शक्तिमा वृद्धि नभएको, युवाहरु विदेश पलायन भइरहको, बेरोजगारीको अवस्था सुधार नभएको हुनाले अर्थतन्त्र अगाडि जानेमा अझै पनि ढुक्क हुने अवस्था नरहेको अर्थविद् खनालको भनाइ छ । धेरै ठाँउमा, धेरै क्षेत्रमा जुन उद्देश्य बोकेर अगाडी बढेका छौँ त्यो विषयमा धेरै काम गर्नुपर्ने बाँकी नै छ । यसले गर्दा मद्रास्फीतिमा गिरावट आएपनि आम उपभोक्ताले ढुक्क हुन वातावरण भने कायम हुन सकेको छैन् ।

बजारमा उपभोक्ता मूल्य बढ्ने क्रम जारी रहेको तर राष्ट्र बैंकको तथ्यांकले उल्टो देखाएको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताए । अहिलेको हकमा कुरा गर्दा उपभोक्ताको बजारमा हरेक कुराको मूल्य वृद्धि भइरहेको उनी भन्छन्, “सबै खाद्यान्यको मूल्य बढेको छ, राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याकले उल्टो विवरण प्रस्तुत गरेको छ” । उनी सरकारी तथ्यांक नै आपसमा बाँझिएको उनको भनाइ छ ।

राष्ट्र बैंकको तथ्यांक अनुसार यो अवधिमा तरकारी उपसमूहको मूल्य वृद्धि १०.७१ प्रतिशत रहेको छ । घ्यू तथा तेलको मूल्य वृद्धि ८.७२ प्रतिशत, दाल तथा गेडागुडीको मूल्य ७.९० प्रतिशतले बढेको छ । खाद्य तथा खाद्यजन्य पदार्थको मूल्यवृद्धि ६.१३ प्रतिशत रहेको तथ्यांकमा उल्लेख गरिएको छ ।

मरमसला उप–समूहको मूल्यमा २.६२ प्रतिशत र माछा तथा मासुको मूल्यमा ०.३४ प्रतिशतले गिरावट आएको छ ।

यता, गैर खाद्य तथा सेवा समूहको वार्षिक औषत मुद्रास्फीतिमा पनि गिरावट आएको छ । गत आर्थिक वर्षमा यस्तो समूहको मुद्रास्फीति ३.७१ प्रतिशत रहेको छ, जुन अघिल्लो आर्थिक वर्षमा ४.६४ प्रतिशत रहेको थियो । यस समूहमा पनि विविध वस्तु तथा सेवाहरुको मूल्य वृद्धि ९.३९ प्रतिशत रहेको छ । कपडाजन्य तथा जुत्ता चप्पलको मूल्यवृद्धि ६.०९ प्रतिशत र मदिराजन्य पेय पदार्थको मूल्यवृद्धि ५.६५ प्रतिशत रहेको छ ।

फर्निसिङ तथा घरायसी उपकरणहरुको मूल्य वृद्धि ४.७८ प्रतिशत रहँदा सुर्तीजन्य पदार्थको मूल्यवृद्धि ४.३७ प्रतिशत रहेको छ ।

समग्रमा सरकारी तथ्यांकले मूल्यवृद्धि नियन्त्रण उन्मुख रहेको देखाए पनि दैनिक उपभोग्य वस्तुहरु, विशेषगरी तरकारी, दाल र तेलको मूल्यवृद्धिले आम उपभोक्तालाई मार पारेको छ । अर्थतन्त्र चलायमान बन्न थालेको संकेत सकारात्मक भएपनि यसको लाभ आम सर्वसाधारणसम्म पुग्न नसकेको र ढुक्क हुने अवस्था नरहेको विज्ञहरुको भनाइ छ । अर्थतन्त्रलाई दिगो रुपमा गतिशील बनाउन सरकारले आवश्यक नीतिगत सुधार गर्नुपर्ने आवश्यकता रहेको देखिन्छ ।

प्रकाशित मिति: १० भाद्र २०८२, मंगलबार  ०९ : २८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।