निर्वाचन सकियो, अब नयाँ सरकार कहिले बन्ला ?


काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएसँगै अब नयाँ सरकार गठनतर्फ चासो बढेको छ । देशभर मतदान शान्तिपूर्ण रुपमा सकिएसँगै मतगणना सुरु भएको छ । मतदान सकिएलगतै सर्वदलिय बैठक बसेर मतगणना सुरु भएको हो ।

निर्वाचन आयोगका प्रवक्ता कुल बहादुर जीसीका अनुसार मतगणना दुइृ चरण सम्पन्न हुनेछ । पहिलो चरणमा प्रत्यक्षतर्फ मतगणना गरिनेछ भने दोस्रो चरणमा समानुपातिक मतगणना सम्पन्न गरी पूर्ण विवरण जिल्ला निर्वाचन कार्यालयबाट आयोगमा पठाइने छ ।

आयोगले फागुन महिनाभित्रै निर्वाचनको अन्तिम प्रतिवेदन राष्ट्रपतिलाइृ बुझाउने लक्ष्य राखेको समेत उनले जानकारी दिए । “निर्वाचन अन्तिम नतिजा आएपछि प्रधानमन्त्री चयन र सरकार गठनका लागि समय लाग्ने भएतापनि चैत दोस्रो साताभन्दा ढिलो नहुने देखिन्छ,” जीसीले भने । समानुपातिक मतको अन्तिम गणनापछि आयोगले दलहरूलाई प्राप्त सिट संख्या निर्धारण गर्ने बताउँदै उनले भने, ‘त्यसपछि सम्बन्धित दलहरूले आफ्नो तर्फबाट निर्वाचित सांसदहरूको नामावली आयोगमा पेश गर्नुपर्ने कानुनी व्यवस्था छ ।’

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ अनुसार निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र आयोगले प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीको अन्तिम परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पठाउनुपर्ने व्यवस्था छ । यही संवैधानिक र कानुनी प्रावधानअनुसार फागुन मसान्तसम्म प्रतिवेदन बुझाउने तयारी रहेको आयोगले जनाएको छ ।

संवैधानिक व्यवस्थाः कसरी गठन गरिन्छ मन्त्रीपरिषद्

प्रतिनिधि सभा निर्वाचन ऐेन २०७४ को दफा ६२ अनुसार निर्वाचनको अन्तिम परिणाम घोषणा भएको सात दिनभित्र आयोगले निर्वाचनको अन्तिम प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्नुपर्नेछ । यहि संवैधानिक व्यवस्था अनुसार फागुन मसान्तसम्म प्रतिवेदन बुझाउने आयोगको तयारी रहेको छ ।

निर्वाचन अन्तिम परिणामको औपचारिक जानकारी राष्ट्रपतिले प्राप्त गरेसँगै नयाँ सरकार गठन प्रक्रिया प्रारम्भ हुन्छ । संविधानको धारा ७६ बमोजिम, यदि कुनै दलले प्रतिनिधि सभामा स्पष्ट बहुमत प्राप्त गरेको छ भने सो दलको संसदीय दलका नेतालाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्नेछन् । त्यसका लागि सम्बन्धित दलको संसदीय दलको बैठक बसेर नेता चुन्नुपर्छ । संविधानको धारा ७६(१) मा भनिएको छ, ‘राष्ट्रपतिले प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन हुनेछ ।’

तर कुनै दलले स्पष्ट बहुमत नपाएमा दुई वा दुईभन्दा बढी दलको समर्थन जुटाउने प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्नेछ । त्यसपछि सरकार गठनका लागि राष्ट्रपतिले संविधानको धारा ७६ (२) बमोजिम आह्वान गर्नुपर्नेछ र दलहरुले राष्ट्रपति कार्यालयमा दाबी पेश गर्नुपर्नेछ ।

निर्वाचन आयोगबाट निर्वाचनको अन्तिम परिणाम घोषणा भएको एक महिनाभित्र राष्ट्रपतिले संविधानको धारा ९३(१) अनुसार, संघीय संसदको अधिवेशन आह्वान गर्नुपर्नेछ ।

प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार  १३ : २३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।