नेपाल टेलिकमको नाफामा १२.९८ प्रतिशतको गिरावट


काठमाडौँ । नेपाल टेलिकम लिमिटेडको नाफा घटेको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ४ अर्ब १६ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.९८ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४ अर्ब ७८ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा कम्पनीको कूल आम्दानी १.५ प्रतिशत घटेर १९ अर्ब २२ करोड ७२ लाख रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १९ अर्ब ५१ करोड ९२ लाख रुपैयाँ कूल आम्दानी गरेको थियो । कम्पनीको राजश्व आम्दानी १.७३ प्रतिशतले बढेर १७ अर्ब २९ करोड ९७ लाख रुपैयाँ पुगेको छ ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १२ रुपैयाँ ९८ पैसा घटेर ४६ रुपैयाँ २७ पैसामा सीमित भएको छ । पुसको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ५३९ रुपैयाँ ५१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १८.२८ गुणा रहेको छ ।

गत वर्षको सोही अवधिमा कम्पनीको प्रतिशेयर नेटवर्थ ५०६ रुपैयाँ ३४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३०.३३ गुणा रहेको थियो ।

चुक्ता पूँजी १८ अर्ब रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोषमा ७९ अर्ब ११ करोड १८ लाख रुपैयाँ सञ्चित छ ।

प्रकाशित मिति: २९ माघ २०८२, बिहिबार  १२ : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।