जेनजी आन्दोलनको असर तारे होटलमा: धमाधम बुकिङ फिर्ता गर्दै विदेशी पर्यटक


काठमाडौँ । पछिल्ला दिनहरूमा सामाजिक सञ्जालमा एक भिडियो भाइरल भइरहेको छ,–भिडियोमा एक जना विदेशी पर्यटक नक्साल क्षेत्रमा सोधिरहेका छन्, ह्वएर इज हिल्टन होटेल ? धेरैले उनको भाषा बुझेनन् र केही प्रतिक्रिया दिएनन् । तर एक जना युवकले खण्डहर फलामको थुप्रो देखाउँदै उनलाई भन्छन्,‘यहि हो होटल हिल्टन ।’ आगजनीले ध्वस्त भएको हिल्टन होटलको त्यो दृश्य देख्दा पर्यटक झसंग हुन्छन् र भन्छन्, ‘तस्बीरमा त यस्तो छ त !’ फेरि युवकले प्रतिक्रिया दिन्छन्,–‘आन्दोलनको क्रममा आगजनी भएर यस्तो भएको ।’

गत भदौ २३ र २४ गते भएको जेन जी आन्दोलन हिंसात्मक बन्दा हालसम्म ७३ जनाभन्दा बढीले ज्यान गुमाइसकेका छन् भने एक हजारको हाराहारी घाइते छन् । घाइतेमध्ये कतिपयको अझै उपचार जारी छ । जेन जी आन्दोलनका क्रममा सरकारी पक्षबाट भएको दमन, आन्दोलनकारीबाट आगजनी र तोडफोड हुँदा ठुलो मात्रामा मानवीय र भौतिक क्षति भएको हुन पुग्यो । आन्दोलनकारीले देशभरिका सरकारी संरचनाहरुमा आगजनी र तोडफोड गरे । व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाका भवनहरु भग्नावशेषमा परिणत भए ।

आन्दोलन र संरचनामाथिको तोडफोड र आगजनीको प्रत्यक्ष असर पर्यटन क्षेत्रमा पनि परेको छ । आगजनी र तोडफोडको कारणले गर्दा देशभरि विभिन्न स्थानका २ दर्जन होटलहरुमा करिब २५ अर्ब रुपैयाँ बढीको नोक्सानी भएको छ ।

लगातारको आन्दोलन आगजनी र तोडफोडले अहिले विदेशी पर्यटकहरुले धमाधम बुकिङ फिर्ता गर्न थालेका छन् । आन्दोलनका कारण बाह्य पर्यटक आवगमनमा तत्कालीन र दीर्घकालीन असर पर्ने देखिएको छ ।

होटल संघ नेपालका अध्यक्ष विनायक शाहका अनुसार पछिल्लो समय भएको आन्दोलनले पर्यटक आवागमनमा गम्भीर असर परेको छ । नोटबजारसँग उनी भन्छन्,‘पर्यटन क्षेत्र भनेको सामान्य पहिरो खस्दा पनि असर पर्ने क्षेत्र हो यत्रो आन्दोलन हुँदा स्वतः प्रभाव पारेको छ ।’

आन्दोलनको समयमा नेपालमा भएका पर्यटकहरुको सुरक्षा र सेवा सुविधा सबै पुर्‍याउने काम गरेको उनले बताए । अध्यक्ष शाहका अनुसार अहिले धमाधम बुकिङ फिर्ता हुन थालेपछि होटल अकुपेन्सी दर पनि घट्न थालेको छ । यो वर्षको पर्यटक सिजन सुरु हुने समयमै भएको आन्दोलनले पर्यटक अवागनमा गिरावट आउने उनी बताउँछन् ।

उनका अनुसार अहिले अवस्था सामान्य बन्दै गएको र अन्तरिम सरकार पनि गठन भइसकेको अवस्थामा पर्यटकहरु आकर्षित गर्न विभिन्न पहल कदमी भइरहेको छ ।

यस्तै नेपाल होटल व्यवसायी संघका अध्यक्ष दिनेश कुमार चुकेले अहिले विश्व बजारमा नै नेपाल सुरक्षित गन्तव्य छैन भन्ने हल्ला फैलिसकेको अवस्था रहेको बताए ।

