उपत्यकामा दुई महिनादेखि ग्यास अभाव : आपूर्ति निरन्तर भइरहेको निगमको दाबी


काठमाडौँ । काठमाडौँ उपत्यका सहित देशका विभिन्न भागमा विगत दुई महिनादेखि खाना पकाउने (एलपी) ग्यासको आपूर्ति सहज हुन सकेको छैन । नेपाल आयल निगमले बजारमा मागभन्दा बढी ग्यास पठाइरहेको दाबी गरेपनि सर्वसाधारण उपभोक्ता भने महिनौँदेखि ग्यासको अभाव झेल्दै आएका छन् ।

माघ महिनाको सुरुदेखि काठमाडौँ उपत्यकामा देखिएको ग्यासको समस्या फागुन अन्तिम सातासम्म आइपुग्दा पनि उही अवस्था देखिएको हो ।

आयल निगमले एक सातामै ग्यास अभावको समस्या समाधान हुन्छ भन्ने आश्वासन दिएको दुई महिना वितिसक्दा पनि बजारको अवस्था जस्ताको त्यस्तै छ । निगमले जाडो मौसम र चुनावका बेला कोटा बढाएर आपूर्ति सहज बनाइएको दाबी गरेपनि आपूर्ति सहन र निरन्तर हुन सकेको छैन ।

निगमले मागभन्दा बढी आपूर्ति भएको भनिरहँदा विक्रेताहरू भने उद्योगीले नै माग अनुसार ग्यास बजार नपठाएको दाबी गरिरहेका छन् । निगमका प्रवक्ता मनोज ठाकुरले फागुन महिना लागेसँगै ४२ हजार टन भन्दाबढी एलपी ग्यास आयात भएको तथ्यांक समेत रहेको बताएका छन् ।

ठाकुरका अनुसार करिब एक महिनाको अवधिमा दैनिक औसत १ हजार ७५० टनभन्दा बढी ग्यास आयात भइरहेको देखिन्छ, जुन सामान्य अवस्थाको माग धान्न अपुग देखिँदैन ।

तर, निगमको यो तथ्यांक र बजारमा ग्यासको आपूर्तीको वास्तविक भने बाझिएको छ । उपभोक्ताहरु महिनौंदेखि ग्यासको चरम अभाव झेलिरहेका छन् भने एउटा सिलिन्डरका लागि हप्तौँ कुर्न र रित्तो सिलिन्डर बोकेर दिनहुँ विभिन्न डिपो धाउन बाध्य छन् । नाम टिपाएको १५–२० दिनसम्म पनि ग्यास पाउन सकेका छैनन् ।

ग्यास विक्रेताहरूका अनुसार वितरण प्रणालीमा गम्भिर त्रुटि देखिएको छ । जसको कारण सर्वसाधारण उपभोक्ताले सहजै ग्यास नपाउने तर होटल तथा रेस्टुरेन्ट व्यवसायीहरुले सहजै पाउने भएको छ ।

आयल निगम र ग्यास उद्योगीहरूले सोझै काउन्टरबाट ग्यास बिक्री गर्दा वितरण प्रणालीमा अन्योल सिर्जना भएको ग्यास बिक्रेता महासंघको दाबी छ ।

निगमले बारम्बर मागको अनुपातमा ग्यास आयात र बजारमा आपूर्ती नियमित छ, अभाव हुनुपर्ने कारण छैन भनिरहेको छ । तर बिक्रेताहरु पर्याप्त मात्रामा ग्यास नआएको बताउँदै आइरहेका छन् । निगम र व्यवसायीहरुको मिलेमहतोमा ग्यास अभाव देखिएको ग्यास बिक्रेता महासंघका एक अधिकारीले बताएका छन् ।

