जेनजी आन्दोलनले सुस्ताएको पर्यटन क्षेत्र लयमा, होटल बुकिङ ह्वातै बढ्यो


काठमाडौँ । जेनजी आन्दोलनले अस्तव्यस्त बनेको पर्यटन क्षेत्र लयमा फर्किन थालेको छ । पर्यटक आवागमनबढेसँगै होटलमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या उल्लेख बढेको उद्योगीहरूले बताएका छन् ।

आन्दोलनका कारण अन्तर्राष्ट्रिय स्तरमा गलत सूचना प्रवाह हुँदा विदेशी तथा आन्तरिक दुवै पर्यटक संख्या घटेको थियो। तर, अवस्था सामान्यतर्फ फर्किएसँगै पर्यटन क्षेत्रमा फेरि चहलपहल बढेको हो ।
गत महिना भन्दा अब हवाई उडान, ट्रेकिङ मार्ग, होटल बुकिङ र भ्रमण प्याकेजको माग झण्डै दोब्बरले बढेको छ ।

आन्दोलनका क्रममा काठमाडौं, पोखरा, बुटवल, विराटनगरलगायतका शहरमा रहेका करिब दुई दर्जन प्रतिष्ठित होटलहरूमा तोडफोड, आगजनी र लुटपाट भएका कारण सुस्ताएको पर्यटन क्षेत्रमा गतिविधि बढ्न थालेको हो ।

होटल संघ (हान)का अनुसार, आन्दोलनबाट पर्यटन क्षेत्रले करिब २५ अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष आर्थिक क्षति बेहोरेको छ। काठमाडौंको हिल्टन होटलमा मात्रै ८ अर्बभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ। भौतिक क्षतिसँगै पर्यटकीय सिजनका लागि गरिएका बुकिङहरू रद्द हुँदा व्यवसायीहरूमा एक प्रकारको अन्योलता छाएको थियो ।

जेनजी आन्दोलनपछि सेक्टेम्बरमा पर्यटकको संख्या १८.३ प्रतिशतले घटेको थियो । सेप्टेम्बर महिनामा ७८ हजार ७११ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । २०२४ को सेप्टेम्बरमा ९६ हजार ३०२ विदेशी पर्यटक भित्रिएका थिए।

अक्टोबरमा भने गत वर्षको तुलनामा ४ हजार बढी पर्यटक भित्रिएका छन् । अक्टोबरमा १ लाख २८ हजार पर्यटक नेपाल आएका हुन् ।

पर्यटक बढेपछि होटलहरुमा अकुपेन्सी पनि बढेको होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष दिनेश कुमार चुकेले बताए् । आन्दोलन लगत्तै अकुपेन्सी घटेको भए पनि अहिले ६० प्रतिशत हाराहारी अकुपेन्सी रहेको छ, अझै बढ्दो क्रममा रहेको उनले बताए ।

आन्दोलनको प्रभावसँगै बेमौसमी बर्षाका कारण पनि पर्यटक आवागमनमा प्रतिकुल असर परेको थियो । सेप्टेम्बरमा घटेको अकुपेन्सी अक्टोबरमा केही मात्रामा बढेको हो । नोभेम्बर लागेसँगै करिब पहिलेकै लयमा जाने अवस्था रहेको उनले बताए ।

‘पहिले नै बुकिङ गरेका पर्यटकहरु पनि छन् साथै नयाँ पर्यटकहरु पनि बढीरहेका छन् । आन्तरिक पर्यटकहरु पनि बढ्दो क्रममा नै छ । विशेषत दशैँ तिहारमा हुने लामो समयको विदाको सदुपयोग गर्दै आन्तरिक पर्यटकहरु बढेका थिए,’ उनले भने, ‘पछिल्लो समय आन्तरिक पर्यटकहरु हिमाली क्षेत्रहरुमा जान रुचाउँछन् । जसकारण तराई क्षेत्रहरुमा भन्दा हिमाली क्षेत्रहरुमा आन्तरिक पर्यटकको संख्या बढेको थियो । ’

जेनजी आन्दोलनका कारण सुस्ताएका होटलहरु विस्तारै उक्सदै गरेको होटल संघ नेपालका अध्यक्ष विनायक शाह बताउँछन् । देशमा परिवर्तन चाहने र समृद्धि चाहने दुवै समूहको आन्दोलन वा हडतालको पहिलो निसाना होटल क्षेत्र नै हुने गरेको उनले जनाए । उनका अनुसार होटल क्षेत्रमा राजनीतिमा संलग्न व्यक्तिहरूले पनि लगानी गरेकै कारण यस पटकको आन्दोलनमा होटल क्षेत्र प्रदर्शनकारीको तारो बन्यो ।

विपद् र आन्दोलनको गहिरो घाउ बोकेर बन्द भएका होटलहरू विस्तारै खुल्दै छन् । रद्द हुने भनिएका बुकिङहरू पुनः फिर्ता भइसकेका छन् । ‘विदेशीहरू नेपाल आउने गरेका देखिन्छ । बुकिङ फेरि पुरानै लयमा फर्किन खोजेको देखिन्छ,’ शाहले भने ।

जेन–जी आन्दोलनका कारण ९० प्रतिशतसम्म होटल बुकिङ रद्द भएको थियो । मुख्य सिजनमा नै आपतकालिन अवस्था आउँदा व्यवसायीहरु संकटमा रहेका थिए । सो संकटबाट विस्तारै लयतर्फ लागेको उनको भनाई छ ।

प्रकाशित मिति: १ मंसिर २०८२, सोमबार  ०८ : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।