काठमाडौँ । नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि एक्सन, नायक र खलनायक बिचको मारधाडका दृश्य र चर्को संवादले राज गरेको थियो । दर्शकहरु पनि यथार्थ र कलात्मक भन्दा पनि यस्तै मारधाडका चलचित्रमा चित्त बुझाउन बाध्य थिए । तर पछिल्लो समय नेपाली चलचित्र हलुका मनोरञ्जनको दायराबाट बाहिर निस्केर गम्भिर सामाजिक मुद्दाहरु पर्दामा उतार्न थालेका छन् ।
अब नेपाली चलचित्र क्षेत्रमा काल्पनिक भन्दा पनि यथार्थका विषयवस्तुको प्रस्तुतीकरण बढ्दै गएको छ । यसको पछिल्लो उदाहरण हो चलचित्र कोशेढुङ्गा । जुन चलचित्रले नेपाली समाजको यथार्थलाई छरपस्ट पारेको छ ।
नेपाली समाजमा युवाहरुमा गहिरो द्धन्द्ध छ, स्वदेशमै केहि गर्ने अठोट तर परिस्थितिको परिदृश्यमा परेर विदेशीनुपर्ने बाध्यता । यो द्धन्द्ध, यसले सिर्जना गरेका पीडा र त्यसभित्रको दुखद मानवीय कथालाई चलचित्रले आफ्नो उर्वर स्थान बनाएको छ ।
धेरै युवाहरुमा विदेश जान्न स्वदेशमै केही गर्छ भन्ने दृढ अठोट हुन्छ । उनीहरु काम सानो ठुलो केही हुँदैन भनेर स्वेदशमै पसिना बगाउन तयार हुन्छन् । तर परिस्थिति र बाध्यताले यस्तो मोड लिन्छ कि देशमै केहि गर्ने भनेर हजार सपना बोकेको एक युवा (सन्जोग) विदेशिन बाध्य हुन्छ । जब ती युवा आफ्ना हजारौँ सपनाहरुको बलि चढाएर विदेशी भूमिमा पाइला टेक्छ अनि सुरु हुन्छ अकल्पनीय दुख र चुनौतीहरुको यात्रा । चलचित्र सोही परिस्थितिको वरीपरी घुम्छ र दर्शकलाई भावुक बनाउँछ ।
चलचित्रमा देखाइएका कतिपय दृश्यहरुले कसको आँखा नरसाउला र ! यो कथामार्फत चलचित्रले एउटा व्यक्ति मात्र होइन प्रत्येक नेपालीहरुको, नेपाली समाजको र समग्र देशको प्रतिनिधित्व गरेको छ ।
यसकै अर्को पाटोमा विदेशबाट फर्केको एक युवा (ऋषीराम) जो आफ्नै देशमा केहि गर्छु भनेर संङघर्षरत छ । काम सानो ठुलो हुँदैन भन्ने भावनालाई आत्मसात गरेर कृषि, पशुपालन, घरेलु तथा साना व्यवसायमा आफ्नो रगत र पसिना बगाइरहेको छ । तर समाजले मानसिक रुपमा र राज्यले आथिक तथा नीतिगत रुपमा सहयोग नगरेर त्यो युवाको मनोबल गिराउने काम मात्र गरेको छ ।
चलचित्रमा समाजमा परापुर्व कालदेखि विद्यमान लैंगिक विभेदको समेत समस्यालाई देखाइएको छ । श्रीमान विदेशमा दुःखमा रहँदा गाउँमा श्रीमतिले पाएको यातना र हण्डर ठक्करबाट मािथ उठ्न नायिका सुरक्षा पन्त (शितल) खरो उत्रिएकी छन् ।
नारीको अदम्य साहस र त्यागको चित्रण गरेको छ, जसमा पनि नायिका पन्त अब्बल देखिएकी छन् ।
चलचित्र कोशेढुङगाले नेपाली ग्रामीण समाजको यथार्थ, वास्तविक जीवन, कठिनाईहरु गरिबिको चपेटामा परेका परिवारका कथाहरु जस्ताको त्यस्तै पर्दामा उतारेको छ । यसका साथै देशको आर्थिक र सामाजिक परिस्थितिको कारणले सिर्जित रोजगारीको लागि विदेशीनु पर्ने बाध्यात्मक परिस्थितिललाई पनि जस्ताको त्यस्तै पर्दामा देखाएको छ ।
यो चलचित्रले देशमा विकास भइरहेको छ, प्रशस्त रोजगारीका सम्भावनाहरु छन्, विदेशीनेहरु रहरमा विदेशिएका हुन भनेर प्रत्येक कार्यक्रममा भाषण ठोक्ने नेता तथा उच्च पदस्थहरुलाई दरिलो झापड हानेको छ ।
चलचित्रमा सुरक्षा पन्त, आर्यन सिग्देल, प्रवीन खतिवडा, ऋचा शर्मा, नीति शाह, मञ्जिल कुमार, सरोज खनाललगायतको अभिनय छ ।
चलचित्रको कार्यकारी निर्माता दिनेश खड्का हुन् भने प्रमुख सल्लाहकारमा निदेश अधिकारी छन् । सरोज पौडेलबाट निर्देशित यस चलचित्रमा निर्माताहरूमा प्रेबिल कँडेल र किशोर अनुराग छन् ।












प्रतिक्रिया