५ वर्षमा ३६ अर्बको अलैँची निर्यात, वर्षैनी घट्दै उत्पादन


काठमाडौँ । नेपालले पाँच वर्षको अवधिमा ३६ अर्ब रुपैयाँ बराबरको अलैँची निर्यात गरेको छ । अलैँचीको उत्पादनमा कमी आउँदा निर्यात घटेतापनि आर्थिक वर्ष २०७७\७८ देखि २०८१\८२ सम्ममा ३५ अर्ब ७२ करोडभन्दा बढीको अलैँची निर्यात भएको हो ।

यद्यपी गत आर्थिक वर्ष (२०८१\८२)को भन्दा अघिल्लो आर्थिक वर्ष (२०८०\८१) मा धेरै मात्रामा अलैँची निर्यात भएको भन्सार विभागले जनाएको छ ।

उत्पादन घट्दा अलैँचीको निर्यात पनि स्वतः घटेको व्यवसायीहरु बताउँछन् । जलवायू परिवर्तन र रोगको प्रकोपका कारण अलैँची उत्पादनमा कमी आएको उनीहरुको तर्क छ ।

मसलाको रूपमा प्रयोग हुँदै आएको अलैँची ९८ प्रतिशत अलैँची नेपाल बाहिर निर्यात हुने गरेको छ ।

तर, समयमा पानी नपर्ने, बेमौसममा हुने भारी वर्षा लगायत कारणहरुले गर्दा अलैँचीका बोटहरुमा क्षति पुगेका कारण उत्पादन घट्दै गएको नेपाल अलैँची व्यवसायी महासंघका पूर्व अध्यक्ष निर्मल भट्टराईले बताए । यसले उत्पादनमा तीन गुणासम्म कमी आएको उनको भनाइ छ ।
यसका साथै अलैँची खेतीमा विभिन्न रोगहरुले असर गरेको र यसको सही निदान तथा उपचार पद्धतिमा कठिनाई भइरहेको छ । किसानहरुले रोगको व्यवस्थापनमा सरकारले सहयोग नगरेको कारणले गर्दा पनि उत्पादनमा कमी आएको गुनासो गरेका छन् ।

अलैँची कुनै पनि भिरालो परेको जमिन या अग्लाअग्ला रुख भएको ठाउँमा पनि खेती गर्न सकिन्छ । यसकारण अलैँची खेती गरेर खेर गएको जमिनमा सही सदुपयोग गर्न सकिन्छ साथै जमिनलाई भू–क्षय हुनबाट पनि बचाउन सकिन्छ । सरकारले यसमा ध्यान दिन सकेमा अलैँचीले नेपालको व्यापार घाटा घटाउन सहयोग गर्ने किसानहरुको भनाई छ ।

पाँच वर्षमा ३६ अर्बको निर्यात

भन्सार विभागको तथ्यांकअनुसार नेपालले ५ आर्थिक बर्ष (२०७७\७८ देखि २०८१\८२ सम्म) मा ३५अर्ब ७२ करोडभन्दा बढीको अलैँची निर्यात गरेको छ ।

गत आर्थिक वर्ष २०८१\८२ मा नेपालले ७ अर्ब ६८ करोड रुपैयाँभन्दा धेरैको अलैँची निर्यात गरेको थियो । गत वर्ष नेपालबाट ४३ लाख १ हजार किलोग्राम अलैँची निर्यात भएको थियो ।

यस्तै, अघिल्लो आर्थिक वर्ष २०८०\८१मा नेपालबाट ७ अर्ब ९३ करोड ८१ लाख रुपैयाँको अलैँची निर्यात भएको थियो । उक्त अवधिमा ५० लाख १७ हजार किलोग्राम अलैँची निर्यात भएको थियो । जुन, आर्थिक वर्ष २०७९÷८०को तुलनामामूल्य र परिमाणका आधारमा समेत न्यून हो ।

आर्थिक वर्ष २०७९\८० मा ९९ लाख ९० हजार किलोग्राम अलैँची ८ अर्ब २७ करोड ६५ लाख रुपैयाँमानिर्यात भएको थियो । जुन परिमाण र मूल्यदुबै हालसम्मकै उच्च हो ।

