काठमाडौं । गत असोज र कात्तिकमा भएको बेमौसमी वर्षा र बाढी पहिरोका कारण यो वर्ष धान उत्पादनमा कमी आउने देखिएको छ । जलवायु परिवर्तनको असर धान बालीमा पर्दै गएको विज्ञहरूले बताएका छन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयकी प्रवक्ता जानुका पण्डितका अनुसार, वर्षा र बाढीका कारण यस वर्ष धान उत्पादन करीब पाँच लाख मेट्रिक टन घट्ने अनुमान भएको छ ।
‘बेमौसमी वर्षा र डुबानले पाकेको धानमा क्षति पुर्याउँदा उत्पादनमा कमि आउने देखिएको छ,’ उनले भनिन् ।
साथै यस वर्ष मधेश प्रदेशमा खडेरीका कारण समयमै धान रोपाईँ नहुँदा पनि उत्पादनमा कमी आउने देखिएको उनले बताइन् ।
यो वर्षको असोजमा भएको बेमौसमी र वर्षा र बाढीले कोशी प्रदेशमा ५६ हजार मेट्रिक टन धानबालीमा क्षति पुगेको कृषि मन्त्रालयले जनाएको छ । यस्तै मधेश प्रदेशमा करिब २४ हजार मेट्रिक टन धान उत्पादनमा क्षति पुगेको छ ।
अन्य प्रदेशमा भएको क्षतिको यकिन विवरण संकलन गर्ने काम भइरहेको मन्त्रालयले जनाएको छ । वर्षा र बाढीले कर्णाली र सुदुरपश्चिम प्रदेशमा भने क्षति नपुगेको मन्त्रालयको भनाइ छ ।
धान रोप्ने समयमा पानी नपरेको र बिउ बुढो भएपछि रोप्नु पर्दा धान नफलेको सिराहाका किसान अमिरलाल यादव बताउँछन् । उनी भन्छन्, ‘बिउ मरिसकेपछि सरकारले बोरिङको व्यवस्था गरेको थियो त्यो पनि प्रभावकारी हुन सकेन,’ यादव भन्छन्, ‘त्यसकारण खेती योग्य जमिनमा पनि पूरा रोपाईं नै हुन सकेन ।’
यो वर्ष रोपाईँ गर्ने समयमा पानी नपरेर ढिलो रोपाईँ भएको कारणले उत्पादनमा कमी आएको नेपाल कृषि अनुसन्धान परिषद (नार्क)का धानबाली विज्ञ सुशीलराज सुवेदी बताउँछन् । रोप्ने समयमा पानी नपरेर सुख्खा भएको र धान काट्ने बेला अति पानी परेर पाकेको धान नष्ट भएको उनले बताए ।
जलवायु परिवर्तनको असर धान बालीमा
पछिल्लो समय नेपालको कृषि उत्पादनमा जलवायु परिवर्तनले गम्भीर असर पार्न थालेको छ । तापक्रम वृद्धि तथा बेमौसमी वर्षाले कृषि क्षेत्रलाई नराम्रोसँग चपेटामा पारेको छ ।
जलवायु परिवर्तनको प्रत्यक्ष असरका कारण मुलुकको प्रमुख खाद्य वाली धानको उत्पादनमा भारी गिरावट आएको छ ।
नार्कका धानबाली विज्ञ सुशीलराज सुवेदी जलवायु परिवर्तनले चाहिने समयमा नहुने तर नचाहिएको समयमा भारी वर्षा हुँदा धान उत्पादन घटेको बताउँछन् ।
जलवायु परिवर्तनको असर कम गर्न जलवायु अनुकुल धानको बिउ उत्पादनको काम भइरहेपनि सफल हुन नसकिरहेको उनले बताए ।
उनका अनुसार गंगा सागर एक, गंगासागर दुई, बहुगुणी एक र दुई जलवायु परिवर्तन अनुकुल नै विकास गरिएको भएपनि सामान्य सुख्खा र सामान्य डुबानमा मात्र सफलता मिलेको उनले बताए । तर पछिल्लो समय अति भारी वर्षा र सुख्खा धेरै हुने भएकोले त्यसमा सफल नभएको उनले बताए ।

आयात बढ्ने
विगतका वर्षहरुमा पनि स्वदेशमा भएको धान उत्पादनले माग धान्न सकेको अवस्था थिएन । यो वर्ष उत्पादन नै घटेकोले आयात बढ्ने मन्त्रालयको अनुमान छ ।
गत वर्ष मुलुकभरिमा जम्मा १३ लाख हेक्टर क्षेत्रफल जग्गामा ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन धान उत्पादन भएको थियो ।
अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा मुलुकभरि करिब ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान उत्पादन भएको थियो । यस्तै आर्थिक वर्ष २०७९/८० मा ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन धान उत्पादन भएको थियो ।
भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा २१ अर्ब ५२ करोड ३७ लाख ८४ हजार रुपैयाँको पाँच लाख ३३ हजार ७२० मेट्रिक टन धान आयात भएको थियो । सोहि अवधिमा १८ अर्ब ६६ करोड ५९ लाख ३१ हजार रुपैयाँको २ लाख ४१ हजार ५५५ मेट्रिक टन चामल आयात भएको थियो ।
आर्थिक वर्ष २०८०/८१ मा ८९ हजार मेट्रिक टन चामल आयात भएको थियो । सोही आर्थिक वर्षमा १२ अर्ब ९४ करोड रुपैयाँँमा ३ लाख २१ हजार मेट्रिक टन धान आयात भएको थियो ।
आर्थिक वर्ष २०७९/८० मा २० अर्ब ७५ करोड रुपैयाँको ५ लाख ५८ हजार मेट्रिक टन धान आयात हुँदा ९ अर्ब २८ करोड रुपैयाँमा २ लाख २५ हजार मेट्रिक टन चामल आयात भएको थियो ।












प्रतिक्रिया