काठमाडौँ । दैलेखमा भेटिएको पेट्रोलियम पदार्थ अन्वेषणको महत्त्वपूर्ण चरण मानिएको ड्रिलिङको काम सम्पन्न भएको छ । चीन सरकारको प्राविधिक सहयोगमा भैरहेको ड्रिलिङको काम सम्पन्न भएर प्राविधिक टोलीले प्रतिवेदन खानी तथा भूगर्व विभागमा बुझाएको छ । योसँगै व्यवसायीक उत्पादन कहिलेबाट सुरु हुन्छ त भन्ने चासो र उत्सुक्ता सबैमा बढेको छ ।
खानी तथा भूगर्भ विभाग र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार ड्रिलिङको काम सम्पन्न भएपनि अरु प्राविधिक कामहरु अझै बाँकी रहेकोले उत्पादनको मिति तोक्न सकिने अवस्था छैन ।
खानी तथा भूगर्व विभागका प्रवक्ता धर्मराज खड्काले ड्रिलिङको काम सकिए पनि थप प्रक्रियाको लागि समय लाग्ने बताए । उनका अनुसार चीनियाँ प्राविधिक टोलीले आफ्नो प्रारम्भिक प्रतिवेदन विभागमा बुझाई सकेको छ, र हाल त्यसको विस्तृत अध्ययन र समिक्षा भइरहेको छ । “भर्खरै ड्रिलिङको काम सकिएको छ, तर अहिले नै उत्पादन कहिलेबाट हुन्छ भनेर तुरुन्तै भन्न सकिने अवस्था छैन ।” प्रवक्ता खड्काले भने, “अझै धेरै कामहरु बाँकी छन् । चीनियाँ टोलीले बुझाएको प्रतिवेदन अहिले रिभ्यू भइरहेको छ । त्यो रिभ्यूको काम सकिएपछि मात्र आगामी कदम र समयसीमाका बारेमा ठोस जानकारी प्राप्त हुनेछ ।”
उद्योग मन्त्रालयले चीनियाँ टोलीले बुझाएको प्रतिवेदन विभागबाट मन्त्रालयमा आएपछि मात्र थप प्रक्रिया अगाडी बढाउने तयारी रहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतका अनुसार सरकारको योजना पहिले परिक्षण उत्पादन गर्ने र त्यसको सफलतापछि मात्र व्यवसायिक उत्पादन सुरु गर्ने रहेको छ ।
“प्रतिवेदन अहिले खानी तथा भूगर्भ विभागमै छ, मन्त्रालयमा आइपुगेको छैन,” प्रवक्ता बस्नेतले भने, “मन्त्रालयको योजना प्रतिवेदन प्राप्त भएपछि परीक्षण उत्पादन गर्ने भन्ने हो । यो परीक्षण उत्पादन नेपाल सरकार आफैले गर्ने कि कुनै दातृ निकाय, सरकार वा अन्तर्राष्ट्रिय संस्थासँग अनुरोध गर्ने भन्ने विषयमा छलफल भइरहेको छ । बस्नेतका अनुसार यसअघिका नै अर्थ मन्त्रालयसँग समन्वय गरेर चीनियाँ कम्पनीलाई नै परीक्षण उत्पादनको जिम्मा दिने तयारी गरिएको भएपनि पछिल्लो समय यस विषयमा थप छलफल हुन सकेको छैन । उनले भने, “पहिलेको मन्त्रीज्यूका पालामा चीनियाँ कम्पनीलाई नै जिम्मा दिने तयारी थियो, तर अहिले केही समयदेखि यो विषयमा छलफल हुन सकेको छैन । विभागबाट प्रतिवेदन मन्त्रालयमा आउने वित्तिकै प्रक्रियाले गति लिन्छ ।”
