दशैंको मुखैमा मुख्य नाका अवरुद्ध, उपभोक्ताको भान्सामै पुग्छ असर !


काठमाडौँ । चाडपर्व नजिकिँदै गर्दा चीनतर्फका मूख्य दुई नाका रसुवागढी र तातोपानी पूर्ण अवरुद्ध बनेका छन् । यसरी मुख्य दुबै नाका अवरुद्ध हुँदाको असर नेपालीको भान्सासम्मै पुग्ने देखिएको छ ।

यसपालीको दशैं र तिहारमा सामानको अभावसँगै मूल्य महङ्गो हुने र त्यसको जसको प्रत्यक्ष मार उपभोक्तालाई पर्ने सरोकारवालाहरू बताउँछन् ।

हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीका अनुसार यो वर्षको दशैंमा अनुमान गरिए भन्दा करिब १५ देखि २० प्रतिशतसम्म वा यो भन्दा पनि बढी मूल्य वृद्धि हुने देखिएको छ । अहिलेसम्म नै मानिसबाट बोकाएको समानमा करिब २ लाख रुपैयाँ सम्म बढी लागत लागिसकेको बताउँदै उनी भन्छन्,‘यसले गर्दा सामानको भावमा मूल्य वृद्धि हुनु सम्भावना स्वभाविक र प्रबल देखिएको छ ।’

साउन १४ गते चीनको तिब्बततर्फबाट आएको बाढीले स्याफु्रबेंसी रसुवागढी सडकखण्डको विभिन्न स्थानमा गरी करिब ५४० मिटर सडक पूर्ण रुपमा बगाएको थियो ।

जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार, बाढीले गोसाइँकुण्ड गाँउपालिका २ टिमुरेस्थित भन्सार यार्ड, घर, पुल र जलविद्युत आयोजनाहरुमा ठूलो क्षति पुर्‍याएको छ ।

यसअघि असार २४ गते आएको बाढीले क्षति पुर्‍याएको सडक अस्थायी मर्मतपछि सञ्चालनमा आए पनि पुनः बाढीले ठप्प पारेको हो । यसले रसुवागाढी नाका पूर्ण रुपमा अवरुद्ध छ ।

यस्तै अरनिको राजमार्ग अन्तर्गत भोटेकोशी गाउँपालिका–२ मा साउन १७ गते राति खसेको भीषण पहिरोले सडक भासिएको थियो । पहिरोका कारण नेपाल–चीन प्रमुख व्यापारिक नाका तातोपानी ठप्प भएको थियो । उक्त नाका पनि अहिले पानी पूर्ण रुपमा सञ्चालन हुन सकेको छैन । भदौ महिनामा जम्मा दुई दिनमात्र बाटो खुलेको तातापानी भन्सार कार्यालयले जनाएको छ ।

नेपाल चीन व्यापारको करिब ७० प्रतिशत आयात निर्यात हुने यी दुई नाका पूर्ण रुपमा अवरुद्ध हुँदा यसपालीको दशैं तिहार उपभोक्ताको लागि महँगो हुने भएको हो ।

नाका सञ्चालनमा ल्याउने प्रयास भइरहे पनि निरन्तरको वर्षाले पहिरो खस्दा सफल हुन नसकिएको तातोपानी भन्सार कार्यालयका प्रमुख राजेन्द्रप्रसाद चुडालले बताए । नाका सञ्चालनमा आउने सम्भावना नदेखिएपछि कुहिने खालको फलफुल बोकेर ल्याउने काम भइरहेको उनको भनाइ छ । साथै अन्य सामानहरु पनि बोकाएर ल्याउने काम भइरहेको उनले बताए ।

दशैंको लागि समान बोकेर आएका कन्टेनरहरु बाटो अवरुद्ध हुँदा चीनतर्फ करिब ३५ किलोमिटर लामो लाइन रहेको उनले बताए ।

रसुवागढी र तातोपनी दुबै नाकामा दशैंको समान बोकेर आएका करिब १ हजार ९०० कन्टेनर चीनतर्फ रोकिएका छन् । जसमा १ हजार ४ सय कन्टेनर ल्हासामा र ५०० कन्टेनर केरुङमा रोकिएर रहेका छन् । अहिले यी कन्टेनरहरुमा फलफुल, कपडा, खाद्यान्न, तिहारमा लगाइने झिलिमिलि बत्ती लगायत समानहरु रहेका छन् ।

नाका बन्द हुँदा नेपाल चीनबीचको व्यापार ठप्प भएको छ । यसले व्यापारका साथै आर्थिक कारोबारमा समेत असर पारेको छ । सिमापार व्यापारमा संलग्न हजारौं मानिसको जीविकोपार्जनमा नकारात्मक प्रभाव पारेको जानकारहरू बताउँछन् ।

अहिले चिनतर्फ रोकिएका कन्टेनरहरुमा करिब ३५ अर्ब रुपैयाँको समान रहेको व्यापारीहरूले बताएका छन् । चिनियाँ समानको नेपाली बजारमा हुने कुल व्यापारको करिब ३५ प्रतिशत दशैं तिहारकै समयमा हुने गरेको छ । तर मुख्य नाका बन्द हुँदा अहिलेको दशैंमा विगतको जस्तो नयाँ सामानको कारोबार कम हुने उनीहरुको भनाइ छ ।