नोटबजारसँग उनी भन्छन्, ‘अहिले विश्वमै नेपालमा आन्दोलन प्रदर्शन भइरहेको छ, अस्थिर सरकार छ भनेर सबै पर्यटकको मानसिकतामा असर परेको छ । आइरहेका पर्यटकले पनि आफ्नो बुकिङ फिर्ता गरेका छन् ।’ देशभरि विभिन्न कारागारबाट कैदीहरु भागेको अवस्थामा शान्ति सुरक्षाको डरले आन्तरिक पर्यटकहरु पनि चलायमान हुने अवस्था नरहेको उनले बताए । उनी भन्छन्, ‘अहिले भएको यो आगजनी तोडफोडले व्यवसायको भविष्यमा पनि ठुलो असर पर्ने देखिएको छ ।’

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्सका अनुसार विदेशी पर्यटकहरुले बुकिङ क्यान्सिल गर्ने क्रम बढेको छ । एसोसिएसनका अनुसार जेन जी आन्दोलन पछि अहिले नयाँ सरकार भइसकेको हुँदा पर्यटक आवगमन विगत जस्तो नभए पनि धेरै गिरावट आउने सम्भावना भने छैन । एसोसिएसनले कारोनापछि विस्तारै लयमा फर्किदै गरेको पर्यटन क्षेत्रमा आन्दोलनले असर पर्ने देखिएको हो ।

एसोसिएसनका अध्यक्ष कुमारमनि थपलियाले एडभेन्चर ग्रुपमा आउने पर्यटकको संख्यामा थोरै कमि आउने देखिएपनि धेरै फरक पर्ने देखिएको छैन । नेपाल टुर लगायत क्षेत्रमा पनि धेरैजसो बुकिङ रद्द भएका छन् । उनका अनुसार हालसम्मको तथ्यांक हेर्दा समूहमा आउने प्रत्येक क्षेत्रका पर्यटकमा २० देखि २५ प्रतिशतसम्म बुकिङ रद्द भइसकेको अवस्था छ । नोटबजारसँग उनले भने, ‘आन्दोलनको कारणले गर्दा करिब २५ प्रतिशत सम्म व्यवसाय गुमेको छ ।’ उनका अनुसार गत वर्षकोहरुको तुलनामा आन्तरिक पर्यटनमा पनि कमि आउने देखिएको छ ।

पर्यटन विभागका अनुसार पर्वतारोहणको समय भएको आन्दोलनले पर्यटक आवगमनमा केही हदसम्म कमी आउने देखिन्छ । देशभरि भएको आन्दोलन तोडफोडले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्नुपरेका कारण पनि केहि पर्यटक आवगमनमा स्वभाविक कमि देखिएको विभागका निर्देशक हिमाल गौतम बताउँछन् ।

उनका अनुसार अहिलेको विषम परिस्थितिमा पर्यटकहरुमा केही मानसिक असर परेको देखिएको छ । तर विभागले अलपत्र पर्यटकहरूको उद्धार सुरक्षा लगायत सम्पूर्ण काम गरेकोले खासै असर नपरेको उनको दाबी छ ।

आन्दोलनपछि अहिले देशमा नयाँ सरकार गठन भइसकेको अवस्थामा विभागले सबै कुरा सामान्य भइसक्यो भनेर सुचना प्रवाह गर्ने काम गरिरहेको गौतम बताउँछन् । साथै विभागले विभिन्न हटलाइलहरू सञ्चालनमा ल्याएर पर्यटकलाई असहज भएको अवस्थामा तुरुन्त प्रतिक्रिया दिने काम भइरहेको उनको भनाई छ ।

यस्तो विषय परिस्थितिमा नयाँ बनेको सरकारले पर्यटन क्षेत्रको उत्थानको लागि सहजीकरण गर्नुपर्ने व्यवसायीहरुको माग छ । व्यवसायीहरूका अनुसार यस्तो समयमा सरकारले व्याजमा सहुलियत दिने लगायत सहयोग गरेको अवस्थामा पर्यटन क्षेत्रमा तुरुन्तै सुधार ल्याउन सकिन्छ ।

यता विभागका निर्देशक गौतम भने सरकारले काम गरिरहेको दाबी गर्छन् । उनका अनुसार विगतमा भूकम्पको समयमा कोरोना लगायत समयमा पनि सरकारले व्यवसायीहरूलाई सुहलियत ऋण प्रदान गरेर सहयोग गरेकोमा आगामी दिनमा पनि यो प्रक्रिया जारी रहनेछ ।

प्रकाशित मिति: ६ आश्विन २०८२, सोमबार  १६ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।