नेशनल लाईफ इन्स्योरेन्सको ३८ औं वार्षिक साधारण सभा सेयरधनीले कति पाए लाभांश ?


नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । इन्स्योरेन्सको बुधबार सम्पन्न ३८ औं वार्षिक साधारण सभाले सेयरधनीलाई ४ प्रतिशत बोनस, ८.५ प्रतिशत नगद लाभांश र उल्लेदित बोनस र नगदको कर प्रयोजनका लागि ०.६५७८ प्रतिशत नगद गरी १३.१५७८ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको हो ।

प्रस्तावित बोनस स्वीकृत भएसँगै इन्स्योरेन्सको चुक्ता पुँजी ५ अर्ब ६९ करोड १६ लाख ४९ हजार ३२५ रुपैयाँ कायम भएको छ ।

इन्स्योेरन्स सञ्चालक समिति अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा सम्पन्न साधारण सभाले साधारण सभाका अन्य नियमित प्रस्तावहरु पारित गरेको छ ।

आर्थिक वर्ष २०८१।०८२ मा व्यवसाय सन्तोषनजनक रहेको जनाएको कम्पनीका अनुसार कूल बीमाशुल्क १०.२६ प्रतिशतले बृद्धि भई २ हजार २५९.३७ करोड पुगेको छ । समिक्षा वर्षको संचालनबाट जम्मा १ हजार ४९८.५९ करोड खूद थप रकम कूल बीमा करार दायित्वमा सारिएको जनाएको कम्पनीले कूल बीमा करार दायित्व गत वर्षको तुलनामा १८.८३ प्रतिशतले बृद्धि भई वर्षान्तमा ९ हजार ४५८.७७ करोड पुगेको जनाएको छ । यसै गरी कम्पनीले समीक्षा वर्षमा मृत्यु दावी, अवधि समाप्ती एवं आंशिक अवधि समाप्ती दावी, सर्मपण मूल्य, दावी एंव अन्य दावी भुक्तानीतर्फ ९४८.६५ करोड भुक्तानी गरेको जनाएको छ ।

कम्पनीको कूल लगानी समिक्षा वर्षमा ११.०४ प्रतिशतले बृद्धि भई वर्षान्तमा ७ हजार ७९०.२० करोड पुगेको छ । कम्पनीको लगानी प्रतिफलमा स्थायित्व ल्याउन दीर्घकालिन निक्षेपमा अधिकतम् लगानी गर्न कम्पनी प्रयासरत रहेको जनाएको छ । कम्पनीको लगानीमा वार्षिक औसत प्रतिफल दर आर्थिक वर्ष २०८१।०८२ मा ८.७६ प्रतिशत रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले आफ्नो लगानी विविधिकरण गर्न प्रयासरत रहेको र सोही क्रममा कम्पनीले आर्थिक वर्ष २०८२।०८३ मा हिमालयन बैंकको २ करोड ८० लाख १२ हजार ४४७.४५ कित्ता संस्थापक सेयरहरु ३ अर्ब ३३ करोड १ लाख १९ हजार ७५२ रुपैयाँ ८५ पैसामा खरीद गरेको र उक्त बैंकमा कम्पनीको सेयर स्वामित्व हिस्सा १३.६१ प्रतिशत पुगेको छ । यसै गरी कम्पनीले मर्चेण्ट बैंकरको रुपमा प्रवर्धन गरेको सहायक कम्पनी नेशनल क्यापिटलले आवश्यक ईजाजतपत्र प्राप्त गरी संचालनमा आएको र गत आर्थिक वर्षमा पहिलो पटक ७ प्रतिशत नगद लाभांश वितरण गरेको इन्स्योरेन्सले जनाएको छ ।

कम्पनीले ईटहरी शाखाको स्वांमित्वमा रहेको जग्गामा नयां आधुनिक व्यापारिक भवन निर्माण प्रकृयाअघि बढाएको पनि जनाएको छ ।

प्रकाशित मिति: ३० पुस २०८२, बुधबार  १४ : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।