काठमाडौँ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै नेपाली बजारमा पनि त्यसमा प्रभाव परेको छ । यसरी सुनको मूल्यमा निरन्तर बढोत्तरी हुँदा सुनको गहना बनाउँदा विभिन्न विषयमा ध्यान पुर्याउनुपर्ने हुन्छ ।
सुन किन्दा सुनको शुद्धता लगायतका विषयमा ध्यान पुर्याउन नसक्दा ठगिने सक्ने हुन्छ । सुन किन्दा पहिलो त क्यारेटको नाममा ठगिने गरेका छन् । ति विषयमा विशेष ध्यान दिनुपर्ने नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मणिकरत्न शाक्यले बताएका छन् ।
त्यसपछि गहना बनाउन लाग्ने ज्यालामा पनि उपभोक्ता ठगिने गरेको पाइएको शाक्य बताउँछन् । आज बनाएको गहना केही समयपछि बिक्री गर्न जादा सुन व्यवसायीले गहना बनाएको ज्याला भनेर ५ देखि १० प्रतिशत पैसा काट्ने गर्छन् । जुन कुरा बिल मै उल्लेख हुनुपर्छ र हुन्छ । तर कसैकसैले बिलमा उल्लेख गरेनन् भने ग्राहकले यसबारे चासोका साथ सोधखोज गर्नुपर्नेमा जोड दिए ।
सकेसम्म कम भन्दा कम ‘मेकिङ चार्ज’ भएको गहना खरिद गर्दा घाटा व्यहोर्नु पर्दैैन । ‘मेकिङ चार्ज’ बढी हुने गहनामा शुद्धताको समेत समस्या हुने गरेको उनको दाबी छ ।
नेपाली बजारमा तिहारपछिका दिनहरुमा सुनको मूल्यमा गिरावट आएता पनि पुन हाल दिनप्रतिदिन सुनमा मूल्य बढोत्तरी भइरहेको छ । केही मात्रामा गिरावट आए पनि भारी गिरावट भने नआउने केही समय सुनचाँदीको मूल्यमा बढोत्तरी नै हुने शाक्यको तर्क छ ।
शाक्यका अनुसार नेपालीहरुले सुनचाँदीमा लगानी गर्ने प्रावधान नभए पनि गहना बनाउँदा घाटा हुने सम्भावना कम रहेको छ । यसरी गहना बनाउँदा भने विभिन्न विषयमा ध्यान दिनुपर्ने हुन्छ ।
यी हुन् सुनचाँदीका गहना किन्दा भुल्नै नहुने कुरा
मेकिङ चार्ज
सुनको मुल्य जति भएपनि हामीले गहना किन्दा त्यति नै मूल्यमा पाउँदैनौं । किन भने त्यसमा मेकिङ चार्ज जोडिएको हुन्छ । फरक फरक गहनामा यो मेकिङ चार्ज फरक फरक हुन्छ । कुनै पनि गहना खरिद गर्दा मेकिङ चार्जको विषयमा सँधै ध्यान दिनुपर्ने हुन्छ । किन भने मेकिङ चार्जले तपाइँको गहना सस्तो हुने कि महंगो हुने भन्ने कुरा निर्धारण गर्छ । ध्यान दिनु पर्ने कुरा के हो भने सुन बेच्नु परेमा यो मेकिङ चार्ज कटाएर मात्र सुनको मुल्य पाइन्छ ।
मेकिङ चार्ज ट्याग
