बंगलादेशले कच्चा जुट निर्यातमा प्रतिबन्ध लगाउँदा नेपाली उद्योग संकटमा


काठमाडौं । बंगलादेश सरकारले कच्चा जुट (पट्वा) निर्यातमा प्रतिबन्ध लगाएको छ । बंगलादेशले आन्तरिक बजारलाई बलियो बनाउन र मूल्य वृद्धि नियन्त्रण गर्नको लागि जुट निर्यातमा प्रतिबन्ध लगाएको हो ।

जसले गर्दा नेपाली उद्योगहरु संकटमा परेका छन् । नेपालले ठूलो परिमाणमा बंगलादेशबाट कच्चा जुट आयात गरेर भारतलगायतका बजारमा जुट निर्यात गर्ने गरेको छ । तर, बंगलादेशले निर्यातमा प्रतिबन्ध लगाएपछि जुट उद्योगहरु नै बन्द गर्नुपर्ने अवस्था आएको हो ।

नेपालका जुट उद्योगहरुलाई वार्षिक करिब ८० हजार टन कच्चा जुट आवश्यक पर्छ । जसमध्मे करिब १५ देखि २० हजार टन मात्र नेपालमा उत्पादन हुन्छ भने बाँकी करिब ६० देखि ६५ हजार टन कच्चा जुट आयात हुने गरेका छ । बंगलादेशको जुट सस्तो पर्ने भएकोले नेपाली उद्योगहरु बंगलादेशबाटै आयात गरेर उत्पादनको करिब ९९ प्रतिशत भारतमा बिक्री गर्दै आएका छन् ।

तीन दशक अगाडिसम्म सुनसरी, मोरङ र झापा जिल्ला जुट खेतीका लागि प्रसिद्ध क्षेत्र मानिन्थ्यो । तर, जुट खेतीबाट भन्दा कच्चा जुट आयात गर्न सस्तो पर्ने भएकोले त्यहाँ पनि अहिले कम उत्पदन हुन थालेको छ ।

विगतमा बंगलादेशबाट निसर्त रुपमा जुट निर्यात हुने गरेकोमा अहिले त्यहाँको सरकारले निर्यातमा प्रतिबन्ध लगाउँदा नेपालका उद्योगीहरुले जुटको कच्चापदार्थ आयात गर्न सकेका छैनन् ।

उद्योग बन्द भएको अवस्थामा हाम्रो जुटमिलहरुमा करिब १५ हजार भन्दा बढी कामदारहरु काम गर्छन्, उनीहरुले रोजगारी गुमाउने अवस्था आएको छ ।

बंगलादेशको वाणिज्य मन्त्रालयले सेप्टेम्बर ८ मा बंगलादेश जुट एसोसिएसनलाई कच्चा जुट निर्यातलाई सर्सत बनाउन निर्देशन दिएको थियो । उक्त निर्देशन लगत्तै जुटको कच्चापदार्थ निर्यात सम्बन्धी एलसी, टीटी सम्झौतालगायत सबै कागजात वाणिज्य मन्त्रालय र एसोसिएसनको कार्यालयमा बुझाउन निर्यातकर्तालाई निर्देशन दिएको थियो ।

त्यसपछि बंगलादेशबाट जुट निर्यात हुन सकेको छैन । उद्योगीहरुका अनुसार सेप्टेम्बर ७ मा भुक्तानी भइसकेको र एलसी खोलिएकोमा ९० टन कच्चा जुटलाई बंगलादेश सरकारले ३ दिनपछि रोकेको थियो र त्यसपछि निर्यातको अनुमतिमा रोक लगाएको छ । बंगलादेशको यो निर्णयले नेपालका जुट निर्यात गर्ने उद्योगहरु धरासायी हुने देखिएको छ । नेपालले वार्षिक करिब ९ अर्ब रुपैयाँ बराबरको जुटबाट निर्मित सामग्री निर्यात गर्छ । अब यो निर्यातमा पनि गम्भिर असर पर्ने देखिएको छ ।

नेपाल जुट उद्योग संघका उपाध्यक्ष तथा स्वस्तीक जुट मिल्सका सञ्चालक रमेश राठीका अनुसार साउन १५ गतेदेखि जुट उत्पादनको नयाँ सिजन सुरु हुन्छ । भारतको भन्दा बंगलादेशको जुट प्रतिकिलो १० देखि १५ रुपैयाँसम्म सस्तो हुन्छ । तर पछिल्लो समय भारतमा पनि जुटको कच्चापदार्थ उत्पादनमा कमि आएको छ । यसले गर्दा नेपालका उद्योगहरु बन्द हुने अवस्था आएको उनको भनाई छ । राठीले भने,“उद्योग बन्द भएको अवस्थामा हाम्रो जुटमिलहरुमा करिब १५ हजार भन्दा बढी कामदारहरु काम गर्छन्, उनीहरुले रोजगारी गुमाउने अवस्था आएको छ ।”

