गत भदौ २३ र २४ गते जेनजी युवाहरूले गरेको आन्दोलनले देशभरिका २ दर्जन होटलहरुमा तोडफोड तथा आगजनी भएको छ । यसले होटल व्यवसायीहरूलाई २५ अर्ब रुपैयाँको नोक्सानी भएको प्रारम्भिक अनुमान छ ।
अहिलेको होटल व्यवसायको अवस्था कस्तो छ ? यति ठूलो क्षतिबाट उठ्नका लागि के कसरी अगाडि बढ्न सकिन्छ ? लगायतका समसामयिक विषयमा रहेर होटल व्यवसायी संघका अध्यक्ष दिनेश कुमार चुकेसँग नोटबजारले कुराकानी गरेको छ । प्रस्तुत छ चुकेसँग गरिएको कुराकानीको सार संक्षेप:
आन्दोलनको के–कस्तो भयो जनधनको क्षति ?
आन्दोलनमा कति अहिले अब आन्दोलन पछिको समयमा बाह्य पर्यटक आउने वातावरण छैन । आन्तरिक पर्यटकहरु पनि चलायमान हुने अवस्था छैन । तर अहिले हाम्रा कामदारहरुलाई तलब दिइरहेका छौँ । अहिले नै कसैले बेरोजगार भएर बस्नुपर्ने अवस्था हुँदैन । आगजनी र तोडफोडबाट बन्द भएका होटलका कामदारहरुलाई पनि तलब दिइरहेका छौँ । सरकारले अहिले सहुलियत कर्जा दिने भनेको छ । राष्ट्र बैंकले पनि सरकारको निर्णय अनुसार नै सहुलियत दरमा ऋण दिने भनेको छ । यदि त्यसो भएमा होटल तथा पर्यटन क्षेत्रमा धेरै हदसम्म राहत हुनेछ ।
बीमा दाबी हुने अवस्था छ र पूनर्निमाणमा तयारी के हुँदै छ ?
बिमा दाबीको सन्दर्भमा मूल्याङ्कनकर्ताले गरेको मूल्याङ्कनका आधारमा भुक्तानी पाइन्छ । अहिलेको अवस्थामा हेर्दा ५० देखि ६० प्रतिशत सम्म बीमा कम्पनीहरुले भुक्तानी दिन्छ भन्ने आशा छ । यसले पनि होटल क्षेत्रलाई राहात मिल्ने आशा गरेका छौँ ।
अब तुरुन्तै सबै व्यवसायीहरु मिलेर पुननिर्माणमा जुट्ने तयारी गरेका छौँ । अहिले राष्ट्र बैंकले दिने भनेको सहुलियत ऋणको निर्णय गरेलगत्तै हामीले बैंकहरुलाई ऋणको लागि निवेदन दिएर काम अगाडी बढाउने तयारी गरेका छौँ । भविष्यमा कुनै राजनीतिक उथलपुथल, आन्दोलन लगायत अवरोध सिर्जना हुने घटनाहरु नभएको अवस्थामा हामीहरु ६ महिनामा पुरानै अवस्थामा फर्किनेछौँ । तत्कालको लागि उद्योगी, व्यावसायी कामदार सबैले दुख पाउने अवस्था आयो । तर आत्तिनुपर्ने अवस्था छैन । हामी तुरुन्तै पुरानै अवस्थामा झन बलियो भएर प्रस्तुत हुनेछौँ ।
यो आन्दोलन र तोफोडले व्यवसायको भविष्यमा कस्तो असर पर्ने देखिएको छ ?
अहिले यो आगजनी तोडफोडले व्यवसायको भविष्यमा पनि ठुलो असर पर्ने देखिएको छ । अहिले विश्वमै नेपालमा आन्दोलन प्रदर्शन भइरहेको छ, अस्थिर सरकार छ भनेर सबै पर्यटकको मानसिकतामा असर पारेको छ । आइरहेका पर्यटकले पनि आफ्नो बुकिङ फिर्ता गरेका छन् । अब आउने पर्यटकहरुमा त स्वभाविक नै असर पर्ने भइहाल्यो ।
त्यसो हुँदा अहिलेको सरकारले अन्तर्राष्ट्रिय स्तरमा पनि नेपालमा अब अस्थिरता अन्त्य भइसक्यो, अब शान्ति पुनःस्थापना भइसक्यो भन्ने सन्देश अन्तराष्ट्रिय स्तरमा दिन सकेको अवस्थामा व्यवसायीक रुपमा पनि हामी ६ महिनामा पुरानै अवस्थामा झन बलिया भएर उपस्थित हुने विश्वास छ ।
अहिलेको अवस्थामा हामी सबै व्यवसायीहरुलाई एउटै चिन्ताले पिरोलेको छ, त्यो हो राजनीतिक अस्थिरता । अहिले नै संसदमा रहेका आठ दलले यो गलत भयो भनेर विज्ञप्ति निकालेका छन् । संसद विघटन गलत हो भन्ने आएको छ । यस्तो अवस्थामा फेरि राजनीतिक अस्थिर झन चर्काे भएर आउँछ की भन्ने डर छ ।
अहिले त कामदारहरुले तलब पाइरहेका छन् तर दीर्घकालीन रुपमा के हुन्छ ?
दीर्घकालीन रुपमा पनि व्यवसाय बन्द गर्नुपर्ने अवस्था आएमा हामीले कामदारहरुलाई आधा तलब दिएर बिदामा राख्छौँ, अनि व्यवसाय खुल्ने बेला उनीहरुलाई नै पुनः रोजगारी प्रदान गर्छौँ । विगत कारोनाको समयमा पनि हामीले यो अभ्यास गरेका थियौँ । अब कसैले बढी आम्दानी खाज्छ र आफै छोडेर अन्त जान्छ भने उसको इच्छाको कुरा तर कसैले पनि रोजगारी गुमाएर घरमा बस्नुपर्ने अवस्था आउने छैन् । जीवीकोपार्जनको लागि हाम्रा कामदारहरुलाई कुनै किसिमको अप्ठ्यारो हुने छैन ।










प्रतिक्रिया