जेनजी आन्दोलन : ३ अर्ब ६८ करोड बढी बिमा भुक्तानी


काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बिमा दाबीमध्ये हालसम्म निर्जीवन बिमा कम्पनीले करिब ३ अर्ब ६८ करोड ४१ लाख रुपैयाँ भुक्तानी गरेका छन् ।

नेपाल बिमा प्राधिकरणमा निर्जीवन बिमा कम्पनीबाट प्राप्त पछिल्लो तथ्याङ्कअनुसार सो आन्दोलनका क्रममा परेका बिमा दाबी कूल २३ अर्ब ४६ करोड ९१ लाख रुपैयाँ रहेको प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले जानकारी दिए ।

ती दाबीमध्ये अग्रिम भुक्तानीसहित सम्पत्ति बिमातर्फ ६९३ वटा दाबीको १९ अर्ब चार करोड नौ लाख रुपैयाँमध्ये करिब दुई अर्ब ९२ करोड ८६ लाख रुपैयाँ, मोटर बिमातर्फ दुई हजार २९० वटा दाबीको करिब तीन अर्ब ४७ करोड सात लाख रुपैयाँमध्ये ६८ करोड ६१ लाख रुपैयाँ भुक्तानी भएको कार्यकारी निर्देशक सुवेदीले बताए।

त्यसैगरी, इञ्जीनीयरिङ तथा ठेक्का जोखिम बिमातर्फ २०९ वटा दाबीको करिब ५४ करोड ७५ लाख रुपैयाँमध्ये ६ करोड २३ लाख रुपैयाँ, परिवहन बिमातर्फ १२ वटा दाबीको करिब एक करोड ६८ लाख रुपैयाँमध्ये ४७ लाख रुपैयाँ र अन्य बिमातर्फ ४२ वटा दाबीको करिब ३९ करोड ३० लाख रुपैयाँमध्ये २३ लाख अग्रिम भुक्तानी भएको प्राधिकरणले जनाएको छ ।

यसैबीच जेनजी आन्दोलनका क्रममा भएका क्षतिको बिमा दाबी भुक्तानीका लागि नेपाल पुनःबिमा कम्पनीले निर्जीवन बिमा कम्पनीलाई करिब रु दुई अर्ब ४८ करोड १० लाख अग्रिम भुक्तानी उपलब्ध गराएको प्राधिकरणले जनाएको छ ।

नेपाल पुनःबिमा कम्पनीमा हालसम्म दुई हजार ८५७ वटा पुनःबिमा दाबी दर्ता भई सोको कूल रकम करिब १५ अर्ब ८२ करोड ७० लाख रुपैयाँ पुगेको छ । बिमा दाबी छिटो र पारदर्शी रूपमा भुक्तानी सुनिश्चित गर्न प्राधिकरणले बिमा कम्पनी र पुनःबिमा कम्पनीसँग निरन्तर समन्वय गरिरहेको कार्यकारी निर्देशक सुवेदीले बताए ।

प्रकाशित मिति: २६ कार्तिक २०८२, बुधबार  ०६ : ३१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।