काठमाडौँ । कडा मेहनत र पसिनाबाट आर्जन गरेको पैसा सहकारीमा बचत गरेका सर्वसाधारणहरु अहिले वित्तीय अपराधको जालोमा फसेका छन् । जीवनभरको कमाइ सहकारीमा जम्मा गरेका बचतकर्ताहरु विगत सात दिनदेखि समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालयलाई आफ्नो बेदनाको केन्द्र बनाएर आन्दोलनमा छन् ।
पैतृक सम्पत्तीदेखि आफ्नो जीवनभरिको कमाई डुबेपछि जीवन र मरणको दोसाँदमा पुगेका यी पिडितहरुको कथाले सहकारी सञ्चालन र नियमनको क्षेत्रमा देखिएको कमजोरी र राज्यको निरिहपनालाई छर्लङ्ग पारेको छ ।
सहकारीमा रकम जम्मा गरेर घरवार गुमेका पिडितहरु दैनिक गुजरा पनि गर्न नसक्ने अवस्था आएपछि आन्दोलनमा उत्रिएका हुन् ।
आन्दोलन स्थलमा भेटिएका हरेका बचतकर्ताको कथा मार्मिक छ, जसले नेपालको सरकारी क्षेत्र कसरी ठगीको अखडा बनेको छ र वित्तीय अनुशासन कस्तो छ भन्ने कुरा देखाँउछ । उपत्यकाका ठुला सहरकारीहरु गोर्खा, कान्तिपुर, देउराली लगायत दर्जनौँ सहरकारीका बचतकर्ताहरुले पनि आफ्नो बचत रकम फिर्ता पाएका छैनन् ।
उपत्यकाको गोर्खा सहकारीका पिडित बचतकर्ता ओमजंग शाहले भने, “बचत सुरु गरेदेखि अहिलेसम्म एक रुपैयाँ पनि पाएको छैन् । बढी ब्याज पाउने र दुःख परेको समयमा लिन सकिने भनेर सहकारीमा पैसा जम्मा गरेको तर बढी आउनु त के ! भएको पनि गुमाएर दैनिक व्यवहार चलाउन पनि गाह्रो परेको छ ।”
सरकारले पनि कुनै पहलकदमी नगरिदिँदा आफुहरु अभिभावक विहीन बनेको उनले गुनासो गरे । शाहले निराश हुँदे भने, “मैले आफ्नो जीवनभरिको कमाई सहकारीमा राखेको थिए, सरकारले पनि कुनै पहलकदमी नगरिदिँदा हामी अभिभावक बिहिन भएका छौँ जसले हाम्रो पिडा झन थपिएको छ ।”

