नेपाल टेलिकमले साधारण सभाबाट कति लाभांश पारित गर्यो ?


नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकमल) ले सेयरधनीलाई वितरण गर्ने लाभांश साधारण सभाबाट अनुमोदन गरेको छ । कम्पनीले अठारौँ वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०८१।८२ को मुनाफा रकम मध्येबाट प्रतिशेयर ३० रुपैयाँका दरले अर्थात ३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको हो ।

साधारणसभामा करिब ९१.५६ प्रतिशत शेयरको प्रतिनिधित्व गर्ने सेयरधनीहरुको उपस्थिति रहेको थियो । उक्त सभाले आर्थिक वर्ष २०८१।८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरु उपर छलफल गरी सर्वसम्मतले पारित गरेको छ ।

कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले साधारणसभामा उपस्थित सेयरधनीहरुलाई स्वागत गर्दै कम्पनीको अठारौँ वार्षिक प्रतिवेदन पेश गरेकी थिइन् । प्रतिवेदन प्रस्तुत गर्दै उनले यस क्षेत्रमा रहेको तीव्र प्रतिष्पर्धी वातावरणमा मुनाफाभन्दा बढी सेवाभावलाई उच्च प्राथमिकतामा राखी भौगोलिक रुपले अति विकट तथा दुर्गम क्षेत्रमा सेवा विस्तार तथा वितरण गर्दै डिजिटल नेपाल बनाउने नेपाल सरकारको अवधारणामा सहयोग गर्ने, विद्युतीय सुशासनको क्षेत्रमा सदाझैं थप सहयोगी भूमिका निर्वाह गर्ने तथा अप्टिकल फाइबरको माध्यमबाट सूचना महामार्ग निर्माण गरी डिजिटल डिभाइड कम गर्ने तर्फ कम्पनीले आफ्ना कार्यक्रमहरुलाई परिलक्षित गरिरहेको बताइन् ।

कम्पनीले भावी दिनमा मेगा परियोजना सञ्चालन गर्नु पर्ने र थप पुँजी आबश्यक हुने अवस्थामा बोनस सेयर समेत उपलब्ध गराइने प्रतिवद्धता व्यक्त गर्दै अध्यक्ष अर्यालले भनिन् ‘आन्तरिक तथा बाह्य वातावरणमा देखिएका विविध प्रतिकूलताकाबीच कम्पनीले कुल ३८ अर्ब १९ करोड रुपैयाँ आम्दानी गरी ६ अर्ब रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । समीक्षा अवधिमा कम्पनीले कर तथा शुल्कवापत आफ्नो कूल आयमध्ये १८ अर्ब ४६ करोड रुपैयाँ राजस्वको रुपमा नेपाल सरकारलाई बुझाइ राष्ट्रिय अर्थतन्त्रमा योगदान पु¥याएको छ ।’

यसका साथै उनले जोखिम न्यूनीकरणको लागि आय सुनिश्चितताको परीक्षण, कार्यसम्पादन परीक्षण तथा प्राविधिक परीक्षणको कार्यलाई प्राथमिकताका साथ निरन्तरता दिइएको जानकारी गराउँदै कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा वातावरण संरक्षण, स्वास्थ्य, शिक्षा तथा खेलकुद लगायतका क्षेत्रहरुमा सदाझैँ सहयोग उपलब्ध गराउँदै आएको बताइन् ।

निकट भविष्यमा नै देशको राजधानी लगायत ठूला शहरहरुबाट ५ जी सेवा सुचारु गर्ने प्रक्रियामा रहेको जानकारी दिइन् । देशको भौगोलिक अवस्था र सापेक्षित रुपमा अन्य पूर्वाधारहरुको पहुँच विस्तार हुन नसकेको अवस्थामा कम्पनीले सेवाभावबाट प्रेरित भई सूचना प्रविधिलाई थप गुणस्तरीय तथा प्रभावकारी बनाउन फोर जी (एलटिइ) प्रविधिमा आधारित भोल्टे सेवा तथा एफटिटिएचसेवा विस्तारलाई सफलतापूर्वक सम्पन्न गरी स्तरोन्नति तथा वितरणलाई निरन्तरता दिंदै आएको उनले बताइन् ।

वि.सं. २०८२ असोज मसान्तसम्ममा सातै प्रदेशका ७७ जिल्लाका कुल ७४९ स्थानीय तहमा अत्याधुनिक दूरसञ्चार फोर जी (एलटिइ) सेवाको पहुँच विस्तार भएको कम्पनीले जनाएको छ । २०८२ असोज महिनासम्ममा देशका ७७ वटै जिल्लामा उच्च गतिको एफटिटिएच सेवा विस्तार भएको छ ।

अध्यक्ष अर्यालले डाटा सेवा तर्फ दिनानुदिन ग्राहक आकर्षण बढ्दै गइरहेको सन्दर्भमा डाटाको गुणस्तर सुधार गरी लागत प्रभावी बनाउँदै कुशल रणनीतिका साथ बजार हिस्सा बढाउन विशेष प्रयत्न गरिने उल्लेख गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिष्ठित संस्थाहरुसँग सम्बन्ध स्थापित गरी कम्पनीको हित अनुकूल हुनेगरी साझेदार संस्थाहरुसँगको सहकार्यकम भ्यालु एडेड एण्ट कन्टेन्ट बेस्ड सर्भिस विस्तार गरिने बताइन् ।

कम्पनीले अठारौँ साधारणसभाले पारित गरेबमोजिमको लाभांश रकम आज २०८२ पुस ३० गतेदेखि नै एनएमबी बैंकमार्फत सर्वसाधारण सेयरधनीहरुलाई वितरण गर्ने व्यवस्था मिलाएको जनाएको छ ।

प्रकाशित मिति: ३० पुस २०८२, बुधबार  १६ : १९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।