त्यसैगरी, आर्थिक वर्ष २०७८\७९मा नेपालबाट ४ अर्ब ८१ करोड रुपैयाँ बराबरको ५३ लाख ६७ हजार किलोग्राम अलैँची निर्यात भएको थियो । यस्तै, आर्थिक बर्ष २०७७\७८ मा ७ अर्ब १ करोड रुपैयाँ बराबरको ८८ लाख ४२ हजार किलोग्राम अलैँची निर्यात भएको थियो ।

नेपालबाट पाकिस्तान, जर्मन, इटाली, अष्ट्रेलिया, जापानलगायत विभिन्न मूलुकमा अलैचीनिर्यात हुने गरेको छ । विभिन्न मुलुकमा अलैची निर्यात भएता पनि अधिकांश अलैची भारत निर्यात हुने गरेको छ ।

चालु आर्थिक वर्षको २ महिनामा नेपालबाट भारततर्फ ८५ करोड ९६ लाख बराबरको ५ लाख २२ हजार किलोग्राम अलैँची निर्यात गरेको छ ।

कोशी प्रदेश सरकारले पनि बजेट छुट्याएर अलैँची खेती विस्तार गर्ने कार्य भएको उनको भनाई छ ।

उत्पादन घट्दा आयात बढ्यो

भन्सार विभागका अनुसार नेपालमा अलैँचीको उत्पादन घट्दा आयात बढेको छ । गतआर्थिक वर्ष २०८१\८१ माभारतबाट ५५ लाख ८५ हजार रुपैयाँ बराबरको ८ हजार १८ किलोग्राम अलैँची आयात भएको थियो । जुन अघिल्लो आव २०८०\८१ को तुलनामा ७ हजार किलोग्राम बढी हो ।

अघिल्लो आव २०८०\८१ मा ४६ हजार रुपैयाँको २३४ किलोग्राम मात्र आयात भएको थियो । आव २०७९\८० मा ५ हजार रुपैयाँको ३ केजी, आव २०७८\७९ मा ३ लाख ४ हजार रुपैयाँको १७५ केजी र २०७७\७८ मा ६९ लाख ३७ हजार रुपैयाँको ६ हजार २९३ केजी अलैँची आयात भएको थियो । सो समयमा नेपालमा उत्पादन भएपनि भारतबाट अन्य सामान बढी मात्रामा आयात हुँदा अलैँची पनि आयात हुने गरेको पूर्व अध्यक्ष भट्टराईको भनाई छ ।

उत्पादन घटेपनि मूल्य बढ्दा किसान उत्साहित

पछिल्लो समय उत्पादन घटे पनि मूल्य बढ्दा किसानहरू भने उत्साहित भएका छन् । अध्यक्ष पूर्व भट्टराईका अनुसार विगत ३÷४ वर्षको तुलनामा हालको समयमा अलैँचीको मूल्य दोब्बरले बढेको छ । गत वर्ष यही समयमा प्रतिमन (४० किलो) ९० हजार रुपैयाँ रहेकामा यसपटक भन ८० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

पछिल्लो समय कृषि मन्त्रालयबाट बजेट पनि छुट्याईको छ र किसानहरुलाई पनि प्रोत्साहनगर्ने कार्य भएको छ । अब भने अलैँचीको उत्पादन बढ्ने अनुमान गरिएको छ । सबैभन्दा बढी अलैँची उत्पादन हुने कोशी प्रदेश हो । कोशी प्रदेश सरकारले पनि बजेट छुट्याएर अलैँची खेती विस्तार गर्ने कार्य भएको उनको भनाई छ । यसले गर्दा अलैँचीको उत्पादन फेरि बढ्ने किसानहरुको विश्वास छ ।

नेपालमा पूर्वी पहाडबाट अलैँचीको खेती सुरु भएको पाइन्छ । नेपालमा ‘डम्मरसाई’, ‘रामसाई’, ‘चिवेसाई’, ‘गोलसाई’, ‘राम्ला’, ‘साउने’ लगायतकाजातको अलैँची खेतीगरिदैँ आएको छ। अलैँची पूर्वी पहाडी जिल्लाका किसानको आम्दानीको भरपर्दो स्रोत हो । सङ्खुवासभा, पाँचथर, ताप्लेजुङ, इलाम, र धनकुटासहित पहाडी र उच्च पहाडी जिल्लामा यसको उत्पादन हुने गरेको छ ।

प्रकाशित मिति: २३ आश्विन २०८२, बिहिबार  १४ : १२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।