महंगी बढेपनि घटेन सुनको आयात, गत वर्षको भन्दा ५०० प्रतिशत बढी सुन भित्रियो


काठमाडौं । चालु आर्थिक वर्षमा सुनको आयात बढेको छ । चालु आर्थिक वर्षको तिन महिनामा सुनको आयात ५०१ केजीले बढेको हो । भन्सार विभागका अनुसार चालु आवको तिन महिना (साउन देखि असोज सम्म)मा ६०१ केजी सुन १० अर्ब २५ करोड ३२ लाख ८५ हजार रुपैयाँ बराबरको आयात भएको छ ।

यो अघिल्लो आवको सोही अवधिको तुलनामा ५ सय प्रतिशतले बढी हो । चालु आवमा उक्त मात्रामा सुन आयात हुँदा सरकारले १ अर्ब २ करोड ५३ लाख २९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
गत आर्थिक वर्षको तिन महिनामा १०० केजी सुन १ अर्ब ४ करोड ३२ लाख ८९ हजार रुपैयाँमा आयात भएको थियो ।

यस्तै चालु आर्थिक वर्षको तिन महिनाको अवधिमा ७ करोड १५ लाख ७१ हजार रुपैयाँ बराबरका करिब ५ किलो सुनका गहना आयात भएको छन् । उक्त मात्रामा सुनका गहना आयात हुँदा सरकारले ३३ लाख ८८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

यस्तै गत आर्थिक वर्षको सोहि अवधिमा १३.५७८ केजी सुनका १४ करोड ७३ लाख २१ हजार रुपैयाँमा आयात भएका थिए । यो तथ्यांक हेर्दा सुनको मूल्य निरन्तर बढ्दै गएपनि नेपाली बजारमा पनि सुनप्रति लगानीकर्ताको आकर्षण बढ्दै गएको देखाउँछ । नेपाल सुन चाँदी व्यवसायी महासंघले आइतबार सुनको मूल्य प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँ कायम गरेको छ ।

पछिल्लो समय सुनको भाउमा आएको स्थायित्व र लगानीमा देखिएको सुरक्षित विकल्पका कारण धेरै लगानीकर्ताले सुनतर्फ ध्यान केन्द्रित गरेको जानकारहरुको बुझाई छ । यसका साथै पछिल्लो समय सेयर बजारमा आएको लगातारको गिरावटले पनि लगानीकर्ताहरु विकल्पको रुपमा सुनमा केन्द्रित भएका छन् । गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालु आर्थिक पहिलो त्रैमासमा सेयर कारोबारमा ४०.३३ प्रतिशतले गिरावट आएको छ । यी विविध कारणहरुले सुन आयातमा उल्लेख्य वृद्धि भएको हो ।

गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सुनको माग उल्लेख्य रूपमा वृद्धि भएको छ । बजारमा माग बढे पनि आपूर्ति सीमित रहँदा विगतका वर्षहरुमा सुनको अभाव देखिएको व्यापारीहरुको भनाई छ । यही अवस्थालाई मध्यनजर गर्दै सरकारले सुन आयात कोटा बढाउने निर्णय गरेको थियो ।

गत आर्थिक वर्षमा आयात कोटा सीमित हुँदा सुनको आपूर्ति कमजोर रहेको व्यापारीहरु बताउँछन् । त्यसमाथि आर्थिक गतिविधिमा देखिएको सुस्तताका कारण लगानीकर्ताले पनि सुन बेचेर अन्य क्षेत्रमा पूँजी लगानी गरेका थिए । त्यसकै असर स्वरूप गत आवको पहिलो त्रैमासमा सुन आयात घटेको देखिएको थियो ।

तर चालु आर्थिक वर्षमा परिस्थिति केही सकारात्मक बनेको छ । विदेशी मुद्रा सञ्चितिमा सुधार आएपछि राष्ट्र बैंकले सुन आयातका लागि सहज व्यवस्था गर्न थालेका छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य क्रमशः बढ्दै गएकोले पनि सुनप्रति लगानीकर्ताको चासो थप बढेको अर्थविद्हरूको भनाइ छ ।

नेपाल राष्ट्र बैंकले हाल दैनिक सुन आयात कोटा २० किलोबाट बढाएर २५ किलो पु‍¥याएको छ । यसले बजारमा आपूर्ति सहज बनाउन सहयोग पु‍¥याउने अपेक्षा गरिएको छ । बैंकहरूले आयात गरेको सुनलाई व्यवसायीहरूले खरिद गरी गहनाको रूपमा सर्वसाधारणलाई बिक्री गर्दै आएका छन् ।

सुन बजारका जानकारहरूका अनुसार हालको मूल्य स्तर र लगानी प्रवृत्तिले निकट भविष्यमा पनि सुनको माग उच्च रहने अनुमान गरिएको छ । अर्थतन्त्रमा देखिएको क्रमिक सुधार र लगानीकर्ताको मनोवृत्तिले सुन बजारमा थप चलायमानता ल्याउने विश्लेषकहरूको भनाई छ ।

यता, तीन महिनाको अवधिमा १ हजार किलो चाँदी आयात भएको छ । २० करोड १३ लाख रुपैयाँ बराबरको चाँदी आयात भएको हो । यस्तै, उक्त अवधिमा १ अर्ब ६१ करोड ३४ लाख रुपैयाँको ८ हजार १३० किलो चाँदीको धुलो आयात भएको विभागले जनाएको छ ।

प्रकाशित मिति: १० कार्तिक २०८२, सोमबार  ०८ : २१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।