निर्वाचन नजिकिदै गर्दा बजारमा ग्यासको चरम अभाव : उपभोक्ता सास्ती खेप्दै, बिक्रेता भन्छन्- माग अनुसार आपूर्ति भइरहेको छ


काठमाडौँ । प्रतिनिधी सभा निर्वाचन २०८२ को प्रभाव खाना पकाउने एलपी ग्यास आपूर्तिमा देखिएको छ । विगत एक महिनादेखि काठमाडौँ उपत्यकाका उपभोक्ताहरुले ग्यासको अभाव खेपिरहेका छन् ।

काठमाडौँ बानेश्वर बस्ने रबी ठकुरी एक सातादेखि खाना पकाउने ग्यास खोजीमा छन् । उनले सधैं ग्यास लैजाने पसलमा सोध्दा ग्यास पसलेले अहिले ग्यास नभएको र ग्यास लिनका लागि नाम टिपाउनुपर्ने बताए । नाम टिपाएर दैनिक फोन गरेर बल्ल बल्ल एक हप्तामा ग्यास पाइयो, उनले भने ।

यो समस्या रबीको मात्र होइन, शान्तिनगर बस्ने प्रमिलाको पनि दुरुस्तै छ । अरू बेला फोन गरेकै भरमा घरमै आइपुग्ने ग्यास अहिले सिलिन्डर नै बोकेर पसल पुग्दा पनि पाउन मुस्किल छ ।

‘पहिले त फोन गर्दा घरमै आउँथ्यो, अहिले पसलमै सिलिन्डर पु¥याउँदा पनि रित्तै हात फर्कनुपरेको छ,’ उनले सुनाइन् । ‘सिलिण्डर लगेर छाडेको पनि ३ दिन भईसक्यो अझै ग्यास कहिले पाइन्छ टुङ्गो छैन । विगत एक महिनादेखि नै ग्यास अभाव भन्ने त सुनिएको थियो, त्यतिबेला सिलिण्डर खाली भएको थिएन । एक÷दुई हप्ता होला आफ्नो सिलिण्डर रित्तिदासम्ममा त पाइन्छ होला भनेको महिनौँ बित्दा पनि उही हालत छ ।’

‘हरेक वर्ष चुनाव नजिकीदै गर्दा दैनिक उपभोग्य वस्तुको अभाव हुने, मूल्य बृद्धि हुने जस्ता समस्या आइरहेको नै हो । अब त समस्या समाधान भयो होला भन्यो समस्या ज्यूँको त्यूँ’ उनले भनिन्, ‘उपभोक्ता सधै मारमा’ ।
बजारमा देखिएको ग्यास अभावको सबैभन्दा ठूलो मारमा एउटा मात्र सिलिन्डर हुने विद्यार्थी र न्यून आय भएका परिवार परेका छन् । दुई वा त्यसभन्दा बढी सिलिन्डर हुनेलाई खासै समस्या नभए पनि एउटैको भरमा बस्नेहरुको त भान्सा नै बन्द हुने स्थिति देखिएको उपभोक्ताको गुनासो छ ।

मिनभवनका किराना व्यापारी दिपक श्रेष्ठ भन्छन्, ‘उपभोक्ताको माग अनुसार ग्यास पुर्याउनै सकेको छैन । डिपोबाटै ग्यास आएको छैन । अन्य समयमा फोन गरेकै भरमा घरमै ग्यास पुर्याउने गरेको आफूले अहिले सिलिण्डर नै बोकेर आउँदा पनि ग्यास दिन सकेको छैन ।’ ‘उनीहरुले विस्वास गरेर सधै आउने गरेको गरेको ग्राहकलाई ग्यास दिन नसक्दा चिन्ता लागेको छ ।’

उनका अनुसार, डिपोबाट ग्यास त आउँछ तर कम मात्रामा आउँछ । उपभोक्ताको माग बढी छ जसकारण माग अनुसार आवश्यकता पूरा गर्न सकेको छैन ।

व्यवसायीहरुका अनुसार जाडोयाममा ग्यासको खपत सामान्य अवस्थाभन्दा १५ प्रतिशतसम्म बढ्छ । तर, माग बढेको यही समयमा आपूर्ति घट्दा बजारमा दोहोरो मार परेको उद्योगी व्यवसायीहरूको भनाइ छ ।
उद्योगहरूमा ग्यास नभएकै कारण बजारमा अभाव देखिएको ग्यास बिक्रेता महासंघका अध्यक्ष ज्ञानेस्वर अर्यालले बताएका छन् ।

