दुई वर्षदेखि प्रिमियममा आईपीओ जारी गर्न पाइपलाइमा बसेका कम्पनी अलपत्र, बोर्ड छलफलमै सीमित


काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्न अनुमती नदिँदा झण्डै दर्जन कम्पनी अलपत्र अवस्थामा छन् । बोर्डले अनुमती नदिँदा केही कम्पनीहरुले १०० रुपैयाँमै सेयर निष्कासन गर्न बाध्य भएका छन् ।

हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी लिमिटेड (ह्याम्स)ले प्रिमियममा आईपीओ निष्काशन गर्न अनुमति नदिएपछि प्रिमियम स्थगित गरेर अंकित मूल्यमा आइपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको हो । ह्याम्स हस्पिटलले आइपीओ निष्कासनका लागि २०८० पुस ६ गते आवेदन दिएकामा हालसम्म पनि अनुमति पाएको छैन ।

हस्पिटलले प्रिमियम मूल्यसहित प्रति कित्ता २८८ रुपैयाँमा ११ लाख २५ हजार कित्ता सेयर निष्कासन अनुमति माग गर्दै सेबोनमा आवेदन दिएको थियो । अहिले अंकित मूल्य १०० रुपैयाँमा २४ करोड रुपैयाँ बराबरको २४ लाख कित्ता सेयर निष्कासन गर्न लागेको छ ।

बोर्डका तत्कालीन अध्यक्ष रमेश हमालले २०८० कात्तिक १ गते हिमालयन रिइन्स्योरेन्सलाई प्रिमियम मूल्यमा प्राथमिक शेयर निष्कासनको अनुमति दिएका थिए । जसको आईपीओ गत शुक्रबार नै बाँडफाँड समेत भइसकेको छ । त्यसयता कुनै पनि कम्पनीले प्रिमियममा शेयर निष्कासन अनुमति पाएका छैनन् ।

बोर्ड भने प्रिमियम र बुक बिल्डिङमा आईपीओ निष्कासनको विषयलाई समेटेर धितोपत्र दर्ता तथा निष्कासन नियमावली संशोधन गर्ने तयारी गरिरहेकोले अनुमती प्रक्रिया ढिलो भएको बताउँदै आइरहेको छ । अहिले भएको नियमावली संशोधन गरेर मात्रै अनुमति दिने योजनामा बोर्ड रहेको छ ।

यता, प्रिमियममा शेयर निष्कासन अनुमति लामो समयदेखि रोकिएको भन्दै अर्थ मन्त्रालयले किन नेपाल धितोपत्र बोर्डलाई ‘अनुमति किन नदिएको’ भन्दै पत्र लेखेको छ । तर, बोर्डले हालसम्म पनि त्यसको जवाफ पठाएको छैन । मन्त्रालयले पत्रको जवाफ दिने तयारी भइरहेको नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले बताए ।

“प्रिमियममा शेयर निष्कासन अनुमति किन नदिएको भन्दै अर्थ मन्त्रालयले पठाएको पत्र हामीले पाएका छौँ । त्यसको जबाफ दिने तयारी भइरहेको छ,” सेबोन अध्यक्ष श्रेष्ठले भने । प्रिमियम र बुक विल्डिङ दुवै प्रकियाका आईपीओलाई निष्काशन अनुमती दिने योजना भइरहेको उनले बताए । प्रक्रिया पुर्याएकाहरुलाई शेयर निष्कासन अनुमति दिने योजनामा हामी छौ,” श्रेष्ठले भने।

कुन कम्पनीको कति छ पाइपलाइनमा ?

सेच्चुरी इनर्जी, नुम्बर हिमालयन हाइडोपावर, शिवम् होल्डिङ लिमिटेड, जगदम्बा स्टिल, सौर्य सिमेन्ट इन्डट्रिज, मारुती सिमेन्ट, रिद्धिसिद्धि सिमेन्ट, अम्बे स्टिल, हुलास इन्फ्रा, कैलाश हेलिकोप्टर सर्भिस लिमिटेडलगायतले प्रिमियममा आईपिओ निष्काशन गर्न आवेदन दिएका थिए ।

जसमध्ये जगदम्बा स्टिलले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २०० रुपैयाँ प्रिमियम सहित प्रतिकित्ता ३०० रुपैयाँको दरले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले २ करोड ७० हजार कित्ता साधारण सेयर जारी गरेर ६ अर्ब २ करोड १० लाख रुपैयाँ लगानी जुटाउन लागेको हो ।

यस्तै, शिवम् होल्डिङ लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ११० रुपैयाँ प्रिमियम सहित प्रतिकित्ता २१० रुपैयाँका दरले १ करोड १६ लाख कित्ता आईपीओ जारी गर्न लागेको हो । उक्त मात्रामा आइपीओ जारी गरेर कम्पनीले २ अर्ब ४३ करोड ६० लाख रुपैयाँ लगानी जुटाउने तयारी गरेको छ ।

यस्तै मारुती सिमन्टले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २७७ रुपैयाँ प्रिमियम मूल्य सहित ३७७ रुपैयाँका दरले १ करोड १६ लाख कित्ता साधारण सेयर निष्काशन मार्फत ४ अर्ब ३७ करोड ३२ लाख रुपैयाँ लगानी जुटाउन लागेको हो ।

