काठमाण्डौं बाहिर मेरियटको पहिलो ५ तारे होटल ‘लुम्बिनी मेरियट रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा आउँदै


रुपन्देही जिल्लाको सियारीे वडा नं. ५ मा सञ्चालनमा रहेको लुम्विनी प्यालेस रिसोर्टले लुम्बिनी मेरियट रिसोर्ट एण्ड स्पा ब्राण्डमा पाँचतारे होटल सञ्चालन गर्ने भएको छ ।

२०७५ सालदेखी सञ्चालना आइ विगत ३ वर्षदेखि निरन्तर मुनाफामा सञ्चालन भैरहेको लुम्विनी प्यालेस रिसोर्ट लिमिटेडले आफ्नो सेवालाई स्तरोन्नती गर्न यस्तो सहकार्य गरेको हो । योसँगै मेरियट इन्टरनेशनलको काठमाण्डौ उपत्यका वाहिरको पहिलो र एकमात्र उपस्थिति लुम्बिनी मेरियट रिसोर्ट एण्ड स्पामा भएको छ ।

यो सहकार्यका लागि रिसोर्टको तर्फबाट अध्यक्ष दिपक पाण्डे प्रबन्ध सञ्चालक रोशन कुमार न्यौपाने लगायत रिसोर्टका सञ्चालक एवम् उच्चपदस्थ पदाधिकारीज्यहरु र मेरियट इन्टरनेशनलको तर्फबाट एशिया प्यासिफिक हेर्ने प्रमुख सञ्चालन अधिकृत निरज गोविल, मेरियट इन्टरनेशनलका वरिष्ठ उपाध्यक्ष किरन एण्डिकोट लगायतका उच्चपदस्थ पदाधिकारीको संलग्नतामा ग्लोबल हस्पिटालिटी लाइसेन्सििङ एस ए आर एल (मेरियट इन्टरनेशनल) सँग होटल म्यानेजमेण्ट एग्रिमेण्ट भएको हो ।

लुम्विनी प्यालेस रिसोर्ट लिमिटेडले यसै आर्थिक वर्षको अन्तसम्ममा पाँच तारे रिसोर्टको सञ्चालन अनुमति लिने लक्ष्य लिएको छ । नेपालको पर्यटन उद्योगमा विल्कुलै नयाँ सुविधाहरु सहित नेपालको पहिलो र एकमात्र वाटर रिसोर्टको रुपमा सञ्चालन हुने रिसोर्टमा अत्याधुनिक, एवम् उच्च प्रविधियुक्त वाटर फाउण्डेशन, वाटर शोज, म्युजिकल पाउण्टेशन, थ्रिडी वाटर स्क्रीन, मोटर बोटि मिनी क्रुइज, वाटर रेष्टुरेण्ट, वाटर स्पा लगायतका दर्जनौं सेवाहरु उपलब्ध हुने रिसोर्टले जनाएको छ ।

हाल विश्वभर चुनौतीको रुपमा रहेको क्लाइमेट चेञ्ज, ग्लोबल वार्मिङ, इकोलोजिकल इम्ब्यालेन्स लगायतका विषयहरु समेतलाई ह्दयङ्गम गर्दै रिसोर्टलाई नेपालको पहिलो र एकमात्र ग्रीन सर्टिफिकेशन (गोल्ड) सहितको वेलनेश रिट्रिट एण्ड इको रिसोर्टको रुपमा विकास गर्ने लक्ष्य लिइएको छ । यसका मापदण्डहरु वातावरण संरक्षण, उर्जा वचत, दिगो विकास र कम प्रदुषणहरु लगायतका प्रावधानहरुको पूर्ण परीपालना गर्ने लक्ष्य लिइएको रिसोर्टले जनाएको छ । त्यस्तै गरी प्राकृतिक एवम् दिगो मानव स्वास्थ्य एवम् नेचुरोथेरापीलाई पनि प्रवद्र्धन गर्दै अर्गानिक सर्टिफिकेशन सहितको नेपालको पहिलो र एकमात्र अर्गानिक ५ स्टार वेलनेश लग्जरी रिसोर्टको रुपमा विकास गर्ने लक्ष्य लिइएको रिसोर्टले जनाएको छ ।

त्यसैगरी खेल पर्यटनलाई प्रवर्द्धन गर्न रिसोर्टलाई एउटै छातामुनी नेपालमा खेलिने सम्पूर्ण प्रमुख खेलहरुको लागि आवश्यक हुने अन्तराष्ट्रिय स्तरको सम्पूर्ण पुर्वाधार सहितको नेपालको पहिलो र एक मात्र मल्टी स्पेशियालिटी रिसोर्टको रुपमा विकास गर्ने लक्ष्य रिसोर्टले लिएको छ ।

साथै, शान्तीका प्रतिक गौतम बुद्धको जन्मस्थल लुम्विनीको र नेपालको विविध सांस्कृतिक धरोहरहरुको प्रबद्र्धन गर्न रिसोर्टमा बुद्ध थिम पार्क, मिनी स्तुपा, मिनी बुद्ध म्युजियम, मेडिटेसन जोन, कल्चरल सेन्टर लगायतका अदभुत सम्मिश्रण समेत उपलब्ध हुने रिसोर्टको भनाई छ ।

पूर्ण सञ्चालनमा आएपश्चात विश्व पर्यटनका विभिन्न विधाहरुको अनुभव हासिल गर्न चाहने एवम् अन्तराष्ट्रिय स्तरका सभासम्मेलन गर्न चाहने तथा विवाह लगायतका सर्वाङ्गीण महत्वका व्यक्तिगत कार्यक्रमहरुको लागि अन्तराष्ट्रिय स्तरमै ख्याति प्राप्त नेपालकै पहिलो र एकमात्र उत्कृष्ट गन्तव्यको रुपमा यस रिसोर्ट स्थापित हुने विश्वास लिइएको छ ।

स्थानीय रोजगारी, स्थानीय उत्पादन, पर्यटन प्रवद्र्धन गरी देशको अर्थतन्त्रमा प्रत्यक्ष एवम परोक्ष योगदान गरी देशकै एउटा नमुना गन्तव्य स्थलको रुपमा स्थापित गर्ने रिसोर्टको योजना रहेको छ ।

साथै, रिसोर्टले प्राथमिक सेयर निस्कासन गर्नको लागि आवश्यक तयारी समेत अघि बढाइएको रिसोर्टले जनाएकोछ ।

प्रकाशित मिति: २४ पुस २०८२, बिहिबार  १२ : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।