यसअघि चिनियाँ सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा दैलेखको जलजलेमा ड्रिलिङसहितका अन्वेषण कार्य सञ्चालन गरिएको थियो । नेपालको खानी विभाग र चीनियाँ जिओलजिकल सर्भे छेन्दु केन्द्रबीच भएको सहमतिका आधारमा अन्वेषणका निम्ति सिबु ड्रिलिङ इन्जिनियरिङ नामको चीनियाँ विशेषज्ञ कम्पनी खटाइएको थियो । उक्त कार्यका निम्ति हालसम्म लगभग सवा दुई अर्ब रुपैयाँ खर्च भएको बताएको छ । खानी विभागका प्रवक्ता खड्काका अनुसार खानी क्षेत्रसम्म पुग्ने बाटो बनाउने र परियोजनास्थलको जमिन अधिग्रहण गर्ने काम नेपाल सरकारले गरेको हो भने, यो बाहेक हालसम्म भएका कामको सबै खर्च चीनियाँ पक्षले नै बेहोरेको हो ।
दैलेख जिल्लाको जलजले क्षेत्रमा भेटिएको मिथेन ग्यासले स्थानीय समुदाय र समग्र राष्ट्रलाई आर्थिक र सामाजिक हिसाबले प्रचुर फाइदा हुने विश्लेषकहरू बताउँछन् । जलजले क्षेत्रमा करिब ११२ अर्ब घनमिटर मिथेन रहेको अनुमान चीनियाँ अध्ययन टोलीले गरेको छ । यसले ५० वर्षसम्म नेपालको ग्याँसको आवश्यकता पूरा गर्ने अनुमान गरिएको छ । यदि औद्योगिक रूपमा विकास भएमा यथेष्ट रोजगारीको सिर्जना पनि हुनेछ । यसले स्थानीको राजगारीको माग पनि पूरा गर्नेमा स्थानीय आशावादी छन् ।
दैलेखको मिथेन ऊर्जा समृद्धिको आधार
भूगर्भविद्हरुले मिथेन ग्याँसलाई एक स्वच्छ इन्धनको रुपमा व्याख्या गर्दै ऊर्जा समृद्धिको आधार बन्ने दाबी गरेका छन् । यसले विदेशी मुद्रा सञ्चित गर्ने उनीहरुको भनाई छ । मिथेन ग्याँसलाई खाना पकाउने, गाडी चलाउने इन्धनको रूपमा प्रयोग गर्न सकिने भूगर्भविद् डाक्टर नारायण अधिकारी बताँछन् । उनले भने, “यो पेट्रोल र डिजेलको तुलनामा सस्तो पनि हुन्छ । जसले गर्दा वातावरणीय स्वच्छता र विदेशी मुद्राको सञ्चिती बढ्छ । यसका कैयौँ फाइदा हुने भएकाले आमनागरिकले यसप्रति सकारात्मक सोच राखेर उत्खननमा सहयोग गर्नु जरुरी छ र सरकारले पनि यसको उत्खननमा दत्तचित्त भएर लाग्नुपर्ने आवश्यकता छ ।” साथै उनले दैलेखको मिथेन ग्याँस नेपालको ऊर्जा समृद्धिको आधार बन्न सक्ने दाबी गरेका छन् ।
दैलेखको ग्याँसले नेपालको पेट्रोलियम परनिर्भरता अन्त्य हुन्छ दैलेखको नारायण नगरपालिकाका प्रमुख लोमन शर्मा पेट्रोलियम उत्खननको काम अगाडि बढ्नु सम्पूर्ण नेपालीका लागि गौरव र खुसीको विषय भएको दाबी गर्छन् । उनले यो आयोजना नेपाललाई आर्थिक कायापलट गर्ने कडीको रुपमा व्याख्या गरेका छन् । “नेपालमा मिथेन ग्याँसको सम्भावना पुष्टि हुनु अत्यन्तै उल्लासमय विषय हो । यसले सिँगो नेपालको आर्थिक समृद्धिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।” मेयर शर्माले भने । उनका अनुसार यदि यो खानी औद्योगिक रुपमा सञ्चालन भएमा रोजगारीको लागि विदेशीनु परेका युवाले स्वदेशमै रोजगारी पाउने छन् । उनले भने, “यो परियोजना सफल भएमा हाम्रो देशको पेट्रोलियम परनिरभर्ता अन्त्य हुनेछ । स्थानीय सरकार जनशक्ति परिचालन र पूर्वाधार व्यवस्थापनमा सहयोग गर्न सधैं तत्पर छ ।”












प्रतिक्रिया