छुर्पीको ’अन्तर्राष्ट्रिय’ फड्को

डलर भित्र्याउँदै नेपाली छुर्पी : विदेशी कुकुर बिरालोको आहारको लागि पाँच वर्षमा ६ अर्बको निर्यात


काठमाडौँ । नेपालमा उत्पादन हुने छुर्पी विश्व बजारमा कुकुर र बिरालाहरूको आहारका रूपमा निर्यात हुँदै आएको छ । भन्सार विभागका अनुसार नेपालबाट पाँच वर्षको अवधीमा ६ अर्ब रुपैयाँभन्दा बढीको छुर्पी विभिन्न मुलुकमा निर्यात भएको हो ।

विभागको तथ्यांक अनुसार नेपालले विगत पाँच वर्षमा ३६ लाख ६२ हजार किलोग्राम छुर्पी वापत ६ अर्ब १० करोड ७८ लाख रुपैयाँ आम्दानी गरेको छ ।

नेपालमा विगत लामो समयदेखि छुर्पी उत्पादन हुँदै आएको छ । सो उत्पादित नेपालमा मात्र खपत नभई विभिन्न मुलुकमा निर्यात हुने गरेको छ । छुर्पी विशेषगरी शेर्पाहरुले चौरी गाईको दुधबाट हिमाली भेगमा बनाउने गर्छन् । अन्य गाईको दुधबाट पनि छुर्पी व्यावसायिक रूपमा तयार गर्ने गरिन्छ । दुध बिक्री गर्न गाह्रो हुने स्थानमा र दूध बिक्री नहुने समयमा यसको उत्पादन हुने गरेको छ ।

आन्तरिक र बाहिरी पर्यटकले खानको लागि खरिद गर्ने गरेको छुर्पी नेपालमा कोशेलीका रूपमा पनि चर्चित छ । तर विकसित मुलुकमा भने कुकुरको आहाराको रूपमा निर्यात हुने गरेको पाइन्छ । नेपालमा अधिकांश पहाडी र हिमाली जिल्लामा छुर्पी व्यावसायिक रूपमा उत्पादन गर्ने गरिन्छ । मानिसले उपभोग गरी रहेको छुर्पीमा भन्दा अर्को छुर्पी हड्डी जस्तै कडा हुने र कुकुरले मासुको हड्डी सम्झेर खाने हुँदा विदेशीहरुको माग बढी रहेको पाइन्छ ।

छुर्पी निर्यातको पाँच वर्षे तथ्यांक

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिना (साउन–मंसिर) मा नेपालबाट विभिन्न मुलुकमा १० लाख ६५ हजार १६३ किलोग्राम छुर्पी निर्यात भएको छ । उक्त परिमाणको छुर्पी निर्यातबाट मुलुकले १ अर्ब ३५ करोड ६६ लाख रुपैयाँ आम्दानी गरेको छ ।

त्यस्तै, गत आव २०८१/८२ को सोही अवधीमा ७ लाख ७३ हजार किलोग्राम छुर्पी निर्यात गरे वापत १ अर्ब ४५ करोड १५ लाख रुपैयाँ कमाएको छ भने अघिल्लो आव २०८०/८१ को सोही अवधीमा ५ लाख ९७ हजार किलोग्रामबाट १ अर्ब १८ करोड ८७ लाख रुपैयाँ आम्दानी भएको थियो ।

त्यसैगरी, आव २०७९/८० मा ५ लाख ९४ हजार किलोग्राम छुर्पी १ अर्ब १० करोड १० लाख रुपैयाँ र आव २०७८÷७९ मा ६ लाख ३१ हजार किलोग्राम छुर्पी १ अर्ब १ करोड १२ लाख रुपैयाँ आम्दानी भएको विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।

पश्चिमी मुलुकमा बढी निर्यात

नेपाली छुर्पी पश्चिमी मुलुकमा बढी निर्यात हुने गरेको छ । चालु आवको पाँच महिनाको अवधीमा नेपालले अमेरिका, क्यानडा, बेलायत, जापान, कोरिया, यूएई, अङकङ, मलेसिया, न्यूजल्यान्ड, सिँगापुर लगायत विभिन्न २९ मुलुकमा नेपाली छुर्पी निर्यात गरेको छ । जसमा सबैभन्दा धेरै निर्यात हुने मुलुक अमेरिका हो ।

अमेरिकामा मात्र पाँच महिनामा ६ लाख ५१ हजार किलोग्राम छुर्पी निर्यात भएको छ । उक्त परिमाणको छुर्पी निर्यातबाट मुलुकले १ अर्ब १४ करोड ९१ लाख रुपैयाँ आम्दानी गरेको हो ।

त्यस्तै, क्यानडामा २ लाख ६ हजार किलोग्राम छुर्पी निर्यात गरेवापत ८ करोड ६९ लाख रुपैयाँ आम्दानी भएको छ भने बेलायतमा ५१ हजार किलोग्राम छुर्पी निर्यात गर्दा ५ करोड ४४ लाख रुपैयाँ आम्दानी भएको हो ।
तथ्यांक अनुसार जापानबाट ३ करोड १५ लाख रुपैयाँ, कोरियाबाट ७१ लख रुपैयाँ, यूएइबाट ४४ लाख रुपैयाँ, हङकङबाट ४१ लाख रुपैयाँ, मलेसियाबाट ३७ लाख रुपैयाँ, न्यूजल्यान्डबाट २४ लाख रुपैयाँ र सिँगापुरबाट २१ लाख रुपैयाँ आम्दानी भएको हो ।

आयात बढ्दै, पाँच वर्षमा ३० करोडको आयात

नेपालमा पछिल्लो समय छुर्पीको आयात बढ्दै गएको छ । पछिल्लो पाँच वर्षको अवधीमा मुलुकले छुर्पी आयातमा ३० करोडबढी रकम खर्चिएको छ ।

विभागको तथ्यांक अनुसार मुलुकले १३ लाख ९७ हजार किलोग्राम छुर्पी आयातमा ३० करोड ९१ लाख रुपैयाँ खर्चिएको हो । उक्त छुर्पी आयात गरे वापत आयातकर्ताले ११ करोड ८४ लाख रुपैयाँ राजस्व बुझाएको छ ।
नेपालले चालु आवको पाँच महिनामा ८ करोड ५३ लाख रुपैयाँको २ लाख ९६ हजार किलोग्राम छुर्पी आयात गरेको छ । त्यस्तै, गत आवको सोही अवधीमा ७ करोड ४ लाख रुपैयाँको अघिल्लो आवमा ५ करोड ८० लाख रुपैयाँको छुर्पी आयात गरेको थियो ।

नेपालमा भारत, टर्की, चीन, इटाली, थायल्यान्ड, लगायतका दर्जनभन्दा बढी मुलुकबाट छुर्पी आयात हुने गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: १६ पुस २०८२, बुधबार  १० : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।