टिप्पणी

धितोपत्र बोर्डलाई नेप्सेको चेतावनी, “प्राथमिक निष्काशनमा बुकविल्डिङ प्रणाली खारेज गर, लगानीकर्ता संरक्षण गर्न सक्दैनौं”


नेपाल स्टक एक्स्चेञ्ज लिमिटेड (नेप्से) ले नेपाल धितोपत्र बोर्डलाई बुकविल्डिङ प्रणाली खारेज गर्न चेतावनी दिएको छ । नेप्सेले कम्पनी तथा सेयरको अभिलेख व्यवस्थापन गर्ने निकाय बिचको लडाईमा आफु पनि समेटिँदै लगानीकर्तालाई अफ्टेरोमा पार्ने निर्णय गरेर बुकविल्डिङ प्रणालीको औचित्व शुन्यमा झारिदिएको हो ।

गत शुक्रबार नेपाल स्टक एक्स्चेञ्चले सूचीकरण आवेदन प्राप्त भएको एक महिनामा रिलायन्स स्पिनिङ मिल्सको साधारण सेयरलाई सूचीकरण गर्यो । बुकविल्डिङ प्रणालीबाट सर्वसाधारणमा निष्काशन भएको १९ लाख २६ हजार ६०० कित्ता सहितको १ करोड ९० लाख कित्ता सेयर सूचीकरण गरी सोमबारदेखि आरएसएमएल संकेतबाट कारोबार सुरु गराएको हो ।

नेप्सेले अंकित मूल्यमा साधारण सेयर निष्काशन गरेको अर्को कम्पनी साल्पा विकास बैंकको साधारण सेयर पनि सूचीकृत गरी सोमबारदेखि नै एसएबीबीएल संकेतमा कारोबार सुरु गराएको छ । नेप्सेले दुवै कम्पनीको पहिलो कारोबारका लागि ओपनिङ् रेन्ज प्रदान गर्दा १०० रुपैयाँदेखि ३०० रुपैयाँ प्रतिकित्ता निर्धारण गरेको छ ।

साल्पा विकास बैंकले १०० रुपैयाँ अंकित मूल्यमा सर्वसाधारणमा सेयर निष्काशन गरेको थियो । यता रिलायन्स स्पिनिङ मिल्सले बुकविल्डिङ प्रणालीबाट निष्काशन गरेको सेयर योग्य संस्थागत लगानीकर्ताहरुलाई ९१२ रुपैयाँ प्रतिकित्ताको दरमा ७ लाख ७० हजार ६४० कित्ता र १० प्रतिशत छुटमा सर्वसाधारणमा ८२० रुपैयाँ ८० पैसा प्रतिकित्ताको दरमा बिक्री गरेको थियो ।

अब कसरी नेप्सेले बुकविल्डिङ प्रणालीलाई खारेज गर्ने चेतावनी दियो भन्ने विषय हेरौं ।

रिलायन्स स्पिनिङ मिल्सको बुकविल्डिङ प्रणालीमा योग्य संस्थागत लगानीकर्ताहरुबाट शीलबन्दीमा ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँको आवेदन लिएको थियो । आफ्नै रोहबरमा ९१२ रुपैयाँ सेयर मूल्य कायम गराएको नेप्सेले कुन आधारमा ती लगानीकर्ताको सम्पत्तीको मूल्य फेरी ३०० रुपैयाँ कायम गर्यो भन्ने चिन्ता रिलायन्सको सेयर लिएका लगानीकर्ताहरुमा परेको छ । कम्पनीले त तोकिएको मूल्यमा नै सेयर बिक्री गरिसक्यो, त्यसको रकम कम्पनीमा जम्मा पनि भइसक्यो । तर नेप्सेले विश्वव्यापी प्रचलन अनि नेप्सेकै विगतको प्रचलनलाई पाखा लगाएर सर्वसाधारणले स्वीकार गरेको सेयर मूल्यलाई पनि लत्याउने काम गर्यो । नेप्सेको यो कदमले बुकविल्डिङ प्रणालीको औचित्यमा धितोपत्र बोर्डलाई सोच्न पर्ने अवस्थामा पुर्याइदिएको छ भने यो प्रणालीबाट सूचीकरण हुन चाहने कम्पनीहरु पनि अनिच्छुक हुने अवस्था उत्पन्न भएको छ ।

