दसैंमा लोप हुँदै चिउरा खाने चलन 


काठमाडौँ । पछिल्लो समयमा दसैंमा हुने विभिन्न संस्कृतिहरु लोप हुँदै गएको छ । पहिले पहिले गाउँघरमा चिउरा कुट्न जाने चलन बढी मात्रामा हुने गरेको थियो । पछिल्लो समय उक्त सँस्कृति लोप हुँदै गएको हो । 

मासु खान रुचाउनेहरूले चिउरा र मासु खाने र दशैं मनाउने पुरानो प्रचलन हो । 

तर विगतका केही वर्षयता दसैंमा चिउरा संस्कृति विस्तारै हराउँदै जान थालेको छ  । केही स्थानमा समुदाय विशेषले दशैंमा न्यून मात्रामा चिउरा प्रयोग गर्ने भएपनि पछिल्लो समय दशैंमा चिउरा संस्कृति हराउँदै गएको हो । 

चिउरा संस्कृती विशेष नेवारी समुदायमा महत्वको रुपमा लिने गर्छन् । नेवारी समुदायमा हरेक चाडपर्वमा चिउराको महत्व त उत्तिकै छ तर दसैंमा अझ बढी महत्व हुने गरेको मुना श्रेष्ठ बताउँछिन् । 

पछिल्लो समय बजारमा पाइने विभिन्न प्रकारका जङफुडले गर्दा चिउराको महत्व घटेको उनी बताउँछिन् । चिउरा आवश्यक त पर्छ तर पहिलाको जस्तो सबैले खान नरुचाउने कारणले कम चिउरा किन्ने गरेको उनको भनाइ छ । 

उनी भन्छिन्, ‘दशैंलाई चिउरा चाहिन्छ भनेर पाखो बारीमा घैया धान लगाउने प्रचलन समेत रहेको थियो । हरहर बास्नादार चिउराले दशैलाई नै सुगन्धित बनाउँथ्यो । तर अहिले न त घैया धानको खेती गरिन्छ, नत बास्नादार चिउराको प्रयोग नै ।’ 

विगत १० वर्षदेखि नीलकण्ठ नगरपालिका १२, पशुपति क्षेत्रमा चिउरा तथा भुजा उद्योग सञ्चालन गर्दै आएका हरिप्रसाद सापकोटा भन्छन्, ‘विगतको तुलनामा हाल चिउराको माग अति नै कम भएको छ ।’ 

उनले सुरुसुरुमा दैनिक ५०० बढी बोरा चिउरा बिक्री गर्ने गरेको र अहिले सो परिमाणको आधा पनि चिउरा निर्यात नहुने बताउँछन् । उनले सुरुमा काठमाडौं, नुवाकोट, गोरखा र धादिङमा निर्यात गर्दै आएकोमा पछिल्लो समय भने चिउराको खासै व्यापार नभएको उनी बताउँछन् ।

विगतमा सामान्य अवस्थामा भन्दा दशैंमा दोब्बर बढी परिमाणमा चिउरा बिक्री हुने गरेको थियो । तर दशैंमा चिउरा खाने चलन क्रमशः घट्दै जाँदा चिउरा उत्पादन तथा बिक्री पनि घट्न पुगेको सापकोटाले बताए । 

नेपालीहरुले चिउराले स्वास्थ्यमा असर गर्छ भन्ने धारणाले पनि कम प्रयोग भएको उनको दाबी छ, तर बजारमा पाइने जंङफुडभन्दा चिउरा खानु नै राम्रो हुने उनको अनुभव बताएका छन् । 

दशैंमा मात्रै नभई अन्य समयमा पनि चिउरालाई खाजाको रूपमा स्वीकार्ने क्रम घटेको राजेश राइस एण्ड चिउरा मिल नुवाकोटका सञ्चालक राजेश श्रेष्ठ बताउँछन् ।

उनले दशैंमा चिउराको कारोबार घटेको अनुमान गरिएको बताए । यसबाहेक सामान्य अवस्थामा पनि समाजले जंकफूडलाई प्राथमिकता दिँदै जाँदा चिउरा पछि परेको गुनासो गरेका छन् । 

पहिले पहिले दसैंको समयमा चिउरा कुट्न आउनेको भिड हुन्थ्यो तर अहिले त चिउरा कुट्न आउनै छाडे । पहिले पहिले चिउरा कुट्न भने ३/४ दिन काम गर्नु पर्‌थ्यो । अहिले १ दिनमा काम सकिने भए पनि उक्त काम प्रति चासो नै छैन । 

नयाँ जेनेरेसनका पुस्ताले चिउरालाई भन्दा जंकफूडलाई प्राथमिकता दिन थाले । जसले गर्दा चिउराको प्रचलन घट्दै गएको हो, उनले भने । 

दुई महिनामा ९ करोडको चिउरा निर्यात

पछिल्लो समय नेपालमा चिउराको संस्कृति हराउँदै गएको अवस्थामा नेपाली चिउराले विस्तारै विदेशी बजार पाउन थालेको छ ।

चालु आर्थिक वर्षको २ महिना (साउन–भदौ) महिनामा ९ करोडभन्दा बढी मूल्य बराबरको चिउरा विदेश निर्यात भएको छ । तथ्यांकअनुसार ९ करोड २७ लाख रुपैयाँको बराबरको २ लाख ७ हजार १५५ केजी चिउरा विभिन्न मूलुकमा निर्यात भएको छ । 

पछिल्लो समय नेपालीहरु विभिन्न मूलुकमा रोजगार तथा पढाईको शिलशिलामा रहँदै आएका छन् । जस कारण विदेशमा रहने नेपालीहरुले नेपाली उत्पादनलाई प्रयोगमा ल्याउँने हुँदा विभिन्न मूलुकमा चिउरा निर्यात भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सूचना अधिकारी माधव मिश्रले बताएका छन् । 

दुई महिनामा सबैभन्दा बढी चिउरा अष्ट्रेलिया निर्यात भएको छ । अष्ट्रेलियामा ५ करोड ५३ लाख ४० हजार रुपैयाँ बराबरको १ लाख १४ हजार ९५९ केजी चिउरा नियाृत भएको हो । 

त्यस्तै, अमेरिका १ करोड १५ लाख ९२ हजार, क्यानडा १ करोड ७ लाख ७३ हजार, इटाली ७६ लाख ७६ हजार, पोल्यान्ड ४८ लाख ७९ हजार, यूएइ २२ लाख ६३ हजार, मलेसिया १ लाख ६० हजार र हङकङ ६३ हजार रुपैयाँ बराबरको चिउरा निर्यात भएको विभागले जनाएको छ । 

सोही महिनामा नेपालमा भारतबाट २० लाख २७ हजार रुपैयाँ बराबरको ४७ हजार ९४० केजी चिउरा आयात भएको छ ।

 

प्रकाशित मिति: १६ आश्विन २०८२, बिहिबार  ०७ : ०३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।