‘डिपो र डिलर मार्फत वितरण गर्दा उपभोक्तालाई सहज र सस्तो पर्छ, तर यसरी बिक्री नगर्दा उपभोक्ता मारमा परेका छन्,’ उनले भने । तर यता, नेपाल एलपी ग्यास उद्योग संघ अध्यक्ष दिवान चन्द हाल बजार मागको तुलनामा आपूर्ति प्रणाली सहज नभएको स्वीकार गर्छन् । विगत २ महिनादेखि नै माग पूरा गर्न नसकिरहेको र हाल मध्यपूर्वको तनावको प्रभाव पनि थपिदा आपूर्तिमा थप अनिश्चितता थपिएको उनको भनाई छ ।

‘पहिले ४५/४६ हजार टन आउँथ्यो, अहिले बढाएर ४८÷४९ हजार टन आइरहेको छ,’ उनले भने, ‘तर, पनि यो वृद्धिले २ महिना बित्नै लाग्दा समेत पुरानो अभाव पूर्ति गर्न सकिरहेको छैन ।’

उनका अनुसार, समस्या उद्योगबाट नभई डिलरहरूले स्तरिय सुविधा दिन नसक्दा र बजार अनुगमन कमजोर बन्दा सिर्जना भएको हो । वास्तवमा बजार अनुगमन गर्दा डिलरले कसलाई ग्यास बेचिरहेको छ भनेर निगरानी गर्ने काम प्रभावकारी हुन नसक्दा समस्या सिर्जना भएको उनको भनाई छ । बजारमा एक करोड ४२ लाख प्रमाणित ग्यास सिलिन्डर रहेको बताउँदै उनले भने, ‘आवश्यकताभन्दा बढी सिलिन्डर बजारमा रहेको र उपभोक्ताले एकै पटक भर्न खोज्दा पनि बजारमा अभाव देखिने गरेको हो ।’

बजारमा उपभोक्ताले खाना पकाउने ग्यास पाएका छैनन् । यो संकटको मुख्य कारण आयल निगमको कमजोर व्यवस्थापन र गैरजिम्मेवार कार्यशैली रहेको उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाको आरोप छ ।
‘निगमको वितरण प्रणाली पूर्णरूपमा अपारदर्शी र अस्पष्ट बनेको छ’ उनले भने, ‘एउटा सिलिन्डर बाल्ने व्यक्तिहरूले हप्तौंसम्म लाइन बस्दा पनि ग्यास पाउन सकेका छैनन् ।’

बजारमा विक्रेताहरूले सर्वसाधारण उपभोक्ता भन्दा होटल तथा रेस्टुरेन्ट व्यवसायीहरुलाई ग्यास दिँदा पनि एक सिलिन्डर हुनेले सास्ती खेप्नुपरेको उनी बताउँछन् । अनुगमनकारी निकायहरूको भूमिका पनि देखावटी मात्र भएको र आपूर्तिमा अभाव छैन भनेर निगमले ढाकछोप गरेको उनको आरोप छ ।

उनले यो संकटको सम्पूर्ण जिम्मेवारी निगम व्यवस्थापन, वाणिज्य आपूर्ति मन्त्रालय र नियामकीय निकायको रहेको बताए । यस्तो संकटपूर्ण अवस्थामा पनि आपूर्ति सहज बनाउन र वितरण प्रणाली पारदर्शी बनाउन ठोस कदम चाल्न नसक्नुले सरकार नागरिकप्रति उत्तरदायी नभएको पुष्टि हुने उनको भनाइ छ ।

यता, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भने बजारमा ग्यास लुकाइएको भन्दा पनि आपूर्ति प्रणालीमै समस्या रहेको बताएको छ । विभागले ग्यास, तेल र खाद्यान्नजस्ता अत्यावश्यक वस्तुको निरन्तर अनुगमन गरिरहेको सूचना अधिकारी नरहरि तिवारी बताउँछन् ।

‘हामीले ग्यासको विषयलाई कहिल्यै छाडेका छैनौँ,’ उनले भने, ‘तर, आपूर्ति गर्ने जिम्मा नेपाल आयल निगमको हो, निगमले पर्याप्त ग्यास आएको बताउने तर बजारमा उपभोक्ताले नपाउने अवस्था देखिएको छ ।’

प्रकाशित मिति: २७ फाल्गुन २०८२, बुधबार  १२ : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।