‘माघको दोस्रो सातातिर ग्यासको चरम अभाव भएको थियो । तर अहिले ग्यास आपूर्ती भइसकेको छ । सबैठाउँमा एकैपटक पुर्याउन नसक्दा अभाव देखिएको हो । उनले भने, ‘अहिले उद्योगमा माग अनुसारको ग्यास आयात भइसकेको छ । अब १÷२ दिनमा उपभोक्ताहरुले सजिलै ग्यास पाउँछन् । ’

उनका अनुसार, जाडो महिनामा स्वाभाविक रूपमा ग्यास खपत बढी हुने र उद्योगीहरूले पर्याप्त मात्रामा ग्यास ‘लोड’ नगर्दा बजारमा केही समस्या देखिएको हो । बजारमा ग्यास अभाव हुनुमा मुख्यतया मौसमी माग, उद्योगीहरूको प्राविधिक समस्या र उपभोक्ताको व्यवहार जिम्मेवार रहेको छ ।

‘जाडो महिनामा अन्य समयको तुलनामा ग्यास खपत बढी हुने र कतिपय उद्योगीले टाढाका डिपोहरूबाट ग्यास उठाउन नखोज्ने तथा नजिकैबाट मात्र ल्याउन खोज्दा आपूर्तिमा सन्तुलन नमिलेको हो,’ उनी भन्छन्, ‘यसबाहेक अभाव हुने हल्ला चल्नासाथ उपभोक्ताले आफूसँग भएका खाली सिलिन्डरहरू पनि भरेर राख्ने (होल्ड गर्ने) प्रवृत्तिले बजारमा कृत्रिम अभाव जस्तो देखियो ।’

बजारमा ग्यास अभाव हुने डरका कारण उपभोक्ताले सिलिन्डर भरेर राख्ने प्रवृत्तिले गर्दा पनि केही समस्या देखिएको ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्द बताए । ‘फ्याक्ट्रीमा अवस्था सामान्य भइसक्यो, तर जति भए पनि सर्टेज (अभाव) भयो भन्दै उपभोक्ताले भरेर राख्दै छन्, त्यसको असर देखिएको हो,’ उनले भने ।

चन्दका अनुसार, ग्यास आयातमा देखिएको समस्या करिब एक महिनादेखि रहेको भनिए पनि बजारमा भने करिब दुई साता मात्र प्रत्यक्ष प्रभाव देखिएको हो । ग्यास अभाव छ भनेर आत्तिनु नपर्ने आपूर्ति व्यवस्था पूर्णरूपमा सहज भएको उनको दाबी छ ।

आपूर्ति शृंखला सुदृढ पूर्वतयारी, प्रभावकारी अनुगमन र पारदर्शी वितरण प्रणाली नहुँदा अभाव देखिएको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सेनाले बताएका छन् ।

तिमल्सिनाले यसलाई राज्यको कमजोर अनुगमन तथा नियमनको परिणाम भएको बताएका छन् । उनले उपभोक्ता ठगी, कृत्रिम अभाव, कालोबजारी र सिन्डिकेटजस्ता गतिविधि नियन्त्रण गर्न स्थायी तथा शक्तिशाली संयन्त्र आवश्यक रहेको औँल्याए ।

उनका अनुसार बजारमा मूल्य, गुणस्तर र नापतौलका विषयमा व्यापक अनियमितता देखिए पनि प्रभावकारी कारबाही नहुँदा उपभोक्ता निरन्तर मारमा परिरहेका छन् ।

‘अनुगमन र नियमन प्रभावकारी भएन । स्पष्ट आपूर्ति नीति, बजार नीति र उपभोक्ता नीति नहुँदा समस्या दोहोरिँदै गएको छ,’ उनले भने ।

चुनावको मुखमा राजनीतिक गतिविधि बढ्दा बजारमा खपत स्वाभाविक रूपमा बढ्ने भए पनि त्यसको बहानामा अत्यधिक मूल्यवृद्धि गर्नु अनुचित भएको उनले बताए । ‘अन्तर्राष्ट्रिय कारण, डलर दर, आपूर्ति समस्या जस्ता शब्द प्रयोग गरेर उपभोक्तामा भ्रम सिर्जना गरिन्छ,’ उनले भने ।

प्रकाशित मिति: १२ फाल्गुन २०८२, मंगलबार  ०६ : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।