काठमाडौँ । प्राथमिक सेयर निष्काशनमा वैदेशिक रोजगारीमा गएकाहरुलाई आरक्षणको व्यवस्था गरेसँगै क्रमिक रुपमा बैदेशिक रोजगारीमा जानेहरुको सहभागिता बढ्न थालेको छ ।
२०७९ मंसिर १४ गते पहिलो पटक कालिन्चोक दर्शन लिमिटेडले बैदेशिक रोजगारीमा गएका श्रमिकहरुलाई १ लाख ८० हजार कित्ता सेयर निष्काशन गर्दा आवेदन दिनेहरुको संख्या न्युन थियो । प्रकृया मिलाउनुपर्ने, बैंक खातालाई रेमिट्यान्स खातामा रुपान्तरण गर्नुपर्ने लगायतका काम तत्काल गर्न नसक्दा विदेशमा रहेकाहरुले चाहेर पनि उक्त समयमा निष्काशन भएका कम्पनीहरुमा आवेदन दिन सकेका थिएनन् ।
तर अहिले ठुलो संख्यामा विदेशमा रहेका नेपाली श्रमिकहरुले सेयर आवेदन गर्नका लागि आवश्यक बैंक खाता तयार गर्ने, मेरोसेयरमा आबद्ध हुने काम गरेको पछिल्ला तथ्यांकले देखाएको छ । पछिल्लो समय वैदेशिक रोजगारीमा रहेका नागरिकहरुको लागि छुट्याईएको आरक्षित साधारण सेयर (आइपीओ) मा आवेदन दिनेको संख्या उल्लेख्य मात्रामा बढ्नुले यसलाई पुष्टि गर्छ । निष्काशित आइपीओमा धेरै गूणा बढी आवेदन पर्ने गरेको तथ्यांकले प्राथमिक निष्काशनमा विदेशमा रहेका श्रमिकको सहभागिता बढाएको देखाएको हो ।
पछिल्लो पटक वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुका लागि निष्काशन भएका सूर्यकुण्ड हाइड्रो र रिज लाइन इनर्जीको आईपिओमा परेको आवेदनको तथ्यांकले उनीहरुको सहभागिता र चासो बढेको देखाएको हो ।
वैदेशिक रोजगारीमा गएकाहरुलाई सुर्यकुण्ड हाइड्रोले निष्काशन गरेको सेयरमा झण्डै १७ गुणा बढी आवेदन परेको छ । कम्पनीले ६८ हजार ९६७ कित्ताको लागि आवेदन खुलाएकोमा ७४ हजार ३४९ जनाले ११ लाख २५ हजार ७४० कित्ताको लागि आवेदन दिएका छन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलले पुस ९ गते बुधबारदेखि सेयर निष्काशन सुरु गरेको थियो । उक्त निष्काशन पुस १४ गते सोमबार बन्द भएको छ ।
यस्तै रिज लाइन इनर्जीको आइपीओ पनि आवेदन मिति सकिनु अगावै ओभर सब्स्क्राइब भएको छ । आइतबारदेखि प्रभु क्यापिटलको बिक्री प्रबन्धकत्वमा निष्काशति ६१ हजार ४८२ कित्ता सेयरका लागि मंगलबार बिहानसम्म ९ लाख २१ हजार ५०० कित्ताको लागि आवेदन परिसकेको छ । कम्पनीको सेयर निष्काशन पुस १७ गते बिहीबार बन्द हुँदैछ ।
तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेटमा विदेशमा रहेका नागरिकहरुको लागि प्राथमिक सेयरमा १० प्रतिशत आरक्षण लागु गर्ने घोषणा गरेका थिए । अर्थमन्त्री शर्माले संघीय संसदमा आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै धितोपत्र बजारमा गैरआवासीय नेपालीहरुको लगानी खुला गर्ने घोषणा गरेका थिए । सोहि घोषणा अनुसार धितोपत्र बोर्डले २०७९ असार अन्तिम साता विनियमावली बनाएर अर्थमन्त्रालयमा पेश गरेको थियो । त्यसपछि २०७९ भदौ ६ गते बसेको मन्त्रीपरिषद बैठकले अर्थमन्त्रालय मार्फत आएको विनियमावली पास गरेको थियो । कात्तिक १७ गते धितोपत्र बोर्डले निष्कासन तथा बाँडफाँट निर्देशिकामा संशोधन गरेर वैदेशिक रोजगारीमा जाने नेपालीको लागि आईपीओमा १० प्रतिशत हिस्सा सुनिश्चित गरेको थियो ।
त्यसपछि कालिञ्चोक केबलकार कम्पनीले वैदेशिक रोजगारीमा रहेका नागरिकहरुको लागि पहिलो पटक २०७९ मंसिर १४ गते १ लाख ८० हजार कित्ता सेयर निष्काशन गरेको थियो ।
वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कालिन्चोक केबलकारको आइपीओ खुल्यो










प्रतिक्रिया