विगत तीन वर्षको तथ्यांक हेर्दा तातोपानी र रसुवागढी नाकाबाट सबैभन्दा कम आयात चालु आर्थिक वर्षको साउनमा भएको छ । चालु आर्थिक वर्षको साउनमा रसुवागढी नाकाबाट ३५ करोड ९८ लाख रुपैयाँको वस्तु तथा सेवा आयात हुँदा निर्यात भने शून्य रहेको छ ।

गत आर्थिक वर्ष २०८०/८१ को साउनमा ८५ अर्ब २३ करोड २३ लाख रुपैयाँको वस्तु तथा सेवाको आयात हुँदा २ अर्ब ४ करोड ५२ लाख रुपैयाँको निर्यात भएको थियो । अघिल्लो आर्थिक वर्ष २०७९/८० को साउनमा ६० अर्ब ९१ करोड २ लाख रुपैयाँको वस्तु तथा सेवाको आयात हुँदा १ अर्ब ७३ करोड ६२ लाख रुपैयाँको निर्यात भएको थियो ।

यस्तै तातोपानी नाकाबाट चालु आर्थिक वर्षको साउनमा २ अर्ब ८९ करोड ९८ लाख रुपैयाँको आयात हुँदा निर्यात भने सुन्य रहेको छ । गत आर्थिक वर्ष २०८०/८१ मा ५० अर्ब ३९ करोड ५८ लाख रुपैयाँको वस्तु तथा सेवाको आयात भएको थियो ।

अघिल्लो आर्थिक वर्ष २०७९/८० को साउन महिनामा उक्त नाकाबाट ४० अर्ब ३४ करोड ३३ लाख रुपैयाँको वस्तु तथा सेवाको आयात भएको थियो ।

मानिसबाट बोकाएर खराब हुने वस्तु तथा समानको आयातको काम भइरहेको भए पनि यो प्रक्रियामा पनि धेरै चुनौती रहेको भन्सार अधिकृत चुडालको भनाई छ । देशभरि नै समान वितरण गर्न नसकिएपनि काठमाडौँ उपत्यकामा मात्र भएपनि व्यापारीहरुले समान पुर्‍याउन सकुन र कम क्षति व्यहोर्नुपरोस् भनेर हरसम्भव लागि परेको उनी बताउँछन् ।

सामान आउने सम्भावना कम रहेकाले व्यापारीहरुले ठुलो घाटा व्यहोनुपर्ने अवस्था आएको हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्की बताउँछन् । सामान अहिले बिक्री नभएमा अर्को वर्ष त्यहि समान बेच्नुपर्ने अवस्था आउने उनको भनाइ छ ।

अहिले खरिद गरेर ल्याएको सामान एक वर्षसम्म स्टक राख्नुपर्ने अवस्था आएको कार्कीको दुखेसो छ । यस्तो हुँदा एक वर्षको गोदामको भाडा, बैंकको किस्ता लगायत सबैतिर व्यापारीहरुलाई चौतर्फी चाप पर्ने उनी बताउँछन् ।

विकल्पको रुपमा कोरला नाकाको प्रयोग गर्ने प्रयास गरिएकोमा उक्त नाकाबाट पनि आयात सम्भव हुन सकेको छैन । कोरला नाकाको प्रयोग गर्दा करिब ९०० किलोमिटरको लागत बढ्ने देखिएको छ । अहिलेको अवस्थामा सामान महङ्गो भए पनि आइदिए हुन्थ्यो भन्ने व्यापारीहरुको चाहाना रहेका कार्कीको भनाइ छ ।

अहिलेको दशैंमा पुरानो सामान प्रयोग गरेर चित्त बुझउनु पर्ने अवस्था आएको छ । यस्तो हुँदा आगामी वर्षको दशैं पनि पुरानै सामान बजारमा आउने सम्भावना प्रबल रहेको व्यापारीहरू बताउँछन् । उनीहरूका अनुसार, अहिलेको दशैंमा नेपालीहरु पुरानो सामान पनि ५ देखि १० प्रतिशत सम्म बढी मूल्यमा खरिद गर्नुपर्ने देखिएको छ ।

सरकारले दीर्घकालीन रुपमा नाकाको निर्माण कार्य नगर्दा वर्षनी व्यापारी तथा सर्बसाधारणले घाटा र नोक्सानी व्यहार्नुपरेको व्यापारीहरुको आरोप छ ।

सरकारले बाढी आउने समयमा मात्र खोलामा पर्खाल लगाउने, निर्माण कार्य गर्ने गरेर झारा टार्ने काम विगत देखि गर्दै आएको छ । जसको कारण यी नाकाहरुमा प्रत्येक वर्ष समस्या आइरहेको व्यापारीहरुको आरोप छ ।

सरकारले असारे विकासलाई रोकेर हिउँदामा बाटो बनाउने र दीर्घकालीन समाधानको लागि बेलैमा काम गनुपर्नेमा व्यापारीहरुको जोड छ ।

प्रकाशित मिति: २२ भाद्र २०८२, आइतबार  ०८ : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।