काठमाडौँ । नेपाली राजनीतिको पावर सेन्टर मानिने झापा क्षेत्र नम्बर ५ मा यसपटक एउटा यस्तो अकल्पनीय परिणाम आएको छ, जसले देशको समग्र राजनीतिलाई नै नयाँ मोड दिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) ले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भारी मतान्तरले पराजित गर्दै प्रतिनिधिसभामा सानदार प्रवेश गरेका छन् ।
निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार बालेनले ६८ हजार ३ सय ४८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी ओलीले मात्र १८ हजार ७ सय ३४ मत प्राप्त गरे । बालेनको ४९ हजार ६३४ को यो फराकिलो मतान्तरलाई धेरैले नेपाली जनताको मौन विद्रोह र पुरानो पुस्ताप्रतिको अविश्वासका रूपमा लिएका छन् ।
इन्जिनियरिङदेखि जनस्तरको नेतासम्म
काठमाडौँको नरदेवीमा जन्मिएका बालेन शाहको पृष्ठभूमि प्राविधिक हो । उनले काठमाडौँको भीएस निकेतन कलेजबाट विद्यालय तह र खुमलटारस्थित हिमालयन ह्वाइटहाउस इन्जिनियरिङ कलेजबाट सिभिल इन्जिनियरिङ पूरा गरेका थिए । उच्च शिक्षाका लागि भारतको बेंगलुरु पुगेका उनले स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन् ।
इन्जिनियरिङ पेसा र ¥याप सङ्गीतमार्फत युवा पुस्तामाझ छुट्टै पहिचान बनाएका बालेनले २०७९ को स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएर सबैको ध्यान आकर्षित गरेका थिए । लौरो चुनाव चिह्न लिएर मेयर निर्वाचित भएपछि उनले देखाएको कार्यक्षमता र अडानले नै उनलाई राष्ट्रिय राजनीतिका लागि बलियो आधार प्रदान गरेको पाइन्छ । मेयरका रूपमा काम गर्दागर्दै राजीनामा दिएर उनी गत पुस महिनामा मात्रै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आबद्ध भएका थिए ।
रास्वपामा आबद्ध भएपछि उनले प्रतिनिधि सभा सदस्यको लागि झापा ५ रोजेका थिए । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा ५ लाई एमालेको लालकिल्ला मानिन्थ्यो । ओलीले यसअघि पटक–पटक भारी मतान्तरले जित्दै आएको यस क्षेत्रमा बालेनले उम्मेदवारी दिने घोषणा गर्दा सुरुमा धेरैले यसलाई आत्मघाती कदम भनेका थिए । कतिपयले त बालेनको हार निश्चित रहेको र ओलीको राजनीतिक विरासत अगाडि बालेन सानो देखिने टिप्पणी पनि गरे ।
तर, चुनावी अभियानका क्रममा बालेनले जनताका आधारभूत समस्या, सुशासन र प्राविधिक विकासका कुरा उठाउँदा स्थानीय जनतामा ठुलो उत्साह देखिएको थियो । भावी प्रधानमन्त्रीको रूपमा हेरिएका ओलीले आफ्नै निर्वाचन क्षेत्र पनि जोगाउन नसकेपछि नेपाली राजनीतिको शक्ति सन्तुलन फेरिएको छ ।
काठमाडौँको अनुभवः झापा जित्ने हतियार
