तिहारमा ४० करोड रुपैयाँको फूलमालाको कारोबार हुने अनुमान, व्यवसायी भन्छन् – माग धान्न मुस्किल छ


काठमाडौँ । सिद्धलेक गाउँपालिका–१ का राजन तिमल्सिनाको बारीमा यतिबेला ढकमक्क सयपत्री र मखमली फूल फुलेको छ । विगत ५ वर्षदेखि उनले करिब ३ रोपनी जग्गामा फूलखेती गर्दै आएका छन् ।

अन्य समयमा सहकारीको साधारण सभा, जिल्लामा हुने कार्यक्रममा समेत फूलको माला बेच्दै आएका उनलाई यस वर्ष भने तिहारको माग धान्न मुश्किल छ । ‘फूल फूलाउनु मात्र पर्दो रहेछ, किन्ने व्यापारी बारीमै आउँछन्’, उनले भने । ‘यस वर्ष तिहार अलि छिटो भएको र सर्वसाधरणको बारीमा राम्रो सँग फूल नफूलेका कारण फूलको माग बढी रहेको हो ।’

‘तिहारका लागि फूल राखिदिनु पर्यो भन्दै फोन गरेर नाम टिपाउने दैनिक १० देखि १५ जना छन्’, व्यवसायी तिमल्सिनाले भने्, ‘विगतको तुलनामा खेती कम गरियो माग बढ्यो । माग धान्न समस्या पर्ने भयो । मालाको अडर आइरहेको छ ।’

‘हामी तिहारमा माला उनेर बेच्न भ्याउँदैनौँ’, उनले भने, ‘बारीमा आएर आफैँले फूल टिप्नु हुन्छ । प्रतिथुङ्गा ३ रुपैयाँ गरेर रकम लिन्छौँ ।’ सयपत्री फूलको खेती थोरै लगानीमा धेरै आम्दानी हुने उनको बुझाइ छ ।

यस वर्षको तिहारमा ४० करोड रुपैयाँ बराबरको फूल तथा मालाको कारोबार हुने अनुमान गरिएको छ । पुष्प व्यवसायीहरुको छाता संस्था नेपाल फ्लोरिकल्चर एसोसिएसनका अनुसार उक्त मात्रामा फूलमालाको कारोबार हुने अनुमान गरिएको हो ।

नेपालमा फूलखेतीमा देखिएको आर्कषणका कारण मागको ९० प्रतिशत हिस्सा भने नेपाली फूलको उत्पादनले नै धान्ने एसोसिएसनको दाबी छ ।

तिहार सुरु केही समय अगाडीदेखि नै फूल टिप्न र माला बुन्नका लागि किसानहरुले तयारी थालिसकेको एसोसिएसनले जनाएको छ ।
गत वर्ष ३७ करोड बराबरको फूलको कारोबार भएको फ्लोरिकल्चर एसोसिएसनका राजेश भक्त श्रेष्ठले बताए । उनका अनुसार यस वर्षको तिहारमा ४६ लाख फूलको माला खपत हुने अनुमान गरिएको छ । गत वर्ष ४५ लाख फूलको माला खपत भएको थियो ।

गोदावरी फूलको मालाको औसत प्रतिथोक मूल्य १२ सय रुपैयाँ रहने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

यस वर्ष ३ लाख बढी मखमली फूलको माला खपत हुने अनुमान गरिएको छ । मखमली मालाको औसत थोक मूल्य ४५ रुपैयाँ रहेको छ । सबै माग आन्तरिक उत्पादनले धान्ने र ५ करोड बराबरको मखमली फूलको मालाको कारोबार हुने अनुमान गरिएको श्रेष्ठले जानकारी दिए ।
मखमली फूल कहिले न ओइलिने भएकोले यसलाई दिर्घायु र स्वस्थ जीवनको प्रतिकको रुपमा लिइन्छ । त्यसैले यस फूलको माला तिहारको अवसरमा दिदिबहिनीले दाजुभाइको लामो आयुको कामना गरी लागाइ दिन्छन् । जसका कारण मखमली फुलको माग पनि बढी मात्रामा हुने गरेको हो ।

तिहारमा गोदावरी फूलको मालाको पनि माग हुने गर्छ । यस वर्षको तिहारमा २ करोड रुपैयाँ बराबरको २० हजार गोदावरी फूलको मालाको बिक्री हुने अनुमान गरिएको छ ।

गतवर्ष तिहारमा देशभर ४० लाख सयपत्री फूलको माला खपत भएको थियो । यस्तो माला यस वर्ष पनि सोही हाराहारीमा खपत हुने अनुमान गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । गत वर्षकै हाराहारीमा माला खपत हुने देखिए पनि मूल्यमा भने सामान्य वृद्धि हुने भएको छ । यस वर्ष सयपत्री फूलको मालाको औसत प्रतिथोक मूल्य ८५ रुपैयाँ रहेको छ । गत वर्ष यस्तो मूल्य ८० रुपैयाँ थियो ।

तिहारमा गोदावरी फूलको मालाको पनि माग हुने गर्छ । यस वर्षको तिहारमा २ करोड रुपैयाँ बराबरको २० हजार गोदावरी फूलको मालाको बिक्री हुने अनुमान गरिएको छ । गोदावरी फूलको मालाको औसत प्रतिथोक मूल्य १२ सय रुपैयाँ रहने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
एसोसिएसनका अनुसार नेपालमा हरेक वर्ष पुष्पखेती फैलिंदै गएको छ । खेती र उत्पादन बढेसँगै पुष्प कारोबार पनि वृद्धि भइरहेको छ ।
यस वर्ष ललितपुरको जावलाखेलमा असोज २९ गतेदेखि कात्तिक २ गतेसम्म गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुँदैछ । पुष्प उत्पादक कृषकहरूको आफ्ना उत्पादनको बजार क्षेत्र सीमित रहेकाले यस्ता प्रदर्शनीको आयोजनाबाट पुष्प प्रेमी उपभोक्ताहरू बढ्ने श्रेष्ठले बताए ।

‘तिहार र छठ पर्वलाई लक्षित गर्दै १८ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी आयोजना गरेका छौँ । प्रदर्शनीले गोदावरी फूलको व्यावसायिक विकास, विस्तार र प्रवद्र्धनमा सघाउ पुग्ने विश्वास एसोसिएसनले लिएको छ।

सयपत्री, मखमली, सिजनल फूलका बिरुवा, बीउबिजन, मल खाद र कृषि औजारसमेत प्रदर्शनीमा राखिने छ । सो प्रदर्शनी ४२ हजारभन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको र १ करोड ३० लाखभन्दा बढीको कारोबार हुने अपेक्षा रहेको अध्यक्ष श्रेष्ठले बताएका छन् ।
तिहारकै लागि भनेर वर्षेनि सर्वसाधारणहरू गाउँमा होस् या शहरमा फूल रोप्ने गर्छन् । काठमाडौँ उपत्यका आसपासका किसानले आर्थिक उपार्जनका लागि नै फूल खेती गर्छन् ।

प्रकाशित मिति: ३१ आश्विन २०८२, शुक्रबार  ०८ : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।