मुख्य कुरा लगानीकर्ताको लगानी संरक्षण, उनीहरुको हीतमा काम गर्नुपर्ने निकाय नेप्से आन्तरिक र बाह्य कलहमा मुछिँदा त्यसको शिकार लगानीकर्ता नै भएका छन् ।

नेप्सेले यस अघि कम्पनीहरुको प्रतिसेयर नेटवर्थको तीन गूणासम्मको मूल्यलाई ओपनिङ रेन्जको माथिल्लो सीमा मान्दै आएको थियो । २ वर्ष पहिले यही प्रणालीबाट पहिलो पटक सेयर निष्काशन गरेको सर्वोत्तम सिमेन्टको सेयरमा ४०१ रुपैयाँदेखि ६०१ रुपैयाँको रेन्जमा नेप्सेले योग्य संस्थागत लगानीकर्ताबाट आवेदन लिएको थियो । सो कम्पनीको पहिलो कारोबार मूल्य १८५ रुपैयाँ ३६ पैसादेखि ५५६ रुपैयाँ ८ पैसासम्मको रेन्ज नेप्सेले प्रदान गरेको थियो ।

सर्वोत्तम सिमेन्टलाई प्रतिसेयर नेटवर्थका आधारमा ओपनिङ रेन्ज प्रदान गरेको नेप्सेले अहिले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २४२ रुपैयाँ नेटवर्थ भएको रिलायन्स स्पिनिङ मिल्सलाई १०० देखि ३०० रुपैयाँको रेन्ज दिएको हो । गत महिना रिलायन्स स्पिनिङ मिल्स २४२ रुपैयाँको प्रतिसेयर नेटवर्थको विबरण सहित सेयर सूचीकरणका लागि नेप्से पुगेको थियो । धितोपत्र बोर्डबाट स्वीकृत उक्त नेटवर्थका आधारमा तीन गूणासम्मको ओपनिङ रेन्ज दिँदा पनि ७२६ रुपैयाँसम्ममा कम्पनीको पहिलो कारोबार हुन सक्ने देखिन्छ । जुन मूल्य पनि लगानीकर्ताले स्वीकार गरेको ८२० रुपैयाँ र ९१२ रुपैयाँभन्दा तल हुन आउँछ । तर नेप्सेले साधारण प्रकृयाबाट सेयर निष्काशन गरेका कम्पनीको भन्दा तल्लो मूल्य अर्थात अंकित मूल्य १०० रुपैयाँको आधारमा तीन गूणासम्म अर्थात ३०० रुपैयाँसम्मको रेन्ज दियो । जसले बुकविल्डिङ प्रणालीको औचित्यमा ठाडो प्रश्न उठाउने मात्र नभई धितोपत्र बोर्डलाई यो प्रणाली खारेज गर्न चेतावनीमुदक सन्देश दिएको छ ।

विश्व बजारमा कतै नभएको अभ्यास नेप्सेले कुन आधारमा तय गर्यो त्यस सम्बन्धमा कुनै जानकारी सार्वजनिक गरेको छैन । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) की काम चलाउ प्रमुख प्रविण पन्दाकको कम्पनीसँगको व्यक्तिगत द्वन्द्वसँग नेप्सेका प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाई र नेप्सेका अध्यक्ष हेमन्त बस्यालबिचको द्वन्द्व कसरी एकै मिशनमा पुग्यो भन्ने प्रश्न यो घटनाले सतहमा ल्याएको छ ।

सिडिएससी प्रमुख पन्दाकको योजनामा नेप्से अध्यक्षले साथ दिँदा त्यसको सिधा असर लगानीकर्तालाई परिरहेको कुरा पनि यो घटनाले सतहमा ल्याएको छ भने सुरुवाती दिनदेखि नै विवादमा पर्दै आएको बुकविल्डिङ प्रणालीलाई उल्लेखित पात्रहरुले झनै कमजोर बनाउँदै लगेका छन् । यो प्रणालीको विश्वसनीयतामा आँच ल्याउने काम पनि यिनै व्यक्तिहरुबाट भइरहेको छ ।