बालेनको झापा विजयको पछाडि उनले काठमाडौँ महानगरमा मेयरका रूपमा गरेका कामहरूको ठुलो हात छ । मेयर भएलगत्तै उनले मापदण्ड विपरीत बनेका संरचना भत्काउने र फुटपाथ व्यवस्थापन गर्ने कडा नीति लिएका थिए । नक्सा पास नगरी बनाइएका फार्मेसी हटाउने, भवनका भुइँतलामा रहेका व्यावसायिक पसल हटाएर पार्किङ खुला गराउने जस्ता कार्यले उनलाई एक्सन ओरिएन्टेड अर्थात काम गरेर देखाउने नेताका रूपमा स्थापित गर्यो । 
काठमाडौँको सडकमा पैदलयात्रीलाई हिँड्ने ठाउँ नभएको र सवारी चालकले पार्किङको समस्या भोगिरहेको अवस्थामा बालेनको कदमले नागरिकलाई ठुलो राहत दिएको थियो । वसन्तपुर, थापाथली, बानेश्वर, कोटेश्वर र दरबारमार्ग जस्ता क्षेत्रको फुटपाथलाई व्यवस्थित बनाएपछि उनको चर्चा देशभर भयो । यही चर्चा र बालेन स्टाइलको कार्यशैलीले झापाका मतदातालाई पनि आकर्षित गरेको पाइन्छ ।
टुकुचा उत्खनन र अडानको बहस
काठमाडौँको मेयर छदाँ उनको कार्यकालको सबैभन्दा चुनौतीपूर्ण काम टुकुचा खोलाको उत्खनन रह्यो । नारायणहिटी दरबारभित्रबाट बग्ने यो ऐतिहासिक खोलालाई तत्कालीन राणाहरूले भूमिगत बनाएको र माथि बस्ती बसालेको तथ्य बाहिर आयो । बालेनले खोलालाई प्राकृतिक स्वरूपमा फर्काउन भन्दै उत्खनन सुरु गरेपछि ठुलो हङ्गामा भएको थियो । पछि यो मुद्दा अदालतसम्म पुग्यो । व्यक्तिको निजी सम्पत्तिमा डोजर चलाउन नपाइने भन्दै उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेपछि महानगर पछि हट्नुप¥यो । तर, बालेनले आफ्नो अडान कहिल्यै छोडेनन् । आलोचकहरूले उनलाई जिद्धी र अनुदार भने पनि समर्थकहरूले उनलाई कानुन कार्यान्वयनमा कठोर नेताका रूपमा स्वीकार गरेका छन् ।
फोहर व्यवस्थापन र सुशासनको एजेण्डा![]()
स्थानीय तहको निर्वाचनको समयमा बालेनको सबैभन्दा ठुलो मुद्दा फोहर व्यवस्थापन थियो । सिस्डोल र बञ्चरेडाँडाका बासिन्दासँगको सम्झौता गर्ने र फोहर वर्गीकरण गर्ने उनको प्रयासलाई धेरैले प्रशंसा गरेका थिए । यिनै सफल अभ्यासहरूलाई उनले झापाको चुनावी एजेण्डा बनाएका थिए । कृषि, शिक्षा र स्वास्थ्यमा प्राविधिक क्रान्तिको कुरा गर्दै उनले पुरानो राजनीतिक नेतृत्वलाई चुनौती दिए ।
केपी शर्मा ओली जस्ता हेभीवेट भएका नेतालाई पराजित गरेपछि बालेन शाह अब केवल एक प्राविधिक वा मेयर मात्र नरहेर उनी राष्ट्रिय राजनीतिको एउटा महत्वपूर्ण नेता बन्न पुगेका छन् । उनको विजयले नेपालमा अब भाषणभन्दा पनि डेलिभरी (परिणाम) खोज्ने चेतना विकास भएको देखाउँछ ।
बालेन शाहको यो जितले पुराना राजनीतिक दल र नेताहरूलाई एउटा कडा चुनौती दिएको छ की अब नयाँ पुस्ताले देशको र आफ्नो भविष्य आफै कोर्नेछ । अबको पाँच वर्ष संसद्मा बालेनको भूमिका कस्तो हुनेछ र उनले झापा ५ र समग्र देशका जनतासँग गरेका बाचाहरू कसरी पूरा गर्नेछन् भन्नेमा सबैको नजर टिकेको छ ।










प्रतिक्रिया