बजारको अस्वस्थताका कारण पछिल्लो समयमा कतिपय व्यवसायीहरुले मेकिङ चार्जको ट्याग पनि लगाउँछन् । तर सुनको मूल्य तथा मेकिङ चार्जमा घटबढ भइरहन्छ । तसर्थ मेकिङ चार्जको ट्याग भएका गहना बेच्नेहरुले बेच्ने समयको ट्याग लगाइदिने हुँदा अर्डर गर्दा नै मेकिङ चार्जबारे प्रष्ट हुनु राम्रो हुन्छ । यो कुरामा ध्यान नदिने हो भने खरिद गर्ने समयमा अर्डर गरेको भन्दा महंगो पर्ने सम्भावना समेत हुन्छ ।
शुद्धता
सुनका गहना खरिद गर्दा सबैभन्दा विचार पुर्याउनु पर्ने कुरा शुद्धता हो । सुन जति शुद्ध भयो त्यति नै फिर्ता गर्दा पनि उत्तिनै रकममा फिर्ता गर्न सकिन्छ । हरेक विक्रेताले आफ्नो सुन शुद्ध भएको दावी त गर्छन् तर यो दावी सत्य नहुने सम्भावना बढी हुन्ंछ । नेपालमा अन्य धातु मिसावट भएको भएपनि शुद्ध सुनका गहना भनेर बिक्री गर्ने गरेको भेटिएको छ । जसकारण शुद्धतामा ध्यान दिनुपर्ने हुन्छ ।
वेष्टेज चार्ज
सुनको मूल्य कम भएको समयमा पुराना गहना बेचेर नयाँ बनाउँ भन्ने सोंच हुन्छ, यस्तो गर्दा उपभोक्ताले विचार पुर्याउर्नु पर्ने हुन्छ । किन भने गहना बेच्नेहरुले गहना फिर्ता गर्दा वेष्टेज चार्ज लिन्छन् । सुनका गहनालाई बनाउँदा र प्रयोग गर्दा सुनमा क्षति भएको भन्दै व्यापारीहरुले बेचेको मूल्यमा वेष्टेज चार्ज कटौती गर्छन् । यसो गर्दा कैयौं ग्राहकहरु त ठगिने समेत हुन्छ । गहना फिर्ता गर्नु अघि वेष्टेज चार्ज कति हो भनेर प्रष्ट भएपछि मात्र फिर्ता गनुृपर्ने हुन्छ नत्र भने ठगिने खतरा हुन्छ ।
सुनचाँदी खरिद गर्दा ठगीबाट कसरी जोगिने ?
सुनको शुद्धता जाँच्ने कुनै वैज्ञानिक प्रविधि उपभोक्ताको पहुँचमा नभएको पूर्वअध्यक्ष शाक्य बताउँछन् । यस्तो अवस्थामा उपभोक्ताले सचेत हुनैपर्छ । उपभोक्ताले सुन किन्ने मानसिकता बनाउँदा सर्वप्रथम त विश्वसनीय पसलमा नै जानुपर्छ । सकभर पुराना र स्थापित भएका पसलहरुमा जानुपर्छ ।
शाक्य भन्छन्, ‘सुन किन्ने भनेपछि आफैं संवेदनशील हुनुपर्छ । अनि सकभर आफ्नो विश्वासमा रहेका व्यवसायीकोमा नै जानुपर्छ ।’
विश्वसनीय सुन पसलको छनौटले उपभोक्तालाई शुद्ध सुन पाउने पहिलो आधार खडा गर्छ । ‘सुन किनिसकेपछि बिल लिन भूल्नै हुँदैन,’ ‘बिलमै सुन कति क्यारेटको भनेर उल्लेख गर्न लगाउनुपर्छ । यस्तो गर्दा सुनको शुद्धतामा शंका गर्ने वातावरण बन्दैन,’ शाक्यले भने ।
पुनः त्यही सुन बेच्न आएमा बिलमै उल्लेख भएको क्यारेट अनुसारको मूल्य पाउनुपर्ने हुन्छ ।
‘यदी बिलमा क्यारेट उल्लेख नभए सुनमा केही न केही खराबी छ भन्ने हुन्छ । बिलमा सुनको क्यारेट उल्लेख गर्नु अन्तर्राष्ट्रिय प्रचलन नै हो,’ शाक्यले भने ।












प्रतिक्रिया