काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले करिब दुई–तिहाइ बहुमत हासिल गर्ने संकेत देखिएसँगै पूँजी बजारमा उत्साहजनक वृद्धि देखिएको छ । अहिलेसम्म रास्वपाले प्रत्यक्षका १६५ सिट मध्ये १२५ सिट जितेको छ भने समानुपातिकमा ८८ लाख मत गणना हुँदा ४३ लाख मत पार गरिसकेको छ । यसले रास्वपालाई दुई तिहाई तिर अगाडी बढेको संकेत गरेको छ । जसको असर आजको सेयर बजारमा देखिएको हो ।
निर्वाचन पछिको पहिलो कारोबार दिन सोमबार नेप्से परिसुचकमा तिन पटक सकारात्मक सर्किट लाग्नुलाई राजनीतिक दलको जितको रुपमा मात्र नलिएर मुलकमा खड्किएको राजनीतिक र नीतिगत स्थिरताको प्रस्थान विन्दुको रुपमा लिन सकिने जानकारहरू बताउँछन् ।
विगतमा राजनीतिक खिचातानी, बदलिरहने अर्थमन्त्री र अस्थिर नीतिको कारण लगानीकर्ता अन्योलमा परेका थिए । तर अब कम्तीमा पनि ५ वर्षको लागि स्थिर नेतृत्व र नीति पाउने आशामा लगानीकर्ता पुगेका हुन् । जसको परिणाम आज बजारमा देखिएको उत्साहलाई लिन सकिने जानकारहरूको बुझाई छ ।
सोमबार नेप्से परिसूचक १६२.९३ अंकले बढेर २,८७५.४३ बिन्दुमा पुगेको छ । तीव्र खरिद चापका कारण कारोबार खुलेको एक मिनेटमै बजारमा पहिलो सर्किट ब्रेक लागेको थियो । २० मिनेट स्थगितपछि खुलेको बजारमा फेरि अर्को एक मिनेटमै दोस्रो सर्किट ब्रेक लागेको थियो । त्यसपछि ४० मिनेट स्थगित भइ खुलेको सेयर बजारमा अर्को एक मिनेट नपुग्दै सर्किट ब्रेक लागेपछि सोमबारका लागि कारोबार स्थगित भएको हो । नेप्सेले तीन पटक सर्किट ब्रेकको सामना गर्दै दिउँसो १२ः०१ बजे नै आजका लागि कारोबार स्थगित गरेको हो ।
हाल कार्यान्वयनमा रहेको ‘सर्किट ब्रेक’ सम्बन्धी व्यवस्थाअनुसार कारोबार सुरु भएको पहिलो घण्टामा नेप्से परिसूचक चार प्रतिशतले घटे वा बढेमा २० मिनेटसम्म कारोबार बन्द गर्ने व्यवस्था छ । त्यस्तै, दोस्रो घण्टामा पाँच प्रतिशतले घटे वा बढेमा ४० मिनेट र तेस्रो घण्टा वा त्यसपछिको समयमा ६ प्रतिशतले घटे वा बढेमा बाँकी पूरै दिनको कारोबार स्थगित गरिने व्यवस्था रहेको छ ।
आज २६१ कम्पनीका ११ लाख ४३ हजार ७६७ कित्ता शेयर ४ हजार ५१ पटक खरिद–बिक्री हुँदा ५५ करोड ५९ लाख ६३ हजार ८९४ रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबारमा बैङ्किङ समूह ६.९२, विकास बैङ्क समूह ५.९१, वित्त समूह ५.४७, होटल तथा पर्यटन समूह ५.७३, जलविद्युत् ६.८१ र लगानी समूह ७.०६ प्रतिशतले बढेको छ ।
त्यस्तै, जीवन बीमा ४.६७, उत्पादन तथा प्रशोधन ५.३०, लघुवित्त ४.०७, म्युचुअल फन्ड ०.१८, निर्जीवन बीमा ३.७४, व्यापार ७.७३ र अन्य समूह ५.५६ प्रतिशतले बढेको हो ।
दुई–तिहाइको सरकार लगानीकर्ताका लागि कोसेढुङ्गा
शेयर बजारका जानकार छोटेलाल रौनियारका अनुसार लगानीकर्ताहरू लामो समयदेखि स्थिर राजनीतिक वातावरणको पर्खाइमा थिए । “घण्टी (रास्वपा) को झण्डै दुई–तिहाइको सरकार आउँछ भन्ने कसैले सोचेका थिएनन् । यो लगानीकर्ताका लागि निकै सुखद् कुरा हो,” रौनियारले भने, “यसले लगानीकर्ताको मनोविज्ञानमा ठूलो उत्साह भरेको छ । अब बजार घट्ने कुनै कारण देखिँदैन ।”
पछिल्लो समय अर्थतन्त्रका बाह्य र आन्तरिक सूचकहरू सकारात्मक भए पनि राजनीतिक अस्थिरताले बजारलाई निराश बनाईरहेको अवस्थामा आएको स्थिर सरकारले खुसी ल्याएको उनी बताउँछन् । “अहिले बैंकको ब्याजदर ७ प्रतिशतको हाराहारीमा छ, बजारमा पर्याप्त तरलता छ, विदेशी मुद्रा सञ्चिति ऐतिहासिक छ र मुद्रास्फीति पनि न्यून छ,” उनले भने, “यस्तो बेला स्थिर सरकारको संकेत आउनुले नेप्से अब ३२०० बिन्दुको यात्रामा निस्किएको संकेत गर्छ ।”
रास्वपाको घोषणापत्र र नीतिगत स्थिरताको आशा
स्टक ब्रोकर एशोसिएशनका पूर्व अध्यक्ष भरत रानाभाट पनि बजारको यो उछाललाई राजनीतिक स्थिरताको स्वागत मान्नुपर्ने बताउँछन् । विशेष गरी रास्वपाले आफ्नो चुनावी घोषणापत्रमा शेयर बजारलाई प्राथमिकता दिएका कारण लगानीकर्ता थप विश्वस्त भएको उनको बुझाइ छ ।
“सबै पार्टीका घोषणापत्रमा बजारको कुरा थियो, तर रास्वपाले दीर्घकालीन सुधारका योजनासहित विशेष स्थान दिएको थियो,” रानाभाटले भने, “अब बहुमतको सरकार बनेपछि कम्तीमा ५ वर्षसम्म नीतिगत स्थिरता रहने र बारम्बार अर्थमन्त्री र बजारका नीति फेरिने क्रम रोकिने आशामा लगानीकर्ताहरू उत्साहित भएका हुन् ।”
जोखिम अझै छ : हचुवाको भरमा लगानी नगर्नु
बजारमा बुल ट्रेण्ड देखिए पनि जानकारहरूले लगानीकर्तालाई संयमित हुन आग्रह गरेका छन् । रौनियार र रानाभाट दुवैले बजार बढिरहेको बेला हचुवाको भरमा भन्दा पनि कम्पनीको वित्तीय अवस्था अध्ययन गरेर मात्र लगानी गर्न सुझाव दिएका छन् ।
रानाभाट भन्छन्, “बजार एकैचोटि बढ्दा जोखिम पनि उत्तिकै हुन्छ । त्यसैले हतारिएर लगानी गर्नुभन्दा बजार स्थिर हुन दिएर राम्रा कम्पनी छान्नु बुद्धिमानी हुनेछ ।”










प्रतिक्रिया