अलैँचीको ऐतिहासिक मूल्यवृद्धि भएपनि उत्पादन घट्दा किसान मर्कामा


काठमाडौ । देशकै प्रमुख नगदेबाली अलैँचीको मूल्य यस वर्ष ऐतिहासिक रूपमा बढ्दै प्रतिमन एक लाख रुपैयाँ नाघेको छ । पछिल्ला दिनहरुमा लगातार मूल्य वृद्धि भएपछि किसानहरू उत्साहित बनेका छन् ।

‘कालो सुन’ को उपनामले चिनिने अलैँचीको योगदान अन्तराष्ट्रिय बजारमा विशेष छ । यो नेपालले निर्यात मात्र गर्ने र आयात नगर्ने एकमात्र कृषिजन्य वस्तु हो । ‘कालो सुन’ भनेर चिनिने अलैँचीको निर्यातबाट हरेक वर्ष देशले अर्बौं रुपैयाँ विदेशी मुद्रा आर्जन गर्दै आएको छ ।

पछिल्ला केही वर्षयता नेपालले अलैँची व्यापारमा राम्रो प्रगति गरिरहेको छ । यस वर्ष पनि अलैँची बिक्रीको मौसम सुरु हुनासाथ बजार मूल्यमा वृद्धि देखिएको नेपाल अलैँची व्यवसायी महासंघले जनाएको छ ।

नेपालको अलैँची बजारमा यतिबेला उत्साह र चिन्ता दुवै देखिएको छ । पछिल्लो समय अलैँचीको मूल्यमा भएको वृद्धिले किसानलाई थप आशावादी बनाएको छ । तर अर्काेतिर दीर्घकालीन चुनौतीका रूपमा रहेको घट्दो उत्पादकत्व र रोगको प्रकोप उद्योगका लागि भने चिन्ता थपेको नेपाल अलैँची व्यवसायी महासंघका अध्यक्ष दिपक नेपालको भनाई छ ।

नेपालका अनुसार अहिले औलो क्षेत्रका किसानले अलैँची बजारमा पु¥याइसकेका छन् भने लेकाली क्षेत्रका किसानले भर्खर भट्टीमा सुकाउने प्रक्रिया सुरु गरेका छन् । ‘मूल्य अझै उच्च छ, किसानहरू लाभान्वित भएका छन्,’ उनले भने, ‘अलैँचीलाई त्यसैले ‘खोल्साको सुन’ भनिन्छ ।’

नेपालका ४२ जिल्लामा अलैँची खेती हुने गरे पनि कोशी प्रदेशका पाँचथर, ताप्लेजुङ, इलाम, सङ्खुवासभा, खोटाङ, भोजपुर र तेह्रथुम प्रमुख उत्पादक जिल्लाहरू हुन् । नेपालमा उत्पादित अलैँचीको करिब ९० प्रतिशत भारत निर्यात हुने गरेको छ । भारतमा पुग्ने बित्तिकै त्यहाँ ‘ब्रान्डिङ’ भएर विश्व बजारमा पुनःनिर्यात हुने गरेको व्यवसायीहरूको भनाइ छ । नेपाली अलैँचीले अझै विश्व बजारमा आफ्नै पहिचान बनाउन नसकेको नेपालको गुनासो छ ।

‘हालको मूल्यवृद्धिले किसानहरूलाई राहत र उत्साह त दिएको छ तर दीर्घकालीन स्थायित्वका लागि उत्पादन गुणस्तर, प्रशोधन र प्रत्यक्ष निर्यात क्षमता विकासमा सरकारले ध्यान दिनु आवश्यक छ ।’ नेपालले भने, ‘पछिल्लो समय भारतमा अलैँची उत्पादन कम भएको र अन्तर्राष्ट्रिय बजारमा माग बढेकाले नेपाली अलैँचीको मूल्य बढेको हो ।’

उनले भने, ‘गत वर्षको तुलनामा यसवर्ष अलैँचीको मूल्य अत्याधिक बढ्दा किसान खुसी भएका छन् । अधिकांश किसानले प्रतिमन लाख रुपैयाँ बढीमा अलैँची बिक्री गरेका छन् । ’ अलैँचीको मूल्य पाँच वर्षयताकै राम्रो भएको उनको भनाइ छ । प्रत्येक वर्ष भदौदेखि मङ्सिरसम्म अलैँची टिप्न सुरु हुन्छ भने त्यसपछि बिक्री सुरु हुन्छ ।

तर यस वर्ष अलैँचीको उत्पादन घटेको छ । यसरी उत्पादन घट्नुको मुख्य कारण समयमा पानी नपर्ने, बेमौसममा हुने भारी वर्षा लगायत कारणहरुले गर्दा अलैँचीका बोटहरुमा क्षति पुगेका कारण उत्पादन घट्दै गएको किसानहरुको गुनासो छ ।

यसका साथै अलैँची खेतीमा विभिन्न रोगहरुले असर गरेको र यसको सही निदान तथा उपचार पद्धतिमा कठिनाई भइरहेको छ । किसानहरुले रोगको व्यवस्थापनमा सरकारले सहयोग नगरेको कारणले गर्दा पनि उत्पादनमा कमी आएको गुनासो गरेका छन् । नेपालमा उत्पादित वस्तुको निर्यात बढाउँदा नेपालको निर्यातदर वृद्धि भई नेपालको व्यापार घाटा पनि कम हुने र अर्थतन्त्रमा पनि सुधार हुने भएपनि सरकारी तर्फबाट कुनै पहल नभएको किसानहरुको गुनासो छ ।

तर मन्त्रालयले अलैँचीमा लागेको रोगको निदान र किसानलाई प्रोत्साहनका कार्यक्रम भइरहेको जनाएको छ ।

पाँच वर्षको अलैँची निर्यातको अवस्था

भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८२\८३ को तीन महिना (साउन–असोज) सम्म १ अर्ब ६७ करोड ९१ लख रुपैयाँको १० लाख ७२ हजार किलोग्राम अलैँची निर्यात भएको छ ।
आव २०८१\८२ को सोही अवधिमा नेपालले ७ लाख ८३ हजार किलो अलैँची निर्यात गरी १ अर्ब २६ करोड २१ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

त्यसैगरी, आव २०८०\८१ को ३ महिनामा १ अर्ब ८९ करोड ७ लाख रुपैयाँ बराबरको १५ लाख १५ लाख २५ हजार किलोग्राम अलैँची निर्यात भएको विभागको तथ्यांकमा उल्लेख गरिएको छ । आव २०७९\८० मा १४ लाख ९६ हजार किलोग्राम अलैँची निर्यात गरेर नेपालले १ अर्ब २० करोड ६१ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

आव २०७८\७९ मा १ अर्ब २८ करोड ३१ लाख रुपैयाँ बराबरको १५ लाख ५२ हजार किलोग्राम अलैँची निर्यात भएको विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।

पछिल्ला समयमा अलैँचीको मूल्यमा आएको वृद्धिले किसानहरूमा उत्साह ल्याएको छ । यद्यपि उत्पादन घट्दै जानु र रोगको प्रकोप बढ्नु दीर्घकालीन चुनौती बनेको छ । विशेषज्ञहरूका अनुसार स्थायी लाभका लागि गुणस्तरीय उत्पादन र अन्तर्राष्ट्रिय बजारमा ‘नेपाली ब्रान्ड’ विकास गर्न अब सरकारले ठोस पहल गर्नुपर्ने आवश्यकता छ ।

प्रकाशित मिति: १४ कार्तिक २०८२, शुक्रबार  ०८ : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।