सेबोनको मापदण्ड

सेयर बजारमा सुधार ल्याउन म्युचुअल फन्डको बीजपुँजीमा लचकता : ५ र १० प्रतिशत लगानी गरे पुग्ने


काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सामूहिक लगानी कोष (म्युचुअल फन्ड)को बीजपुँजी लगानीमा नयाँ प्रावधान ल्याएको छ। सेबोनले माघ १ गतेदेखि लागू हुने सामूहिक लगानी कोष नियमावली, २०६७ को नियम २९(२) बमोजिम योजना व्यवस्थापकले कायम गर्नुपर्ने बीज पूँजीको प्रतिशत दरमा परिमार्जन गरेकोे हो ।

नयाँ व्यवस्थाअनुसार बोर्डले तोकेको निश्चित मापदण्ड पूरा गर्ने योजना व्यवस्थापकले आफूले सञ्चालन गर्ने योजनाहरूमा योजनाको आकारको १० प्रतिशत वा ५ प्रतिशत बीज पूँजी कायम गर्न सक्नेछन् । यसअघि योजना व्यवस्थापकहरूले सबै योजनाहरूमा अनिवार्य रूपमा १५ प्रतिशत बीज पूँजी कायम गर्दै आएका थिए।

त्यस्तै, योजनाको पछिल्लो ३ वर्षको प्रति इकाइ मासिक खुद सम्पत्ति मूल्यको औसत सो योजनाको प्रति इकाइ अंकित मूल्यभन्दा बढी भएको, यसरी मासिक खुद सम्पत्तिको गणना गर्दा कुनै योजनाको अवधि ३ वर्षभन्दा कम भएमा सो अवधिको र ३ वर्षभन्दा बढी भएमा पछिल्लो ३ वर्षको औसतलाई मात्र समावेश गर्नुपर्नेछ।

योजना व्यवस्थापकको रेटिङ न्यूनतम रेटिङभन्दा बढी भएको, योजना व्यवस्थापक तथा कोष सुपरिवेक्षक कुनै कारबाही वा निलम्बनमा परेको भए सो कारबाही भएको वा निलम्बन फुकुवा भएको ६ महिना अवधि व्यतित भइसकेको हुनुपर्ने मापदण्ड तोकिएको छ।

योजना व्यवस्थापकसँग कम्तीमा ५ वर्ष सामूहिक लगानी योजना सञ्चालन अनुभव भएका व्यवस्थापकले कम्तीमा ५ प्रतिशत रकम बीज पुँजीको रुपमा लगानी गर्न सक्नेछन्। यसबाहेक ५ प्रतिशत बीज पुँजीका लागि योजना व्यवस्थापकले व्यवस्थापन गरेको योजनाको कुल पुँजी ५ अर्ब रुपैयाँभन्दा बढी भएको, सेबोनबाट सञ्चालन अनुमति प्राप्त गरी सञ्चालनमा रहेका योजनाहरुको पछिल्लो ३ वर्षको प्रतिइकाइ मासिक खुद सम्पत्ति मूल्यको औसत सो योजनाको प्रतिइकाइ अंकित मूल्यभन्दा बढी भएको र मासिक खुद सम्पत्तिको गणना गर्दा कुनै योजनाको अवधि ३ वर्षभन्दा कम भएमा सो अवधिको र ३ वर्षभन्दा बढी भएमा पछिल्लो ३ वर्षको औसतलाई मात्र समावेश गर्नुपर्ने मापदण्ड तोकिएको छ ।

यसैगरी, बीजपुँजीको सुविधा प्रयोग गरी सञ्चालन गरेको योजनाको आकार १० अर्ब रुपैयाँभन्दा बढी हुनु नहुने मापदण्ड तोकिएको छ भने खुलामुखी योजनाको हकमा आकार वृद्धि गर्दा बीजपुँजी रकम समायोजन गर्न सकिन तर, यसरी समायोजन गर्दा पहिला लगानी भइसकेको बीजपुँजी रकमभन्दा कम हुने गरी घटाउन नपाइने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति: ६ माघ २०८२, मंगलबार  ०८ : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।