काठमाडौँ । गत शनिबार अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई सैन्य आक्रमण गर्दै कब्जामा लिएपछि त्यहाँका अवस्था भयावह बनेको छ । विश्वमा तेल उत्पादकमध्ये एउटा महत्वपूर्ण राष्ट्रको रूपमा रहेको भेनेजुएलामा अमेरिकी आक्रमणपछि कतिपय देशसँगको सम्बन्ध र व्यापारमा उतारचढाव आउने अनुमान गरिएको छ ।
तर, नेपालको अन्तर्राष्ट्रिय व्यापारमा भने सो देशसँगको सम्बन्ध न्यून अवस्थामा रहेको देखिएको छ । विश्वकै सबैभन्दा ठूलो प्रमाणित तेल भण्डार भएको मुलुक भेनेजुएलासँग नेपालले पनि व्यापार गरिरहेको भएतापनि राम्रोसँग व्यापार विस्तार नभएका कारण व्यापारमा ठूलो असर नगर्ने अर्थविद् कृष्णहरि बास्कोटा बताउँछन् ।
भेनेजुएला विश्वमा तेल उत्पादकमध्ये एउटा महत्वपूर्ण राष्ट्रको रूपमा रहेको कारण विश्व बजारमा नै तेलको मूल्यमा प्रभाव भने पर्ने उनको बुझाई छ । ऊर्जा आपूर्ति शृंखला ठप्प हुने डरले बजारमा ‘प्यानिक बाइङ’ सुरु भएको विज्ञहरूको विश्लेषण छ ।
तर नेपालसँग व्यापारमा रहेको मुलुकहरुमा स्टकमा तेल हुँदासम्म नेपालको मूल्यमा सामान्य घटबढ भएता पनि ठूलो असर नपर्ने उनको भनाई छ । तर, यदि यो संकट केही दिनमै साम्य भएन र भेनेजुएलाको तेल खानीहरूबाट उत्पादन सुचारु भएन भने विश्व अर्थतन्त्र फेरि एकपटक लामो मन्दीको चपेटामा पर्न सक्ने विश्लेषकहरूले चिन्ता रहेको छ ।
भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिनाको अवधिमा नेपाल र भेनेजुएलाबीच ७० लाख ८८ हजार रुपैयाँबराबरको द्विपक्षीय वैदेशिक व्यापार भएको छ । यसमध्ये नेपालले भेनेजुएलाबाट ३९ लाख २९ हजार रुपैयाँबराबरको आयात गरेको छ । यस्तै ३१ लाख ५९ हजार रुपैयाँबराबरका विभिन्न सामान भेनेजुएलामा निर्यात गरिएको छ ।
चालु आर्थिक वर्षमा नेपालले भेनेजुएलाबाट ३९ लाख २२ हजार रुपैयाँबराबरको ५ हजार १४८ किलो काजु आयात गरेको छ । त्यसैगरी, ७ हजार रुपैयाँबराबरको सवारीसाधनको सिट र खाद्यान्न परिकार आयात गरेको छ । यो अवधिमा नेपालले भेनेजुएला तर्फ ३१ लाख ५९ हजार रुपैयाँबराबरको ३६२ किलो खुद्रामा बिक्री गर्नका लागि विभिन्न प्रकारका एन्टिबायोटिक औषधी निर्यात गरेको छ । चालुआर्थिक वर्षमा भेनेजुएलासँग द्विपक्षीय वैदेशिक व्यापार गर्दा ७ लाख ७० हजार रुपैयाँबराबरको वैदेशिक व्यापार घाटा बेहोरेको छ ।
यस्तै, गत आर्थिक वर्ष २०८१÷८२ मा नेपालले भेनेजुएलासँग १ करोड ३४ लाख ७१ हजार रुपैयाँबराबरको द्विपक्षीय वैदेशिक व्यापार गरेको थियो । जसमा भेनेजुएलाबाट ७६ लाख २२ हजार रुपैयाँ बराबरको वस्तु तथा सामान आयात र नेपालबाट ५८ लाख ४९ हजार रुपैयाँबराबरको वस्तु तथा सामान निर्यात भएको थियो ।
उक्त वर्ष नेपालले भेनेजुएलासँग द्विपक्षीय वैदेशिक व्यापारमा १७ लाख ७३ हजार रुपैयाँबराबरको व्यापार घाटा बेहोरेको तथ्यांकमा उल्लेख गरिएको छ । चालु आवमा मात्रै नेपालको ८ खर्ब ८२ अर्ब बढीको वैदेशिक व्यापार भएकोमा भेनेजुयलासँगको व्यापार भने निकै कम मात्रामा रहेको देखिन्छ ।
जसले गर्दा भेनेजुयलामा पैदा हुने राजनीतिक वा आर्थिक संकटको प्रत्यक्ष ठूलो असर नेपालमा नपर्ने अनुमान गर्न सकिन्छ । तर, आर्थिक विश्लेषकहरूले यो संकटले विश्वभर भने महँगीको नयाँ लहर ल्याउन सक्ने चेतावनी दिएका छन् ।
क्यारिबियन समुद्री क्षेत्रमा बढेको सैन्य सक्रियताका कारण विश्वव्यापी ढुवानी मार्गहरू प्रभावित हुँदा ढुवानी खर्चमा समेत उल्लेख्य वृद्धि हुने र यसले गर्दा इन्धन मात्र नभई दैनिक उपभोग्य वस्तुहरूको मूल्य समेत बढ्ने देखिएको छ ।










प्रतिक्रिया