रिलायन्स स्पिनिङ मिल्स, पियोर इनर्जी लगायतका गोल्यान ग्रुप प्रवद्धित कम्पनीहरुलाई कुनै पनि हालतमा असहज परिस्थिती उत्पन्न गराउने अभियान सिडिएससी प्रमुख पन्दाकले चलाई रहेकी छिन् । जसका कारण ती कम्पनीमा लगानी गरेका लाखौं लगानीकर्ताको सम्पत्ती प्रभावित भइरहेको छ भन्ने कुरा सिडिएससीले त भुलेको छ नै नेप्सेले पनि यो कुरा भुलेर लगानीकर्तालाई फसाउने बाटो अवलम्बन गर्दा व्यक्तिगत लडाई बजार हुँदै लगानीकर्तासम्म आइपुगेको विषय उजागर भएको छ ।

दोहोरो आईजिनको विषयलाई लिएर सिडिएससी प्रमुख पन्दाकले गोल्यान ग्रुप प्रवद्धित कम्पनीहरुमा आक्रमण गर्दै आइरहेकी छिन् । यता नेप्सेमा प्रमुख कार्यकारी चयनका क्रममा अग्रपंक्तिमा रहेका हेमन्त बस्याललाई पाखा लगाएर चुडामणिले प्रमुख कार्यकारीमा बाजी मारे । सो पश्चात तिनै चुडामणिको अध्यक्ष (नेप्से अध्यक्ष) बनेर बस्याल फेरी नेप्सेमा भित्रिए । यस्तो अवस्थामा मौका पर्दा एकले अर्कोलाई असफल बनाउने अभियानमा दुवै जना सक्रिय छन् । यो अभियानको एउटा उदाहरण हो, रिलायन्स स्पिनङ मिल्सको आइपिओ सूचीकरण ।

सिडिएससी योजनाबद्ध रुपमा गोल्यान ग्रुप प्रवद्धित कम्पनीको बिरुद्ध अघि बढिरहेका बेला नेप्सेले विगतमा झैं रिलायन्सको सेयर सूचीकरण गर्न सक्थ्यो । तर  नेप्सेले त्यसो नगरी कम्पनीको सेयर एक महिनासम्म सूचीकरण नगरी नियोजित रुपमा विवादमा तानिदियो । अन्तिम समयमा भएका विभिन्न किसिमका मिडिया ट्रायल, प्रमुख कार्यकारीका विगत र वर्तमान विषयमा चलेका मुद्धा र तिनको प्रायोजित समाचार यही ३ पक्षीय भिडन्तको ज्वलन्त उदाहरण हो भन्ने बुझ्न गाह्रो छैन । यस किसिमको द्वन्द्वले लगानीकर्ता र समग्र बजारमा कस्तो असर परिरहेको छ भन्ने विषय धितोपत्र बोर्ड र सम्बद्ध निकायले हेर्नुपर्ने अवस्थामा पुगेको छ ।

यहाँ कुरा गोल्यान ग्रुप, सिडिएससी, नेप्से वा ति संस्थाका व्यक्तिहरु र उनीहरुको आन्तरिक लडाईको नभई ती संस्थाले संरक्षण गर्नुपर्ने लगानीकर्ता र तिनको सम्पत्तिको हो । जिम्मेवार निकायका व्यक्तिहरुको लडाईले लगानीकर्तालाई प्रताडित पारिँदा त्यसले पुँजी बजारप्रतिको विश्वसनीयतालाई समेत कमजोर बनाउँछ भन्नेमा ध्यान कहिले दिन्छन् जिम्मेवार व्यक्तिहरुले ? यसमा धितोपत्र बोर्डले उचित कदम चाल्नु पर्छ कि पर्दैन भन्ने विषय मात्र यहाँ उठान गर्न खोजिएको हो । आफ्नो डाडु पन्यू सोझो बनाउने दौडमा बजारका लगानीकर्तालाई प्रताडित बनाउने अधिकार कुनै कम्पनी, सिडिएससी, नेप्से, धितोपत्र बोर्ड वा कुनै संयन्त्रलाई छैन भन्ने स्मरण होस् ।

प्रकाशित मिति: ४ फाल्गुन २०८२, सोमबार  १४ : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।