बंगलादेशबाट कच्चा जुटको आयात नहुँदा र भारतबाट आयात गर्नुपर्दा भारतीय उद्योगहरुसँग प्रतिपस्र्धा गर्न नसकिने उद्योगीहरुको गुुनासो छ । उपाध्यक्ष रमेश राठीले भने, “बंगलादेशले कच्चा जुट निर्यात नगरेमा नेपालमा रहेका उद्योगहरु २ देखि ३ महिना भित्रमा बन्द हुनेछन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव बुद्धि प्रसाद उपाध्यायले नेपाल सरकारले कुटनीतिक पहल गरिसकेको बताए । यता, नेपाल जुट उद्योग संघका अध्यक्ष राजकुमार गोल्छाले जुट निर्यातमा बैगलादेशी पक्ष सकारात्मक देखिए पनि कहिले आयात खुल्छ भन्ने निश्चित नभएको बताए । जसले गर्दा नेपाली उद्योगीहरु चिन्तामा छन् ।

यस्तो छ आयात निर्यातको अवस्था

चालु आर्थिक वर्षको दुई महिनामा नेपालले ७० लाख ९० हजार ८५ केजी कच्चा जुट ८३ करोड ६४ लाख २० हजार रुपैयाँमा आयात गरेकोमा ६४ लाख २९ हजार ६९० केजी कच्चा जुट ७५ करोड ३२ लाख ६२ हजार रुपैयाँमा बंगलादेशबाट मात्र आयात गरेका छ ।

विभागको तथ्यांक हेर्दा ६४ लाख केजी जुट बंगलादेशबाट आयातगर्दा ७५ करोड रुपैयाँ तिर्नुपरेको छ भने बाँकी करिब ६ लाख केजी जुट अन्यत्रबाट आयात गर्दा ८ करोड रुपैयाँ परेको छ ।

यो अवधिमा नेपालले १ अर्ब ७३ करोड ४४ लाख ६८ हजार रुपैयाँका जुटबाट उत्पादित वस्तु निर्यात गरेको छ ।

गत आर्थिक वर्ष २०८१\८२ मा नेपालले ५ करोड १ लाख ४५ हजार ५५१ केजी कच्चा जुट ५ अर्ब १६ करोड रुपैयाँमा आयात गरेको थियो । जसमध्ये बंगलादेशबाट मात्र २ करोड ६३ लाख ५७हजार ७४० केजी कच्चा जुट २ अर्ब ६८ करोड ३१ लाख ८४ हजार रुपैयाँको आयात भएको थियो । गत आर्थिक वर्षमा नेपालबाट ८ अर्ब ५६ करोड १४ लाख ९६ हजार रुपैयाँको जुटबाट उत्पादित वस्तुको निर्यात भएको थियो ।

अघिल्लो आर्थिक वर्ष २०८०\८१ मा नेपालले ४ करोड ४४ लाख ९६ हजार ८८३ केजी कच्चा जुट ३ अर्ब ७३ करोड ४० लाख ६३ हजार रुपैयाँमा आयात गरेको थियो, जसमध्ये बंगलादेशबाट मात्र २ करोड ३७ लाख ३५ हजार केजी कच्चा जुट १ अर्ब ९२ करोड २३ लाख १६ हजार रुपैयाँमा आयात भएको थियो ।

उक्त आर्थिक वर्षमा नेपालले ७ अर्ब ४ करोड २७ लाख २७ हजार रुपैयाँका जुटबाट उत्पादित वस्तु निर्यात गरेको थियो ।

यस्तै आर्थिक वर्ष २०७९\८० मा ४ अर्ब ६७ करोड ८२ लाख १९ हजार रुपैयाँको ४ करोड ७१ लाख ४८ हजार ९५५ केजी कच्चा जुट आयात भएको थियो । जसमा बंगलादेशबाट मात्र १ अर्ब २९ करोड ६९ लाख १९ हजार रुपैयाँमा १ करोड ३१ लाख ९८ हजार केजी कच्चा जुट आयात भएको थियो । उक्त आर्थिक वर्षमा नेपालले ७ अर्ब ६४ करोड ३३ लाख ४३ हजार रुपैयाँको जुटबाट निर्मित वस्तुको निर्यात भएको थियो ।

तर पछिल्लो समय बंगलादेशले जुट आयातमा लगाएको प्रतिबन्धले नेपालको व्यापार घाटा बढ्ने हजारौंले रोजगारी गुमाउने र नेपालमा रहेका जुट उद्योगहरु बन्द हुने अवस्था आएकोले यसमा सरकारले तुरुन्त आवश्यक पहलकदमी गर्नुपर्ने उद्योगीहरुको भनाई छ । यस विषयमा उद्योगहरुले अर्थमन्त्री रामेश्वर खनाललाई भेटेर ध्यानाकर्षण गरिएको बताउँदै उनले यो समस्याको तत्काल समाधान आउनेमा आफुहरु विश्वस्त रहेको बताए ।

प्रकाशित मिति: २४ आश्विन २०८२, शुक्रबार  ०७ : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।