काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप खाताको संख्या ६ करोड बढी रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८२-८३ को ११ महिनासम्ममा ६ करोड ३० लाख ६५ हजार ९९४ निक्षेप खाता खुलेका हुन् ।
जुन गत आर्थिक वर्षको तुलनामा ३६ लाख ३६ हजारभन्दा बढी निक्षेप खाता खुलेको हो । गत आर्थिक वर्ष २०८१-८२ को सोही अवधीमा निक्षेप खाताको संख्या ५ करोड ९४ लाख २९ हजार ३६७ रहेको थियो ।
हालसम्म वाणिज्य बैंकमा ५ करोड ४१ लाख १४ हजार ३९२, विकास बैंकमा ७८ लाख ५९ हजार ८६६ र वित्त कम्पनीमा १० लाख ९१ हजार ७३६ निक्षेप खाता खोलिएका छन् ।
पछिल्लो समय वित्तीय साक्षरता बढेकाले निक्षेप खाताको संख्या बढेको हो । निक्षेप खाता बढ्नुले वित्तीय पहुँच विस्तारको संकेत गरेको छ ।
बैंक तथा वित्तीय संस्थामा एकै व्यक्तिका पनि धेरै निक्षेप खाता हुँदा पनि मुलुकको कुल जनसंख्याको दोब्बर बढी खाता देखिएको हो । संघसंस्थाले पनि बैंक खाता खोलेका हुन्छन । यसकारण खाता संख्या बढ्दैमा सोही अनुपातमा व्यक्तिपिच्छे वित्तीय पहुँच पुगेको भने हुँदैन ।
सबै कार्यालयले बैंक खातामार्फत कर्मचारीलाई तलब सुविधा भुक्तानी गर्नुपर्ने छ । सबै स्थानीय तहमा वाणिज्य बैंक पु¥याउनेलगायत सरकारी नीतिले पनि खाता वृद्धिमा सहयोग पुगेको जानकारहरु बताउँछन् ।
निक्षेप खाता वृद्धिले वित्तीय पहुँच विस्तारको एक महत्त्वपूर्ण सूचक भएको नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले बताएका छन् ।
‘पछिल्ला वर्षहरुमा वित्तीय पहुँच बढेको छ, यो बैंकिङ क्षेत्रका लागि सकारात्मक पक्ष हो,’ उनले भने, ‘सबै स्थानीय तहमा बैंक पु¥याउने सरकारी नीति र वित्तीय साक्षरता वृद्धिलगायतका कारण बैंक खाता बढेको हो ।’
उनका अनुसार, बैंक तथा वित्तीय संस्थाले आम नागरिकमा वित्तीय पहुँच विस्तार गर्न घरदैलो कार्यक्रमदेखि विभिन्न आकर्षक योजना ल्याएसँगै बैंकमा खाता खोल्नेको संख्या बढ्दै जान थालेको हो । यसरी बैंकखाता बढी हुनु वित्तीय क्षेत्रको लागि राम्रो हुने भए पनि व्यक्तिगत खर्च भने बढी हुने उनीको भनाई छ ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको संख्या भने घट्दो छ । राष्ट्र बैंकले मर्जर नीति अंगालेपछि बैंक तथा वित्तीय संख्याको संख्या घटेको हो ।
धेरै बैंक खाता हुनुका धेरै बेफाइदाहरू छन्, यदि कुनै कारणले हामीले बैंकको प्रमाणपत्र बिर्सियौं वा पासवर्ड लेख्ने प्रयास गर्दा संयोगवश तीन पटकभन्दा बढी प्रयास गरेमा कारोबार रोकिन्छ । तीनभन्दा बढी पटक प्रयास गरियो भने त बैंकहरूले खातामा प्रतिबन्ध लगाउँछन् ।
धेरै खाता खोल्दा बैंकहरूलाई व्यवस्थापनमा चाप बढ्छ । अत्याधिक खाता खोल्दा र बैंकको स्रोत साधन सिमित हुँदा सेवाहरूको गुणस्तरमा कमी आउने सक्ने विज्ञहरू बताउँदै आएका छन् ।
अहिले एउटै बैंक खाताबाट सबै कारोबार हुने गरे पनि आवश्यकता अनुसार धेरैवटा बैंकमा ग्राहकले खाता खोल्ने हुँदा खाताको संख्या उल्लेख्य बढेको राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) देवेन्द्र रमण खनाल बताउँछन् । यसरी एक व्यक्तिले धेरै बैंक खाता खोल्दा व्यत्तिगत खर्च बढ्ने उनको भनाई छ ।
यसरी निक्षेप खाताको संख्या उल्लेख्य बढ्दा ऋण खाता भने कम रहेको छ । निक्षेप खाता र ऋण खाता बिचको अन्तर धेरै रहेको छ । चालु आर्थिक वर्षको ११ महिनासम्ममा ऋण खाताको संख्या २० लाख ४८ हजार ९८५ रहेको छ । जुन गत आर्थिक वर्षको सोही अवधीको तुलनामा ८२ हजार ४२७ बढी हो ।
गत आर्थिक वर्षको सोही अवधीमा १९ लाख ६६ हजार ५५८ रहेको तथ्यांकमा उल्लेख गरिएको छ । जसमा वाणिज्य बैंकमा १७ लाख १३ हजार ३६, विकास बैंकमा २ लाख ६३ हजार ४६३ र वित्त कम्पनीमा ७२ हजार ४८६ रहेको छ ।










प्रतिक्रिया