कहिले बन्छन् बालेन प्रधानमन्त्री ?


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चुनाव जितेपछि बालेन साहलाई प्रधानमन्त्री बनाउने एजेन्डा सहित निर्वाचनमा गएको थियो । जसलाई आम सर्वसाधारण मतदाताले दुई–तिहाई बहुमतका साथ अनुमोदन गरेका छन् । यहि फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा रास्वपाले ऐतिहासिक सफलता हासिल गरेको हो ।

प्रत्यक्षतर्फका कुल १६५ सिटमध्ये रास्वपाले १२५ सिटमा सानदार जित हासिल गरिसकेको छ भने समानुपातिकतर्फ कुल सदर मतको करिब ४८ प्रतिशत मत प्राप्त गरेको छ । निर्वाचनको आयोगको अन्तिम विवरण अनुसार रास्वपाले ५१ लाख ४८ हजार २१७ मत प्राप्त गरेको छ । यो तथ्यांक हेर्दा रास्वपाले समानुपातिकमा ५७ सिट प्राप्त गर्ने देखिएको छ । यसरी प्रतिनिधि सभामा १८२ संसद सहित रास्वपाले आफ्नो बलियो पकड जमाएको छ ।

रास्वपाले प्राप्त गरेको यो परिणामले उसलाई एकल बहुमतको सरकार गठन गर्ने स्पष्ट जनादेश प्रदान गरेको छ । रास्वपाले यसरी प्रचण्ड बहुमत प्राप्त गरेसँगै अब बालेन साह कहिले प्रधानमन्त्री बन्छन् भन्ने उत्साह र चासो बढेको छ । रास्वपाले गरेको वाचा र प्राप्त गरेको मत परिणाम अनुसार बालेन प्रधानमन्त्री बन्ने निश्चित भए पनि संवैधानिक र प्राविधिक प्रक्रियाका कारण केही समय लाग्ने देखिएको छ । साहले मुलुकको कार्यकारी प्रमुख अर्थात् प्रधानमन्त्री बन्नका लागि चैतको दोस्रो सातासम्म कुर्नुपर्ने देखिएको छ ।

कहाँ रोकियो प्रक्रिया, किन कुनुपर्यो चैत दोस्रो साता

निर्वाचन आयोगका अनुसार बुधबार (आज) दिउँसो समानुपातिकतर्फको सम्पूर्ण मतगणना कार्य सम्पन्न भएको छ । अब कुन दलले कति सिट प्राप्त गरे भन्ने यकिन गर्न सेन्ट लग विधिबाट हिसाब निकाल्ने काम भइरहेको आयोगले जानएको छ । आयोगका प्रवक्ता कुल बहादुर जीसीले दिएको जानकारी अनुसार, दलहरूले प्राप्त गरेको सिट सङ्ख्या यकिन भएपछि उनीहरूलाई तोकिएको कोटा (महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारु आदि) मिलाएर बन्द सूचीबाट नाम बुझाउन सात दिनको समय दिइनेछ । “दलहरूले नाम पेस गरिसकेपछि आयोगले ती नामहरू रुजु गर्नेछ र त्यसपछि मात्र निर्वाचित सांसदहरूको नाम सार्वजनिक गरिनेछ,” प्रवक्ता जीसीले भने, “यो सम्पूर्ण संवैधानिक प्रक्रिया चैत ५ गतेसम्ममा पूरा हुने लक्ष्य राखिएको छ ।” आयोगले आफ्नो अन्तिम प्रतिवेदन राष्ट्रपतिलाई बुझाएपछि मात्रै नयाँ सरकार गठनको औपचारिक प्रक्रिया सुरु हुनेछ ।

राष्ट्रपतिले निर्वाचन आयोगको प्रतिवेदन प्राप्त गरेपछि मात्रै संसद् आह्वान र प्रधानमन्त्री नियुक्तिको प्रक्रिया अघि बढाउनेछन् । राजनीतिक विश्लेषक सुदर्शन आचार्यका अनुसार, आयोगले प्रतिवेदन बुझाएको एक हप्ताभित्र मात्रै नयाँ सरकार गठन हुन सक्ने देखिन्छ । “संवैधानिक प्रावधान र प्रक्रियालाई हेर्दा बालेनले चैतको दोस्रो हप्ता मात्रै मुलुकको बागडोर सम्हाल्ने अवस्था देखिन्छ,” आचार्यले टिप्पणी गरे । काठमाडौँ महानगरको सफल नेतृत्वपछि सिधै देशको नेतृत्व गर्ने तयारीमा रहेका बालेनका लागि यो संक्रमणकालीन समय निकै महत्त्वपूर्ण मानिएको छ ।

जनतामा उत्साह र चुनौती

२०८२ को यो निर्वाचन नतिजाले नेपालका पुराना राजनीतिक दलहरूलाई ठुलो धक्का दिएको छ भने नयाँ पुस्तामा उत्साह भरेको छ । पुराना दलहरू नेपाली कांग्रेस, एमाले र प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी प्रत्यक्षमा क्रमशः १८, ९ र ७ सिटमा खुम्चिएका छन् । रास्वपाले करिब दुई–तिहाई बहुमत प्राप्त गरेसँगै अब बालेनले भ्रष्टाचारमुक्त प्रशासन र द्रुत विकासको आफ्नो प्रतिबद्धता कसरी पूरा गर्छन् भन्नेमा सबैको ध्यान केन्द्रित छ । बालेनले चुनावअघि नै “हामी कुरा होइन, काम गरेर देखाउँछौँ” भनेका थिए । उनले चुनाव प्रचारको क्रममा पूर्वको ताप्लेजुङ देखि पश्चिमको दार्चुलासम्म पुग्दा जम्मा २७ मिनेट मात्र भाषण गरेका छन् ।

त्यसैले उनीबाट जनताले कम बोल्ने र काम बढी गर्ने ठुलो आशा राखेका छन् । निर्वाचन आयोगको अन्तिम प्रतिवेदन र राष्ट्रपतिको आह्वानको प्रतीक्षामा रहेको अहिलेको राजनीतिक वातावरणले चैतको दोस्रो सातालाई नेपालको इतिहासमा एक महत्त्वपूर्ण मोडका रूपमा हेरिएको छ । जुन साता नेपालले आफ्नो इतिहासको सबैभन्दा कम उमेर (३५ वर्ष) को जननिर्वाचित प्रधानमन्त्री पाउँनेछ । कुल खसेको १ करोड ७ लाख ६९ हजार ५४३ सदर मतमा ५१ लाख लाखभन्दा बढी समानुपातिक मतको भारी बोकेका बालेन चैतको दोस्रो सातामा प्रधानमन्त्रीको कुर्सीमा आसिन हुने तयारीमा छन् । यो बाँकी समय केवल प्राविधिक प्रक्रिया मात्र रहेको वित्रहरू बताउँछन् । यो प्राविधिक प्रक्रिया पूरा हुनासाथ नेपालले नयाँ सोच र नयाँ शैलीको नेतृत्व पाउने आशामा आम सर्वसाधारण रहेका छन् । उनी प्रधानमन्त्री बनेपछि नेपालको राजनीति र विकासले कुन दिशा लिन्छ, त्यो भने हेर्न बाँकी रहेको विज्ञहरू बताउँछन् ।

प्रकाशित मिति: २७ फाल्गुन २०८२, बुधबार  १५ : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।