यता, रिद्धिसिद्धि सिमेन्टले २ अर्ब ६० करोड ५९ लाख १८ हजार रुपैयाँ बराबरको १ करोड २१ लाख ७१ हजार ५०० कित्ता आइपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले सुरुमा १०० रुपैयाँ अंकित मूल्य तोकेकोमा ११४.१० रुपैयाँ प्रमियम हुल्क तोकेर २१४.१० रुपैयाँका दरले आइपीओ निष्काशन गर्न लागेको हो ।

यसैगरी, अम्बे स्टिलले १ करोड ११ लाख ९२ हजार ७२७ कित्ता साधारण सेयर निष्काशन गरेर ३ अर्ब ३९ करोड १३ लाख ९६ हजार रुपैयाँ बराबरको लगानी जुटाउने तयारी गरेको छ । कम्पनीले सुरुमा १०० रुपैयाँ अंकित मूल्यमा आइपीओ निष्काशन गरेकोमा पछि २०३ रुपैयाँ प्रिमियम मूल्य सहित ३०३ रुपैयाँका दरले आइपीओ निष्काशन गर्न लागेको छ ।

यस्तै, हुलास इन्फ्राले १०० रुपैयाँ अंकित मूल्यमा २३३ रुपैयाँ ५६ पैसा प्रिमियम शुल्क निर्धारण गरेर ३३३ रुपैयाँ ५६ पैसाका दरले ३५ लाख ४७ हजार १८८ कित्ता आइपीओ निष्काशन गर्न लागेको छ । उक्त मात्रामा आइपीओ निष्काशन गरेर कम्पनीले १ अर्ब १८ करोड ३२ लाख रुपैयाँ बराबरको लगानी जुटाउने भएको छ ।

यसैगरि, कैलाश हेलिकोप्टर सर्भिस लिमिटेडले पनि प्रिमियममा आइपीओ निष्काशन गर्न अनुमति मागेको छ । धितोपत्र बार्डका अनुसार लिमिटेडले ३ लाख ५० हजार आइपीओ निष्काशन गरेर ११ करोड ४४ लाख ५० हजार लगानी जुटाउने तयारी गरेको छ । लिमिटेडले सुरुमा १०० रुपैयाँ अंकित मूल्यमा २२७ रुपैयाँ प्रिमियम शुल्क जोडेर ३२७ रुपैयाँका दरले आइपीओ निष्काशन गर्न अनुमति मागेको छ ।

यस्तै छायाँदेवि कम्प्लेक्स १०० रुपैयाँ अंकित मूल्यमा ३०० रुपैयाँ प्रिमियम शुल्क जोडेर ४०० रुपैयाँ दरले आइपीओ निष्काशन गर्नु अनुमति मागेको छ । लिमिटेडले ५७ करोड ५० लाख रुपैयाँ लगानी जुटाउन १४ लाख ३७ हजार ५०० कित्ता आइपीओ निष्काशनको अनुमति मागेको हो ।

यता, हालसम्म बुक बिल्डिङमार्फत आवेदन दिएका कम्पनीहरुमध्ये सर्बोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सले आईपीओ निष्काशन गरेका छन् भने अन्य तिन कम्पनीको सेयर पाइपलाइनमा नै रहेको छ ।
बुक बिल्डिङमार्फत अर्घाखाँची सिमेन्ट, टाइम फार्मास्यूटिकल्स लिमिटेड र पुर्वाञ्चल ल्युब आयल लिमिटेडले आईपीओ निष्काशन गर्न लागेका हुन् ।

कस्ता कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न पाउँछन् ?

कुनै कम्पनीले १०० रुपैयाँको शेयरलाई प्रिमियम थपेर बेच्न चाहन्छ भने त्यो कम्पनी नाफामा भएको, वित्तीय अवस्था राम्रो भएको, विज्ञहरूबाट मूल्य जाँच गराएको र रेटिङ राम्रो भएको हुनुपर्छ। धितोपत्र दर्ता तथा निष्कासन नियमावलीले लगातार तीन आर्थिक वर्षसम्म नाफामा रहेको प्रतिशेयर नेटवर्थ प्रतिशेयर अंकित मूल्यभन्दा बढी रहेका कम्पनीलाई प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न सक्ने व्यवस्था छ ।

यस्तै, कम्पनीको प्रतिशेयर नेटवर्थ (सम्पत्ति र दायित्व बीचको अन्तर) उसको प्रतिशेयर चुक्ता पूँजीभन्दा धेरै हुनुपर्छ। कम्पनीले तोकेको प्रिमियम मूल्य सही छ कि छैन भनेर बाहिरी विज्ञ वा आधिकारिक मूल्याङ्कन गर्ने संस्थाबाट ’भ्यालूएसन रिपोर्ट’ प्रमाणित गराउनुपर्छ। कम्पनीको क्रेडिट रेटिङ कम्तिमा ’औसत’ वा सोभन्दा माथिल्लो स्तरको हुनुपर्छ। यसले कम्पनी कति सुरक्षित छ भन्ने देखाउँछ।

 

 

 

प्रकाशित मिति: २५ पुस २०८२, शुक्रबार  १२ : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।