दसैंको समयमा कालोबजारी, उपभोक्ता मारमा 


काठमाडौँ । केही दिनअघि बुढानीलकण्ठ ६ च्यासिङटोल निवासी पार्वती अवस्थी नजिकैको पसलमा तेल र ग्यास लिन गइन्, पसलमा पुगेपछि एकछिन उनको पसलेसँग चर्काचर्की नै पर्‍यो ।

एक हप्ता पहिलेसम्म १४० रुपैयाँमा पाइने खानेतेलको प्याकेटको १६५ रुपैयाँ पुगिसकेको थियो । पसलले उनलाई भने,’ हामीलाई नै बढेर आएको छ । यसमा मैले के गर्नु ?’ उनले ग्यास मागिन्, ग्यास पनि सकिएको जानकारी दिए । 

गत भदौ २३ र २४ मा जेनजी आन्दोलन भयो । सोही आन्दोलनको बाहना बनाएर बजारमा खाद्यान्नको कृत्रिम अभाव सिर्जना गरी चर्को मूल्यमा बिक्री गर्ने क्रम बढेको छ । दसैंका लागि उपभोग्य वस्तु किन्ने आम उपभोक्ता महँगीको मारमा परेका छन् ।

चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य वस्तु तरकारी, दाल, तेल, ग्यास लगायतका अत्यावश्यक वस्तुको अभाव देखिएको छ । बजारमा दैनिक उपभोग्य वस्तु र ग्यास सहज रुपमा पाउन नसकेको गुनासो गर्ने उपभोक्ताहरूले कालोबजारी बढेकोतर्फ ध्यानाकर्षण गराएका छन् ।

यता, खाद्य किराना व्यवसायी संघले बजारमा दैनिक उपभोग्य वस्तु र ग्यासको अभाव नभएको दावी गर्छ । संघका अध्यक्ष देवेन्द्र भक्त  श्रेष्ठका अनुसार कुनै पनि वस्तुको अभाव नभए पनि पसल बन्द भएको अवस्थामा अभाव देखिएको हो । उनी भन्छन्, ‘अहिले कुनै पनि दैनिक उपभोग्य वस्तु तथा ग्याँसको अभाव भएको छैन, तर पसल नखुलेको अवस्थामा वस्तुको ढुवानी हुन नसक्दा अभाव भएको हो ।’

चाडपर्व लक्षित गरेर पहिलेदेखिनै व्यवसायीहरुसँग भण्डारण बढी हुने भएकाले अभाव नभएको भनाइ छ । तर उपभोक्ताले सहजै रुपमा सामान नपाएको गुनासो गरिरहेका छन् । 

साथै तेल उत्पादक संघले पनि बजारमा खाने तेलको अभाव नभएको दाबी गरेको छ । 

संघका अनुसार अन्तर्राष्ट्रिय स्तरमै मूल्यवृद्धि भएर कच्चा पदार्थ महङ्गो हुँदा नेपालमा पनि त्यसको प्रत्यक्ष असरले केही महङ्गो भएपनि अभाव भने भएको छैन । नेपाल घ्यू तेल उत्पादक संघका अध्यक्ष बिकास दुगडका भन्छन्,’तेलको मूल्यमा सामान्य वृद्धि भएको छ तर बजारमा सर्टेज भएको वा हुने अवस्था छैन ।’

उनका अनुसार तेलको लागि चाहिने आवश्यक सम्पर्ण कच्चा पदार्थ आयात गर्नुपर्ने र उतै मूल्य बढेकाले नेपालमा तेलको भाउ केही बढेको छ । 

अन्तर्राष्ट्रियस्तरमै विभिन्न कारणहरुले मूल्य वृद्धि भइरहेको छ । उनी भन्छन्, ‘विगत लामो समयदेखि चलिरहेको रुस युक्रेन युद्धका कारण खाने तेलको विश्व बजार प्रभावित भएको छ । अन्तर्राष्ट्रिय स्तरमै खाने तेलको कच्चा पदार्थको मूल्य प्रतिदिन बढ्दै गएको छ ।’ 

यस्तै खाना पकाउने एलपी ग्यासको पनि अभाव नभएको भन्दै व्यवसायीहरुले हल्लाको पछाडि नलाग्न उपभोक्तालाई आग्रह गरेका छन् । एलपी ग्याँस बिक्रेता संघका अध्यक्ष ज्ञानेश्वर अर्यालले ग्यासको आपूर्ति सहज भइरहेको बताए ।

आन्दोलनका कारण केही दिन ग्यासको ढुवानी नभएपनि अहिले ढुवानी सहज बनाइ सकिएको उनको भनाइ छ । 

यता वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग भने बजार अनुगमनलाई तिव्रता दिएको बताएको छ । 

विभागका अनुसार पछिल्लो समय निरीक्षण अधिकृतहरु बजारमा अधिक्तम खुद्रा मूल्य जाँच गर्नेमा केन्द्रित भएका छन् । धेरै मुद्दा निरीक्षण अधिकृतले स्थलगत रुपमै समाधान गर्ने गरेको पनि विभागको भनाइ छ ।  

उपभोक्ताहरुलाई अधिकतम खुद्रा मूल्य भन्दा बढीमा समान बिक्री गरि ठग्ने क्रम बढेकोले एमआरपी केन्द्रित अभियान नै सञ्चालन गरेको विभाग भनाइ छ । 

 

प्रकाशित मिति: १५ आश्विन २०८२, बुधबार  १० : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।