गार्खा सहकारीबाट पिडित उनी मात्रै एउटा बचतकर्ता होइनन् उनीसँगै बचत गरेका धेरै जनाको लाखौँ रुपैयाँ सहकारीले ठगि गरेको छ । जीवनभरिको कमाई सहकारीमा डुब्दा उनीहरुको दैनिकी कठिन बनेको छ ।
यस्तै कान्तिपुर सहकारीका बचतकर्ता हिराकाजी मानन्धरको कथा पनि ओमजंगको जस्तै छ । उनले पनि ठुलो आशा बोकेर कान्तिपुर सहकारीमा रकम बचत गरेका थिए । दैनिक व्यवहारको खर्च कटौती गरेर जम्मा गरेको बचत सहकारीले ठगी गरेपछि आन्दोलनमा आउन बाध्य भएका छन् । उनी घरमा बिहान बेलुका चुलो बल्न पनि छोडेको दुखेसो पोख्छन् । सहकारीले बचत अपचलन गरीदिँदा बालबच्चाको भविष्य अनिश्चित बनेको हिराकाजीको दुखेसो छ ।
उपत्यकामा टेम्पो जलाएर गुुजारा गरिरहेकी कुसुम राईको पनि सहकारीसँगको कथा कारुर्णीक छ । दैनिक टेम्पो चलाएर परिवार धानिरहेकी कुसुमले भविष्यको लागि भनेर खाई÷ नखाई सहकारीमा बचत गरेकी थिइन् । तर उनले त्यो गाँस काटेर जम्मा गरेको पैसाको लागि पनि दिन रात नभनी आन्दोलन गर्नु परेको छ ।
“ जीवनभरि दुःख गरी कमाएको पैसा लगेर सहकारीमा बचत गर्दा अहिले दैनिक जीवन नै अप्ठ्यारोमा परेपछि आन्दोलन गर्नुको विकल्प छैन । चराले चारो टिपेजस्तै गरेर जम्मा गरेको पैसा सहकारीले खाइदियो राईले कारुणीक स्वरमा भनिन् ।”
पिडितहरुले गत शुक्रबारदेखि विहान १० बजेदेखि ४ बजेसम्म आन्दोलन गरिरहेका छन् । पछिल्लो एक सातादेखि उनीहरुको दैनिकी सहकारीको सावाँ व्याज उठाउने आशामै वितिरहेको छ ।
यस्तै, अर्की बचतकर्ता ज्ञानुदेवी महर्जनको पनि सातादिनदेखि सडकमा नै सघर्ष गरिरहेकी छिन् । आफ्नै पैसा पाउनको लागि पनि यत्रो आन्दोलन गर्नुपर्दा दुःख लागेको उनी बताउँछिन् । जीवनभरिको कमाई अरुले नै खाइदिएको र समस्या समाधान गर्नुको नाममा सबै ठाँउमा कार्यकर्ता भर्ति गर्दा झन् दुख पाएको उनको गुनासो छ ।
“ब्याज आउने र भविष्यमा दुख परेका समयमा काम लाग्छ भनेर राखेको पैसा ब्याज त परको कुरा साँवा पाउन पनि आन्दोलन गर्नुपरेको छ ।” उनले भनिन, “लोभले लाप लाभले विलाप भने जस्तै भयो ।” दुख पर्दा काम लाग्छ भनेर राखेको पैसाले आज आएर सहकारीमा पैसा जम्मा गर्नु नै दुःखलाई निम्तो दिनु जस्तो भएको उनी बताउँछिन् ।
पिडितहरु विगतमा पनि समय समयमा आफ्नो पैसा माग्दा सरकारले समस्या समाधान गर्नुको सट्टा प्रहरी लगाएर दमन गरेको तितो अनुभव सुनाउँछन् । यसअघि हामीले जब आफ्नो बचत रकम फिर्ता माग्यौ सरकारले दमन ग¥यो, प्रहरी लगाएर मरणासन्न हुने गरि कुट्यो उनीहरुले एकै स्वरमा भने ।

न्यायको माग गर्दा सरकारी दमनमा परेको बताउँदै पिडितहरु मर्नु परेपनि आफ्नो हकको लागि मर्न तयार रहेको बताउँछन् । उनीहरुले संयुक्त रुपमा मर्नु परे पनि आन्दोलनमै मर्ने तर अब फर्केर नजाने अडान दोहो¥याए । सरकारी पक्षको यो दमनले आफुहरुको निराशालाई आक्रोशमा परिणत गर्न बाध्य पारेको उनीहरुको बुझाई छ ।
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको अगुवाइमा भएको यो आन्दोलनमा सहकारी बचतकर्ताको ३ खर्ब रुपैयाँ लुटिएको छ मद्धत गर्नुहोस्, सहकारी पिडितहरुको भान्सामा खाना छैन, पिडितलाई पीडा दिएर पीडकलाई संरक्षण दिने संचालकका मतियार राजिनामा देलगायतमा नारा लेखेका प्लेकार्ड बोकेर न्याय मागिरहेका छन् । उनीहरुले नियमनकारी निकाय र जिम्मेवार पदाधिकारीहरुमाथि गम्भीर प्रश्न उठाएका छन् । ३ खर्ब रुपैयाँजस्तो ठुलो रकम डुब्दा पनि सरकारले प्रभावकारी पहल नगर्दा सर्बसाधारणमा थप अविश्वास बढाएको छ ।
आन्दोलनको क्रममा पीडितहरुले सरकारी संयन्त्रको नियतमाथि पनि गम्भीर प्रश्न उठाएका छन् । आन्दोलकारीहरुले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय नै ठगहरुको संरक्षणमा लागेको आरोप लगाएका छन् । पीडितहरुका अनुसार कार्यालयले सहकारी ठगहरुलाई उन्मुक्ति दिनको लागि भुमिका खेलेको र बचत रकम फिर्तामा असहयोग गरेको छ ।
यही कारण पीडितहरु शुक्रबारदेखि समितिको कार्यालयमा आन्दोलनमा उत्रिएका छन् । यसरी सरकारी समितिमाथि नै लागेको ठग संरक्षणको आरोपले समाधानको बाटोलाई थप चुनौतीपूर्ण बनाएको छ ।












प्रतिक्रिया